
धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्याटारमा यहि असोज २८ देखि कार्तिक ५ गते सम्म त्रिपुरासुन्दरी युवा क्लवले ‘प्रथम त्रिपुरासुन्दरी कृषि, पर्यटन, सांस्कृतिक तथा व्यापार महोत्सव’ गर्ने भएको छ ।
ऐतिहासिक त्रिपुरासुन्दरी मन्दिरको काखमा रहेको नेपाल कै दोस्रो ठुलो टारको रुपमा चिनिएको सल्यानटारमा हुने यो महोत्सवको आकर्षण स्थानीय उत्पादनको प्रदर्शनी, स्थानीय जात जातिको भेष भुसाको प्रदर्शन, स्थानीय कला र संस्कृतिको प्रदर्शन, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सांस्कृतिक प्रस्तुती रहेको जनाईएको छ । यस्तै खानी तथा भूगर्भ विभागको अनुशन्धानमा रहेको सल्यानटार स्थित भग्नावशेषको अवलोकन, त्रिपुरासुन्दरी मन्दिर दर्शन साथै यस पालिकाको मुख्य बजारहरु आरुघाटबजार, खहरेबजारको ‘प्रवर्धन’ गर्ने उद्धेश्य रहेको आयोजकले जनाएको छ ।
गाउँपालिकाको १५ लाख आर्थिक सहयोग रहने यस महोत्सवको तयारी तिब्र पारिएको आयोजकले जनाएको छ । धादिङबेसीबाट ३२ किलोमिटरको दुरीमा रहेको सल्यानटारमा हुने यस महोत्सवमा आन्तरिक सँगै वाह्य पर्यटकलाई समेत आकर्षण गर्न सक्ने गरि व्यवस्थापनमा आयोजक जुटिरहेको स्थानीय राजन बुर्लाकोटीले धादिङपोष्टलाई बताए ।






































