
काठमाडौं । असन्तुलित खानपान र शहर केन्द्रीय जीवनशैलीका कारण नेपालीमा मुटुरोगको समस्या बढ्दो छ । पछिल्ला दिनमा युवा अवस्थामै हृदयघातका कारण मृत्यु भएका उदाहरण हाम्रासामु धेरै छन्। हृदयघात, स्ट्रोक वा विभिन्न समस्याले मुटुको चाल बन्द भएर मान्छे क्षणभरमै ढल्न सक्छ। यस्तो बेला तुरुन्तै उपचार पाएन भने मान्छेको मृत्यु हुनसक्छ ।
तुरुन्तै अस्पताल पुर्याउने अवस्था नहुँदा नजिकै भएका मान्छेले केही प्राथमिक उपचार गरे मृत्यु हुनबाट रोक्न सकिने मुटुरोग विशेषज्ञको भनाइ छ। काठमाडौंको बसुन्धारास्थित नेशनल कार्डियो सेन्टरका चिकित्सकहरुले हृदयघात भएर कोही व्यक्ति ढलेमा उसलाई कसरी बचाउने भन्ने जानकारी दिनुभएको छ।
सेन्टरले सोमबार स्वास्थ्य पत्रकारहरुको निशुल्क मुटु परीक्षण समेत गरेको थियो । सेन्टरका डा.ओममुर्ति अनिल, डा.अभिषेक ठाकुर, डा.शुभजंग राणाले मुटुको रक्तसञ्चार अवरुद्ध भएर ढलेको बिरामीलाई कसरी प्राथमिक उपचार गर्ने भनेर डेमो देखाउनुभयो । मुटुको चाल बन्द भएको अवस्थामा मुटुमा दवाव दिएर रक्तसञ्चार सुचारु गराउने यो प्रयासले ७० देखि ८० प्रतिशत बिरामी मृत्युबाट बच्ने डा.ओम मुर्तिको दावी छ।
मान्छे ढलेको अवस्थामा कोही अस्पताल लैजाने तयारीमा लाग्ने र कोही तत्काल यस प्रकारको उपचारमा लाग्नुपर्ने उहाँको भनाइ छ। व्यक्ति यसरी ढलेपछि केही सेकेण्डसम्म पनि ढिला नगरी कन यस्तो उपचार पद्धति सुरु गर्नुपर्ने उहाँहरु बताउनुहुन्छ ।
हृदयघात भएर हाम्रो अगाडि कोही ढलेमा यसरी उपचार प्राथमिक उपचार गरेर ज्यान बचाउन सकिन्छ ।
–सुरुमा उसलाईबेस्सरी बोलाउने
–बोलाउँदा पनि कुनै प्रतिक्रिया जनाएन भने, तत्काल सजिलो ठाउँमा सुताउने, सकेसम्म घाँटी खुल्ला हुने पोजिसनमा सुताउने।
–मुखमा केही अड्किएको छ कि छैन हेर्ने ।
–दुई हातका औँलालाई एक दाउँमा खप्टिएर, तलतिर रहेको हातले छातीमा निरन्तर दवाव दिने । छिटोछिटो करिब १ मिनेटमा १०० पटकका दरमा छातीमा हातल दवाउने।
–एकै जनाले यसो गर्दा ऊ थाक्न सक्छ । सँगै रहेको अर्काे जना पनि त्यसका लागि तयार हुने । एक जनाले छाडेर अर्काे जनाले यही प्रक्रिया सुरु गर्ने समयको अन्तर धेरै नबनाउने । एकले छाड्नेवित्तिकै तत्काल अर्काेले सुरु गर्ने
–यो प्रक्रियालाई बिरामीको होस नआउञ्जेल वा अस्पताल नपुगेसम्म कायम राख्ने । एम्बुलेन्स वा गाडीमा राखेपछि पनि निरन्तरता दिने।
–यसरी प्रेस गर्दा कहिले कँही करङका हड्डी भाँचिन पनि सक्छन् ।
ज्यान बनाउनु ठूलो कुरा भएकाले हड्डी भाँचिन्छ भनेर डराउनु भएन । त्यसको उपचार सजिलै हुन्छ । प्राय त्यसरी हड्डी भाँच्चिएको आफैँ ठिक हुन्छ ।
–हामीले छातीमा प्रेस गरेको ३० सेकेण्डदेखि १ मिनेटसम्म बिरामीको होस आउन सक्छ । आघा घण्टासम्म पनि बिरामीले कुनै प्रतिक्रिया देखाएन भने । ऊ रिकभरी हुने सम्भावना कम हुन्छ।
–हृदयघातका कारण बेहोस भएका बिरामीलाई यो पद्धतिको उपचार गर्दा होस खुल्ने अर्थात बाच्ने सम्भावना ७० देखि ८० प्रतिशतसम्म हुने चिकित्सको भनाइ छ ।
–यस्तो बेला मुखबाट श्वास दिने विधि पनि छ । कोरोना महामारीपछि स्वास्थ्य जोखिम हुने भएकाले मुखमा मुख जोडेर श्वास दिने प्रक्रियालाई डाक्टरहरुले प्रोत्साहन गरेका छैनन्।
–बच्चाहरुको सवालमा भने यसरी बोहोस हुँदा हत्केलाले नभइ दुई बुढी औँलाले छातीमा दवाव दिनुपर्छ ।
–ठूलो मान्छेमा प्रेसर वा अन्य कारणले मुटुको चाल बन्द हुने भएपनि बच्चामा भने प्राय रगतमा अक्सिजनको अभाव हुँदा यस्तो समस्या देखिन्छ ।
–सकेमा बच्चालाई चाँही यस्तो बेला मुखबाट श्वास दिनु नै बढी उपयुक्त हुन्छ ।
डा.ओम मुर्तिका अनुसार हामीले यो पद्धतिको उपचार गर्दा कुनै कारणले बन्द भएको रक्तसञ्चार पुनः सुचारु हुने र बिरामीले स्वास्थ्यलाभ गर्छ । बिरामीको होस आएपछि देब्रे कोल्टो फर्काएर राख्ने र सकेसम्म छिटो अस्पताल पुर्याउनुपर्छ । समाचार स्रोत हेल्थपाटी





























