धादिङको उत्तरी क्षेत्रमा १७० प्रजातिका जंगली खानयोग्य वनस्पतिको पहिचान

Avatar photo
Dhadingpost
भदौ ३०, २०७९

धादिङ । जजर्मन संघीय आर्थिक सहयोग र विकास मन्त्रालय (बीएमजेड), वेल्थ हंगल हिल्फे (डब्ल्यूएचएच) को आर्थिक साझेदारीमा जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लिबर्ड) ले धादिङको उत्तरी क्षेत्रमा १७० प्रजातिका जंगली खानयोग्य वनस्पतिको पहिचान गरेको छ ।

जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लिबर्ड) ले उत्तरी धादिङको रुबिभ्याली, खनियाबास र गंगाजमुना गाउँपालिक क्षेत्रमा पाईने बारीमा खेती नगरिने तर खानयोग्य वनस्पतिहरुको पहिचान र वर्गीकरण गर्न २ सय ५७ प्रजातिका नामावली संकलन गरेको थियो जसमा १७० प्रजातिका खानयोग्य भेटिएको हो ।

स्थानीय बासिन्दाले वर्षभरि उपभोग गर्ने मसलामा १३ दशमलव ६ प्रतिशत, तरकारीमा १७ दशमलव २ प्रतिशत र फलफूलमा १९ दशमलव ६ प्रतिशत तौलको आधारमा जंगली वनस्पतिको योगदान रहेको अध्ययनले देखाएको छ ।

निगुरो, फापरे साग, खोले साग, अल्लो, सिस्नो आदिलाई गरिबले तरकारीका रुपमा छाक टार्ने वनस्पतिका रुपमा रहेको छ । अल्लो, फापरेसाग, निगुरो, खोलेसाग सिस्नो सजिलै पाइने वनस्पतिहरु हुन् । चामलभन्दा बढी राखेर सिस्नो, निगुरो, चिप्ले सागबाट छाक टार्नेहरु पनि रहेको पाइएको छ ।

खाना रुचाउने जंगली च्याउ र निगुरो, अन्नसँग साटेर प्रयोग गरिने वन तरुल, निगालोको टुसा च्याउ रहेको छ । सिस्नो टिमुर र चिप्लेलाई स्थानीयबासीले औषधीका रुपमा समेत प्रयोग गर्दै आएको देखिएको छ । ओखर, बाँको, च्याउ, सिस्नोलाई प्रशोधन गरेर पछिका लागि भण्डारण गर्ने गरिएको समेत समुदायमा पाइएको अध्ययनले देखाएको थियो ।