धादिङका हरि रिमालले जिते, १४ औं काठमाडौं म्याराथन

Avatar photo
Dhadingpost
भदौ २५, २०७९

धादिङ । विभागीय त्रिभुवन आर्मी क्लबका धावक धादिङका हरि कुमार रिमालले १४ औं काठमाडौं म्याराथनको उपाधि जितेका छन् । शनिबार भएको म्याराथनमा रिमालले निर्धारित दुरी २ घन्टा ४० मिनेट ४० सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् ।

त्रिपुरेश्वरबाट सुरु भएको म्याराथन थापाथली, पुलचोक, जावलाखेल, लगनखेल, कोटेश्वर, सूर्यविनायक, पोटरी स्क्वायर, दरबार स्क्वायर, पुरानो ठिमी, पेप्सीकोला, जडिबुटी, कोटेश्वर, तीनकुने, गौशाला, सुकेधारा, नारायणगोपाल चोक, केशर महल, नारायणहिटी दरबारमार्ग, भद्रकाली, शहीदगेट हुँदै पुनः त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुगेर टुंगिएको थियो ।

यस प्रतियोगितामा आर्मी कै जुनेश खड्काले २ घन्टा ४२ मिनेट ५९ सेकेन्डमा पूरा गर्दै दोस्रो स्थान हासिल गरे । एपीएफका राजन चौधरीले २ घन्टा ५५ मिनेट ४७ सेकेन्डमा पूरा गर्दै तेस्रो स्थान हासिल गरेका थिए । म्याराथनको विजेता हरिले १ लाख, दोस्रो भएको जुनेश खड्काले ५० हजार र तेस्रो भएको राजन चौधरीले २५ हजार रुपैंया प्राप्त गरे ।