के मेवाको पात खाँदा डेंगु निको हुन्छ ? बिरामीले गर्न हुने र गर्न नहुने कुरा के-के हुन् ?

Avatar photo
Dhadingpost
भदौ २१, २०७९

लामखुट्टेको टोकाइबाट डेङ्गी लागेर उपचारमा आउने बिरामीहरूले विभिन्न घरेलु उपचार गर्ने गरेको पाइएको उपचारमा खटिएका चिकित्सकहरूले बताएका छन् । सामाजिक सञ्जालमा पढेको वा चिनजानका मानिसले सुझाएको भन्दै त्यस्तो घरेलु उपचार गर्ने बिरामीहरू भेटिने क्रम बढेको उनीहरू बताउँछन् ।

“डेङ्गीको उपचारका लागि अचुक औषधि मेवाको पात” भन्ने शीर्षक र यस्तै आशयका समाचार र त्यससँग सम्बन्धित सामग्रीहरू सामाजिक सञ्जालमा थुप्रै भेटिन्छन् । विभिन्न रोग लाग्दा घरेलु उपचार भनेर कहिले अम्बाको पातले कुल्ला गर्ने त कहिले मेवाको पातको जुस खान सुझाइएका सामग्रीहरू देखिन्छन् ।

के मेवाको पात वा अन्य घरेलु उपचारले सघाउ पुग्छ ?
डेङ्गीका लागि त्यस्तो घरेलु उपचारले सघाउ पुर्‍याउने कुनै वैज्ञानिक आधारहरू नरहेको चिकित्सकहरू बताउँछन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसे घरेलु उपचार गर्दा त्यसले शरीरमा झन् नकारात्मक असर पुर्‍याउन सक्ने ठान्छन् । उनको अनुभवमा सामाजिक सञ्जालमा पढेको वा हेरेको भरमा डेङ्गीका बिरामीले घरेलु उपचार गर्ने गरेको धेरै पाइन्छ ।

उनले भने, “कतिपय अनावश्यक सल्लाह मानेर विभिन्न चिज खाँदा झन् बढी समस्या भएको पनि देखेका छौँ । पेट दुख्ने, धेरै उल्टी हुने जस्ता जटिलता डेङ्गीको सङ्क्रमणले हो वा अनावश्यक खानेकुरा खाएर हो भन्ने थाहा पाउन कतिपय अवस्थामा हामीलाई गाह्रो हुन्छ ।” कतिपय बिरामीले मेवाको पातको रस र काँढा खाने गरेको प्रशस्त सुनिने उनी बताउँछन् ।

तर त्यसो गर्दा शरीरमा झन् नकारात्मक असर परेर बिरामीलाई अन्य जटिलता देखिन सक्ने उनी बताउँछन् । उनले भने, “डेङ्गी हुँदा मानिसहरूमा इलेक्ट्रोलाइट [नुन] कमी भएको हुन्छ । मेवाको पात वा अन्य घरेलु उपचार गर्दा त्यसले झन् वाकवाकी लाग्ने वा खान मन नलाग्ने हुन सक्छ । बिरामीलाई झन् कमजोर बनाउन सक्छ ।”

डेङ्गी लाग्दा कुन औषधि र कस्ता खानेकुरा खाने ?
चिकित्सकहरूका अनुसार डेङ्गीको यही गर्ने भन्ने उपचार छैन । सामान्य खालको डेङ्गीको बिरामी हो र ज्वरो आएको छ वा शरीर वा टाउको दुखेको छ भने पारासिटामोल खाने गर्नुपर्छ । त्यसबाहेक घरमा सामान्यतया खाने सन्तुलित खानेकुरा, सागपात र अरू बेलाभन्दा बढी झोलिलो खानेकुरा खान चिकित्सकहरू सल्लाह दिन्छन् ।

तर सामान्यभन्दा बढी समस्या देखिए चिकित्सकको सल्लाहअनुसार उपचार गर्नुपर्ने डा. चालिसेले बताए। “कसैले यसको पात खानु वा कसैले यसको जरा खानु भन्ने कुनै वैज्ञानिक रूपमा प्रमाणित कुरा होइन । जबसम्म डेङ्गीका जटिल समस्याहरू देखिँदैनन् तबसम्म डराउनुपर्ने, आत्तिनुपर्ने अनावश्यक हल्लाको पछाडि लाग्नुपर्ने कुनै कारण छैन,” उनले भने ।

तर बिरामीलाई लगातार पेट दुख्ने, बान्ता हुने, जीउ सुन्निने, गिजाबाट रगत आउने, बेचैनी वा छटपटी हुने जस्ता अलि जटिल समस्या देखिए चिकित्सकको सल्लाह लिएर उपचार गर्न उनी सुझाउँछन् । यो समाचार हामीले बीबीसीबाट साभार गरेका हौं ।

x