
धादिङ । धादिङ अस्पतालमा १४ जना सरकारी स्थायी चिकित्सकको दरवन्दि छ । तर अस्पतालमा स्थायी चिकित्सक एक जना पनि छैन । पदपूर्ति भएको एक जना आठौं तहका मेडिकल अधिकृत डाक्टर सफलतादेवी कोजु पनि करिव दुई वषदेखि अध्ययन विदामा हुनुहुन्छ । स्थायी चिकित्सक विना नै अस्पताल चलिरहेको धादिङ अस्पतालका सुचना अधिकारी विक्रम विकले बताउनुभयो ।
ठूलो संख्यामा रिक्त रहेको स्थायी चिकित्सक दरबन्दि शुरुदेखि नै खाली छ । कहिले काँहि आक्कल झुक्कल १÷२ जना चिकित्सकलाई पदपूर्ति गरिन्छ । ‘स्थायी चिकित्सकको कोटा शुरु देखि नै खाली छ । १४ वटा सरकारी कोटामा एक जना चिकित्सक छैन सुचना अधिकारी विकले भन्नुभयो – भन्न पनि लाजै मर्दौ छ । तर हामीले सेवा चाँहि रोकेका छैनौं, विकल्प खोजिएको छ । अस्पतालले दिने सेवामा कुनै कमी भएको छैन ।’
स्थायी दरबन्दि अनुसार विशेष चिकित्सक ९ जना, मेडिकल अधिकृत ४ जना, डेन्टल सर्जन १ जना हुनु पर्ने सुचना अधिकारी विक बताउनुहुन्छ । तर करार तथा अन्य श्रोतबाट व्यवस्थापन गरि अस्पताल चलेको छ । धादिङ अस्पतालमा करार तथा अन्य श्रोतबाट २० जना चिकित्सक छन् । कन्सल्टेण्ट जनरल सर्जन २ जना, कन्सल्टेण्ट जनरल फिजिसियन १ जना, कन्सल्टेण्ट साइक्याट्रिक १ जना, स्त्री रोग विशेषज्ञ २ जना गरी नौ तहका ६ जना विशेषज्ञ चिकित्सक रहेका छन् । मेडिकल अधिकृत १२ जना र डेण्टल सर्जन २ जना गरी १४ जना ८ औ तहका चिकित्सक रहेका छन् । करार तथा अन्य श्रोतबाट रहेका चिकित्सकको भरमा अस्पताल चलेको छ । तर स्थायी दरबन्दिका चिकित्सक नभएपनि सेवामा कुनै कमी भने हुन नदिएको सूचना अधिकारी वि.क बताउनुभयो ।
अस्पतालमा एघारौं तहको मेडिकल सुपरिटेन्डेण्ट रहने व्यवस्था छ । तर सातौ तहका हेल्थ असिष्टेण्ट डाक्टर मधुकर दाहालले निमित्त मेडिकल सुपरिटेन्डेण्टको जिम्मेवारी लिइरहनुभएको छ । उहाँ जनस्वास्थ्य बरिष्ठ स्त्री रोग विशेषज्ञ हुनुहुन्छ । संघबाट बाग्मती प्रदेशमा काजमा धादिङ अस्पताल आउनुभएको हो ।
धादिङ अस्पताल ५० शैया वेड क्षमताको प्रादेशिक अस्पताल हो । ५९ जना सरकारी दरबन्दि रहेको छ अस्पतालमा २८ जनाको दरबन्दि मात्र पदपूर्ति रहेको छ । जसमध्ये पनि ६ जना अध्ययन विदामा छन् । हाल अस्पतालमा २२ जना मात्र कार्यरत छन् । सरकारी दरबन्दि र पदपूति निकै कहाली लाग्दो रहेको सुचना अधिकारी विकले बताउनुभयो ।
करार सेवा ठूला वडाका आफ्नाहरुलाई जागिर खुवाउने थलो बन्यो– अध्यक्ष धमला
सरकार लोक सेवाबाट स्थायी चिकित्सक नियुक्त प्रक्रियामा अगाडी नबढ्दा करार सेवा ठूलावडाका आफ्नाहरुलाई जागिर खुवाउने बाटो बनेको धादिङ अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमला बताउनुहुन्छ ।
‘करारमा आउनेहरु पावरमा आउँछन् , करार करार नै हो । गुणस्तर तथा सेवा प्रवाह सरकारी जस्तो हुदैन धमलाले भन्नुभयो काम गराउन गाह्रो, तलव भत्ता, सेवा सुविधा र दक्षताको पनि कुरा आउँछ । करार ठूला वडाको आफ्नालाई जागिर खुवाउने थलो बन्यो ।’
बाग्मती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको कमजोरीका कारण स्थायी चिकित्सकको पदपूर्ति नभएको पनि बताउनुभयो । त्यसकै कारण धादिङ लगायतका विभिन्न जिल्लाबासीले समस्या भोगिरहेका छन् । ‘सम्बन्धित निकायले बुझ्न पर्ने हो । नागरिकको स्वास्थ्य माथि खेलवाड भैरहेको छ । उहाँले भन्नुभयो,–१४ वटा दरबन्दि रहेको अस्पतालमा एक जना पनि स्थायी सरकारी दरबन्दि नहुनुले सबैलाई गिज्याइरहेको छ ।’ अर्जुन श्रेष्ठको यो समाचार हामीले धादिङअपडेटबाट लिएका हौं ।
