
धादिङ । झाडाबान्ता भई उपचारका लागि टेकु अस्पताल काठमाडौँ पु¥याइएकी धादिङ थाक्रे सिम्ले निवासी एक महिलामा हैजा पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।
उक्त क्षेत्रमा हैजा फैलनबाट रोक्न स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटी तथा गैरसरकारी संस्था लगाएतका प्रतिनिधिहरुले स्थलगत अवलोकन गरी फर्किएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
स्वास्थ्य कार्यालय धादिङका वरिष्ठ जनस्वास्थ्य प्रशासक सागरप्रसाद घिमिरेका अनुसार सोही ठाउँका अन्य चार जना स्थानीयलाई समेत सोही प्रकारको लक्षण देखिएको छ । रोकथामको लागि विशेष योजना बनाईएको उनले बताए ।
खाना तथा पानी छोपेर राख्न, पानी उमालेर खान, व्यक्तिगत सरसफाईमा ध्यान दिन, बासी खानेकुरा नखान समेत वरिष्ठ जनस्वास्थ्य प्रशासक घिमिरेले आग्रह गरेका छन् ।
