
धादिङ । धादिङबेसी सदरमुकाममा रहेकाे धादिङ अस्पतालमा पहिलाे पटक मृगौला राेगी पदमबहादुर थपलियाले डायलाइसिस गराएका छन् । त्रिपुरासुन्दरी गाउँपालिका २ निवासी थपलियाले यसअघि डायलाइसिसका लागि जिल्ला बाहिर धाउँदै आएका थिए ।
अस्पतालका डाक्टर दिनेश रेग्मी र डायलाइसिस विशेष तालिम प्राप्त स्वास्थ्यकर्मी अस्मिता भुसाल लगायतकाे स्वास्थ्यकर्मीहरुकाे टाेलिले थपलियाकाे डायलाइसिस गराएका हुन् । डायलाइसिसका लागि धादिङ अस्पतालमा ३ वटा मेशिन तयारी अवस्थामा राखिएकाे छ ।
बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डे जिल्ला अस्पतालमा एक कार्यक्रमकाे बीच डायलासिस सेवा सुरु भएकाे घाेषणा गरेका थिए । तर उनले घाेषणा गरेकाे एक साता पछि बल्ल एक जना विरामीले आज सेवा लिन आएका हुन् ।
अन्यत्र डायलाइसिसकाे पालाे कुरी रहेका धादिङका विरामीका एक आफन्तले धादिङपाेष्ट सँग भने धादिङ अस्पताल मै डायलाइसिस सेवा हुनु असाध्यै राम्रो हाे तर आफ्नाे बिरामी ल्याउँला उपकरण बिग्रियाे, स्वास्थ्यकर्मी छैन भनेर सेवा प्रभावित भयाे भने तनाव हुन्छ तेसैले पर्ख र हेरकाे अवस्थामा छु । राम्रो सेवा जिल्लाबाटै पाईयाे भने अन्त किन भाैतारिनु ।
