
धादिङ भदौ २३ । धादिङ नीलकण्ठ नगरपालिका १४ धुवाँकोट निवासी चन्द्रबहादुर तामाङ (प्रताप) जनयुद्धका सहिद हुनुहुन्छ । माओवादीले संचालनगरेको जनयुद्धमा मैदी प्रहरी चौकी, दार्खा प्रहरी चौकी, अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क, नुवाकोटको तारुका चौकी, स्याङजा सदरमुकाम कार्वाही लगायतका युद्धमोर्चामा सहभागि चन्द्रबहादुर तामाङ (प्रताप) ले अर्घाखाचीको सन्धिखर्क आक्रमणको दिन अर्थात आजैका दिन सहादत प्राप्त गर्नु भएको थियो ।
धादिङ नीलकण्ठ नगरपालिका १४ धुवाकोट पात्लेमा पिता छन्द लामा तामाङ माता श्रीमाया तामाङको कोखबाट वि.स. २०३८ साल भदौ ५ गते पाँचौं सन्तानको रुपमा जन्मनु भएको थियो । दाजु रण बहादुर, ठाकुर, धन ब., भाई लाल ब. दिदी ठुलीमाया बहिनी अनिता तामाङ हुनुहुन्छ । उहाँले गौरी शंकर निमाविबाट कक्षा ५ र सरसती माविबाट ८ पास गर्नुभयो । निम्न किसान परिवारमा जन्मनु भएका चन्द्रको परिवार कृषि मै आधारित छ । मिलनसार हसिलो ठट्टा गर्ने बानि भएका निडर, कुरा भन्दा काम पैला भ्याउने उहाँ परिपक्क जनयुद्धको सिपाही हुनुहुन्थ्यो ।
राजनीतिक यात्रा
विद्यार्थी कालदेखि क्रान्तिकारी राजनितीमा सक्रिय प्रताप गाउँ घर समाजको पनि आकर्षणको केन्द्र हुनुहुन्थ्यो । विद्यालयमा पुरानो शिक्षा प्रणाली विरुद्ध निकै सक्रिय प्रताप वि.स. २०५४ मा पुर्णकालिन हुनुभएको थियो ।
पुर्णकालिन देखिनै फौजी जिम्मेवारी लिगेर कार्य गरेका प्रतापले २०५४ सालमै पार्टी सदस्यता प्राप्त गरे सँगै पार्टी एरिया सदस्य हुदै जिल्ला सदस्य बन्नुभयो । प्रताप सेनाको साधारण शाखा सदस्य तथा जनमुक्ति सेना मध्य कमाण्ड बी कम्पनी प्लाटुनको वि.स.२०५९ मा सह–कमाण्डर हुनुभयो ।
निकै भरपर्दो कमाण्डरका रुपमा परिचित तत्कालिन मध्यको अधिकाशं फौजी कार्बाहीमा सहभागी प्रतापले मैदी प्रहरी चौकी, दार्खा प्रहरी चौकी, अर्घाखाचीको सदरमुकाम सन्धिखर्क २०५९/०५/२३ नुवाकोटको तारुका चौकी, स्याङजा सदरमुकाम कार्बाही २०५८/०८/०८ लगायतका थुप्रै जिल्ला क्षेत्र अञ्चल स्तरिय कार्बाहीमा एसाल्ट ग्रुपमा रहेर निर्णायक भुमिका निर्वाह गर्नुभएको थियो ।
थुप्रै आधारभुत प्राविधिक कमाण्डो, विशेष तालिम प्राप्त प्रताप निकै सृजनशिल हुनाले उहा जनमुक्तिसेना भित्र चर्चाको पात्रको रुपमा रहनुहुन्थ्यो । जनताका बीच उत्कृष्ट छापामारको परिचय दिई हाल्ने प्रताप एसाल्टको चर्चित कमाण्डरमा गनिनुहुने उहाँका सहकर्मीहरु बताउँछन् ।
यसरी भिषण संकटकालको अवस्थामा आफुलाई उत्कृष्ट रुपले चिनाउदै अघि बढेका प्रताप अर्घाखाचीको सन्धिखर्क आक्रमण योजनामा एउटा एसल्ट ग्रुपको कमाण्डर हुनुहुन्थ्यो । यसरी आक्रमणमा अगाडी बढ्दै गर्दा, कहिल्यै पछि नहट्ने प्रतापलाई दुश्मनको गोली छात्तिमा लागी ऐतिहासिक मोर्चामा वि.स. २०५९ साल भाद्र २३ गते आफ्नो बन्दुक संगिहहरुलाई सुम्पदै बाँकी युद्ध जित्ने जिम्मा लगाएर अमरत्व प्राप्त गरी सहिद बन्नु भएको थियो ।

