
धादिङ असार १४ । बजार अनुगमन टोलीले २४ थरीमा म्याद गुज्रिएका सामान जफत गर्दै आरुघाट स्थित न्यू राजेश किराना स्टोरलाई २० हजार जरिवाना गरेको छ ।
जिल्ला प्रशासन धादिङ र घरेलु कार्यालय धादिङबाट खटिएको अनुगमन टोलीले म्याद गुज्रिएका सामग्रीहरु भेटिएको, लापरबाही ढंगले व्यवसाय सञ्चालन गरेको पाइएकोले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कार्वाही गरिएको जनाएको हो ।
उक्त पसलबाट अनुगमन टोलीले म्याद गुज्रिएका बिस्कुटहरु (सुगर फ्रि क्रेकर, कोकोनट, डाइजेस्टिभ, कुकिज, ट्रिट, हेपी हेपी, मारी, पार्ले जी, चकलेट कुकिज), किटक्याट, मिला क्यान जुस, ओट्स, दालमोठ, चोकोरोल, ललीपप, पिनट, धनिया, एमी केक, फेन्टा, स्प्राइट, ड्यु, रंग र नेस्कफी जफत गरेको छ ।
टोलीले अनुगमनको क्रममा दर्ता नभएका फर्महरुलाई यथाशीघ्र दर्ता गर्न, अनुमति नभएका सामग्री नबेच्न, अन्त शुल्क लिएरमात्र मदिराजन्य पदार्थ बिक्री गर्न, नियमित रुपमा म्याद गुज्रिएका सामग्रीहरु छुट्याएर राख्ने बानीको विकास गर्न सचेत गराइएको छ ।
यस्तै टोलीले गंगाजमुना गाउँपालिकाका फूलखर्क, घंघार चोक, शुक्र भन्ज्याङ, सातदोबाटो लगायत विभिन्न बजार क्षेत्रहरुका किराना पसल, खाजा घर गरी दुई दर्जनभन्दा बढी फर्महरुको अनुगमन गरेको छ ।
फोटो स्रोत: जिल्ला प्रशासन धादिङ

