
धादिङ कार्तिक २१ । पत्रकार महासंघ धादिङका संस्थापक अध्यक्ष एवम् प्रेस स्वतन्त्रता सेनानी सिताराम प्रसाद वर्माको असामहिक निधन भएको छ ।
क्रीष्ट अस्पताल काठमाडौंमा उपचारको क्रममा कोरोना पोजेटिभ देखिए सँग उपचारत सेनानी पत्रकार वर्माको पछिल्लो समय कोरोना नेगेटिभ पिोट आई सकेको थियो तर स्वास्थ्यमा सुधार आउन नसकी ७९ वर्षको उमेरमा निधन भएको प्रेस युनियन धादिङका अध्यक्ष पोषनाथ अधिकारीले धादिङपोष्टलाई बताउनु भयो ।
नीलकण्ठ नगरपालिका ३ पुछारबजार, धादिङ निवासी सिताराम प्रसाद वर्मा कट्टेलको जन्म १९९९ असोज १९ गते भएको हो । २०५० साल बैशाख १ गतेबाट हालसम्म राष्ट्रिय समाचार समिति (रासस) को धादिङ समाचारदातामा कार्यरत वर्मा रासस संगै कान्तिपुर, गोरखापत्र, स्पेश टाइम्स दैनिक, च्यानल नेपाल टेलिभिजन, घटना र बिचार साप्ताहिकको जिल्ला संवाददाता भएर पनि काम गर्नु भएको थियो । नेपाल पत्रकार महासंघ धादिङ शाखाको संस्थापक सभापति भई ४ पटकसम्म शाखालाई नेतृत्व दिनु भएका वर्मा धादिङमा हिमाल साप्ताहिक पत्रिका पत्रिकाका प्रकाशक-सम्पादक हुनुहुन्थ्यो ।
परिवारीक स्रोतका अनुसार उहाँको शव दिउँसो १२ बजे अस्पतालबाट पशुपति आर्यघाट लगिने छ ।
पत्रकार बर्माको परिवारमै थप अरू चारजना बुहारी भवानी वर्मा, ज्वाइँ डा. फुँयाल, छोरी निलम वर्मा र छोरा मिलन वर्मामा समेत कोरोना पोजेटिभ देखिएपछि परिवारका सबै सदस्य होम आइशोलेसनमा बसेर उपचार गराइ रहनु भएको छ । वर्माको धर्मपत्नी पबित्रादेबी वर्माको समेत स्वासप्रस्वासको समस्याबाट अप्रत्याशिक रूपमा तीन साता अघि मात्र निधन भएको थियो ।

