
समाज संस्कार खोजिरहेछ,संस्कार बिनाको शिक्षा होइन । शिक्षाले बुध्दि मात्र होइन विवेक पनि भर्न सक्नु पर्छ । विवेकबिहिन शिक्षा समाजका लागि पलाशको फूल झैँ बन्छ ।
बिगत केहि हप्तादेखि हाम्रो समाजको चित्र मानसपटलमा फिल्मको पर्दा झैँ बारम्बार आइरहेछ । त्यही समाजका उपज हामी शिक्षाका चर्का कुराहरु गरिरहेका छौं । गुणस्तरीय शिक्षा, ब्यवसायिक शिक्षा, प्राविधिक शिक्षा आदि इत्यादी ।
त्यसमा पनि उसले प्राप्त गरेको प्राप्तांकलाई प्रतिष्ठाको बिषय बनाएर ब्याख्या विश्लेषण गरिरहेका छौं । जुन प्रतिष्ठा हाम्रो समाजको आवश्यकता होइन । हाम्रो समाजको आवश्यकता त सभ्य, सुसंस्कृत, निष्ठावान सक्षम व्यक्तित्व विकास गर्नु हो । शिक्षा र समाजको अत्यन्त निकटको सम्बन्ध हुन्छ ।
सुदृढ समाजका लागि शिक्षा आधार स्तम्भ हो । शिक्षाले समाजका लागि र समाजले शिक्षाका लागि कार्य गरिरहेका हुन्छन । शिक्षाका राष्ट्रिय उद्देश्यहरुलाई हेर्ने हो भने पनि समाजका लागि शिक्षा हुनुपर्छ, तर व्यवहारमा त्यस्तो हुन सकिरहेको छैन । हामी शिक्षित बन्नकै लागि बिद्यालय महाविद्यालय गइरहेका छौं ।
विभिन्न पठन सामाग्रीहरु अध्ययन अध्यापन गर्ने गराएका छौ । वास्तवमा के ती सामग्रीले हाम्रो समाजको आवश्यकतालाई परिपूर्ति गरेका छन् त ? मागमा आधारित शिक्षा प्रणालीका कुरा गर्छौं तर व्यवहारमा सैद्धान्तिक शिक्षाको बासी पुराण घोकाउछौ । गुणस्तर शिक्षाको पहिलो सर्त हो ।
शिक्षा गुणस्तरीय भएर पनि यसले समाजको रुपान्तरण गर्न सकेन भने कुनै पनि बिषयको ए प्लसको औचित्य के ? शिक्षाले त व्यक्तिको व्यवहारमा सुधार ल्याउन सक्नु पर्यो । बानिलाई परिवर्तन गर्नुपर्यो । सिङ्गो समाजलाई अग्रगति प्रदान गर्ने आधार तयार पार्नु पर्यो । नैतिक, सभ्य र सु-संस्कृत समाज निर्माणमा योगदान पुर्याउनु पर्यो ।
हामीलाई हाम्रो शिक्षाले धेरै सूचना दियो । धेरै ज्ञान दियो, धेरै बुद्धि दियो, तर विवेक दिन सकेन ।संस्कृति पढायो तर संस्कार दिन सकेन । आज विश्वभरि शिक्षाको सार्थकताका क्षेत्रमा ठुलठुला बहसहरु हुने गर्छन ।
आजको आवश्यकता शिक्षा की संस्कार ? संस्कार बिहिन शिक्षाले समाजको परिवर्तन गर्न सक्दैन । समाजका लागि शिक्षा हुनुपर्छ । समाजको चौतर्फी बिकासको ढोका शिक्षाले खोल्न सक्नु पर्छ ।अंक गणितका अंकहरुमा होइन, व्यक्तिको व्यक्तित्व बिकासका चरणहरुमा शिक्षाको गुणस्तर खोजियो भने पक्कै पनि हाम्रा प्रमाणपत्रका ए प्लस उपयोगी बन्न सक्छन् ।
व्यक्तिको सामाजिक, सास्कृतिक, नैतिक, चारित्रिक बिकासको ए ग्रेडले मात्र सुन्दर समाज निर्माणमा योगदान दिन सक्छ । संस्कारयुक्त शिक्षाले मात्र समाजको रुपान्तरण सम्भव छ ।
हाम्रो शिक्षाले हामीलाई शिक्षित त बनायो तर सभ्य बनाउन सकेन ।
चिन्तन, मनन, तर्क, बितर्कको पहाडभित्र आफु भुलिंदै सारालाई भुल्याउने आडम्बर युक्त शिक्षा प्रणालीले हामीलाई विवेकहीन, संस्कारहीन, मानवीयता विहिन अवस्थामा ल्याई पुर्याएको छ ।
अब बहस गर्ने बेला आएको छ समाजको आवश्यकता शिक्षा की संस्कार भनेर, समाजका लागि शिक्षा की, शिक्षाका लागि शिक्षा भनेर, जुन प्रश्न आजको शैक्षिक क्षेत्रमा पेचिलो सवाल भएर आएको छ ।
(लेखक: चन्द्रोदय बहुमुखी क्याम्पस विशालटार धादिङका उप-प्राध्यापक हुनुहुन्छ )
