
तात्कालिन नेकपा माओवादीले संचालन गरेको १० वर्षे जनयुद्धको क्रममा हजारौ जनाले वलिदान गरे, अनि त्यसैको बलमा जनआन्दोलन भयो । यी महत्वपूर्ण दुई आन्दोलनले नेपालको राज्य व्यवस्था मात्र परिवर्तन गरेन विस्तारवाद र सामाज्यवादीहरुमा समेत एउटा तरंगपैदा गर्यो । अहिले आमुल परिवर्तनको शंखघोष भएको जनयुद्ध नेपाली इतिहासमा दर्ज भैसकेको छ ।
यहि जनयुद्धको क्रममा ०६२ साल साउन ७ गते (आजै) का दिन धादिङका दुई नेताहरुले बलिदानी गर्नु भएको थियो । आज उनै दुई सहदिहरुको विषयमा स्मरण गर्न चाहान्छु ।
साउन ७ गते हामी कहिल्यै विर्सदैनौ, किनकी धादिङको केवलपुरका कृष्ण वाग्ले (कमरेड रामजी ) र भुमेस्थानका किशोर बस्नेत (कमरेड हिमाल) को सहादत प्राप्त गरेको दिन हो ।
यी दुई कमरेडहरुलाई एकै दिन फरक फरक ठाउँमा गाँजा तस्करहरुले विभत्स ढंगले हत्या गरेका थिए । ०६२ असारमा पार्टीले धादिङ र मकवानपुरको माथिल्लो क्षेत्रमा गाँजा नष्ट गर्ने अभियान चलाएको थियो ।
यो कार्यक्रम पछि स्थानीय किसानहरु भन्दा गाँजा तस्करहरु भयभीत भएका थिए । पार्टी प्रति अत्यन्त लगनशिल कमरेड हिमाल किरान्चोकमा पार्टी कामकै सिलशिलामा जाँदै हुनुहुन्थ्यो बाटोमा यात्रा गर्ने क्रममा संगठीत भएर बसेका गाँजा तस्करहरुले गाँजा नस्ट गर्ने तेरै पार्टी हैन भन्दै निर्मम र विभत्स ढंगले हत्या गरेका थिए ।
यस्तै अर्का सहिद कमरेड रामजीलाई पनि कामको शिलशिलामा जाँदै गर्दा संगठीत भएर बसेका मकवानपुरका गाँजा तस्करहरुले हत्या गरे । वि.स.२००७ सालमा किसान परिवारमा जेठो छोराको रुपमा जन्मिएका कमरेड वाग्ले सामान्य राजनितीक चेतना आए देखि नै कम्युनिष्ट विचारधारा प्रति आस्थावान हुनुहुन्थ्यो ।
राजनीतिलाई पेशेवर ढंगले नै त उहाँले तत्कालिन नेकपा माओवादीको पूर्णकालिन कार्यकर्ता भएर मात्र गर्नु भयो तर भावनात्मक रुपमा सामान्य समर्थन भने उहाँले मशाल, एकता केन्द्र, जनमोर्चा हुदै तत्कालिन नेकपा माओवादीलाई गर्दै आउनु भएको थियो ।
वि.स.२०६० फागुन १० बाट उहाँ नेकपा माओवादीमा पूर्णकालिन कार्यकर्ता हुनुभयो । पाको उमेर र खह्रो स्वभावका क. रामजी पाटीले दिएको जस्तो सुकै जिम्मेवारीलाई पनि इमान्दारी पूर्वक निर्भिक्क भएर पूरा गर्नुहुन्थ्यो । क. रामजी छोट्टै समयमा जिल्ला पार्टी सल्लाकार हुनुभयो ।
वर्गिय दुश्मनका अनेकौ अप्रेशन, धरपकडहरुलाई चिर्दै देश र जनताको पक्षमा काम गर्दै पार्टीको योजना अनुसार मकवानपुर जिल्लामा निरन्तर खटीरहनु भएको थियोे । वि.स.२०६२।४।७ मकवानपुरको एक स्थानीयको घरमा तात्कालिन मकवानपु-धादिङका सेक्रेटरी मुकुन्द पौडेल रमन, इलाका इन्चार्ज दिपक लामिछाने सुबोध, कृष्ण वाग्ले (कमरेड रामजी ), नुवाकोटकी सावित्री घिमिरे सामना लगाएतका नेता तथा कार्यकर्ता बसिरहेको बेला भरुवा बन्दुक सहित आएका गाँजा तस्करहरुले घेराहाले । लामिछाने र पौडेलले लगायतले बन्दुक सहित आएका गाँजा तस्करहरुको घेरा तोड्न सफल भएपनि तस्करहरुले रामजी र सामनालाई विभत्स हत्या गरेका थिए । लेखकः दिपक लामिछाने सुबोध
प्रकाशित मिति: ०७७ साउन ७ गते

