धादिङको गंगाजमुनाद्वारा ५२ करोड ९९ लाखको बजेट सार्वजनिक

Avatar photo
Dhadingpost
असार ११, २०७७

धादिङ असार ११ । धादिङको गंगाजमुना गाउँपालिकाले आर्थिक वर्ष २०७७र०७८ लागि कूल ५२ करोड ९९ लाख ६५ हजार ४ सय ५६ रुपैयाँको बजेट ल्याएको छ ।

संविधानसभा सदस्य धन बहादुर घलेको प्रमुख आतिथ्यतामा बुधबार सम्पन्न सातौं गाउँ गाउँसभामा उप प्रमुख एन्जिला तामाङले उक्त बवेट प्रस्तुत गरेकी हुन् ।

बजेटको पूर्ण पाठ

गंगाजमुना गाउँपालिकाका उपाध्यक्ष श्री एन्जिला तामाङद्वारा सातौं गाउँ सभामा प्रस्तुत वजेट

१. सम्वत् २०७७ साल आषाढ १० गते बुधवारका दिन बागमती प्रदेश, धादिङ जिल्ला, गंगाजमुना गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७७/०७८ को वजेट तथा कार्यक्रम प्रस्तुत गर्न यस गरिमामय सभा समक्ष उपस्थित भएको छु । यस गौरवपूर्ण अवसरमा जनआन्दोलन,जनयुद्ध, लगायतका राजनैतिक अधिकार प्राप्तीका लागि भएका संघर्षहरुमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरु प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु । घाइते हरुको शीघ्र स्वास्थ्य लाभको लागि कामना गर्दै वेपत्ता भएका नागरिकहरु प्रति सम्मान पूर्वक नमन गर्न चाहन्छु । साथै मूलुकको राजनैतिक, आर्थिक एवं सामाजिक परिवर्तनमा युगान्तकारी रुपले नेतृत्व दायी भूमिका खेल्नु हुने महानुभावहरु प्रति हार्दिक सम्मान प्रकट गर्न चाहन्छु ।

२.विश्वव्यापी महामारी एवं संक्रमणको रुपमा फैलिएको कोरोना रोग अर्थात कोभिड–१९ का कारण मानव जाति माथि शताब्दीकै सबैभन्दा ठूलो संकट पैदा भएको छ । विश्वस्तरमै यस महामारी विरुद्ध लड्न मौजुदास्वास्थ्य सेवा र सुविधाहरु अपर्याप्त देखिएका छन् । यस महामारीबाट लाखौं मानिसको ज्यान गइसकेको छ भने त्यतिकै मानिसहरु संक्रमित भएका छन । यस महामारीबाट संक्रमित भै नेपाल बाहिर र नेपालमा जीवन गुमाउनु हुने नेपाली तथा अन्य मित्र राष्ट्रका नागरिकहरुका शोकाकुल परिवारजन प्रतिगहिरो समवेदना व्यक्त गर्दछु । साथै उपचाररत सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

३.यस्तो जोखिमपूर्ण परिस्थितिमा अग्रपङ्तिमा रहेर सेवा गर्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, स्थानीय प्रहरी प्रशासन, व्यवस्थापकीय पक्षमा अहोरात्र खटिनु भएका जनप्रतिनिधि तथा कर्मचारीहरुको म उच्च प्रशंसा गर्दछु । अत्यावश्यक बस्तुको आपूर्ति सहज बनाउन योगदान गर्ने सबै व्यवसायी तथा व्यक्तिलाई धन्यवाद दिन चाहन्छु । साथै कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रणका लागि गाउँपालिकाले चालेको कदमलाई आ–आफ्नो तर्फबाट पूर्ण रुपमा सहयोग गर्नु भएकोमा म सम्पूर्ण गाउँपालिकाबासी आमाबुवा,दिदीबहिनी तथा दाजुभाइहरु प्रति हार्दिक आभार व्यक्त गर्दछु ।

४.नेपालको संविधान र स्थानीय सरकार संचालन ऐन, २०७४ ले स्वशासनको माध्यमबाट सार्वभौम गाउँपालिका बासीहरुलाई आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समता मूलक समाजको निर्माण गर्ने संकल्पगर्दै आफ्नो क्षेत्रको विकासका निमित्त श्रोत साधनको विनियोजन, परिचालन गर्ने जिम्मेवारी र अधिकारको अधिकतम उपयोग गर्दै जवाफदेहिता वहन लाई मनन गरी आगामी आर्थिक वर्ष २०७७/०७८ को वजेट तथा कार्यक्रम तर्जुमा गरेको छु ।

५.स्थानीय सरकार गठन भएको छोटो समयमै सुशासन प्रर्वद्धन तथा पूर्वाधार विकास निर्माण एवं सेवा प्रवाहमा प्रभावकारी ढंगबाट तदारुकताका साथ अगाडी बढेता पनि गाउँपालिकाका आम नागरिकहरुलाई साचै स्थानीय सरकार विहानीको घामको रुपमा अत्यन्त नजिक भएर कार्य सम्पादन गरिरहेको भन्ने अनुभूती दिलाउन प्रयासरत रहेको अवस्था छ । यद्यपी नेपालको संविधानले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्धारा दीगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने लक्ष्यलिएको छ । साथै सोही लक्ष्य प्राप्तिका लागि यस गाउँपालिकाले आफ्ना विकास निर्माण, सुशासन प्रर्वद्धन, नागरिकका आर्थिक, सामाजिक पक्षमा उन्नती गरी गुणस्तरीय जीवन निर्माण र प्रगति हुने क्रियाकलाप संचालन गरिरहेको छ ।

६.स्थानीय सरकार आफैमा अधिकार सम्पन्न छ । संविधानमा व्यवस्था गरिएका एकल अधिकार अन्तर्गत आफ्नो क्षेत्रभित्रको विषयमा कानून बनाउने, नियमन गर्ने, वार्षिक वजेट बनाउने, निर्णय गर्ने, नीति तथा योजना तयार गर्ने र त्यसको प्रभावकारी कार्यान्वयन गर्ने जस्ता कार्य सम्पादन गर्न सक्दछ। सोही अनुरुप यस गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको क्षमता विकास गरी उत्कृष्ट सेवा प्रवाहमा जोड दिएको छु ।

७. वजेट तथा कार्यक्रम तर्जुमा गर्दा सुशासन प्रवद्र्धन, ग्रामीण स्वास्थ्य सेवा, भौतिक पूर्वाधार विकास, कृषि प्रवद्र्धन, गुणस्तरीय शिक्षा विकास, वातावरण मैत्री ग्रामीण शहरको व्यवस्थापन, विपद व्यवस्थापन तथा क्षमता विकास, गरिवी न्यूनीकरण, सामाजिक समावेशीकरणका सवालहरु, बालमैत्री स्थानीय शासन पद्धती, गुणस्तरीय सेवा सुविधामा गाउँपालिकाबासीको पहुँच अभिवृद्धि हुने अवसर सिर्जना, सुदृढ आर्थिक विकास र निर्वाचित जनप्रतिनिधि हरुलाई विकास प्रक्रियाको क्रममा सवल र सक्षम बनाउने आधारलाई वजेट निर्माणको सोचको रुपमा लिएको छु ।

८. मैले मुलत : वार्षिक वजेट तथा कार्यक्रम तर्जुमा गर्दा नीतिमा अवलम्वन गरिएका आधारहरु अनुरुपगाउँपालिकाको आवधिक योजना, दीगो विकासका लक्ष्यहरु, नेपालको संविधान, स्थानीय सरकार संचालन ऐन, राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग ऐन, पन्ध्रौं योजनाका लक्ष्य, उद्देश्य, रणनीति तथा कार्यनीतिहरु, नेपाल सरकारले अन्तराष्ट्रिय जगतमा गरेका सन्धी तथा प्रतिवद्धताहरु, संघ, प्रदेश सरकारबाट जारी नीति, कानून, मापदण्डहरु साथै क्षेत्रगत गुरुयोजनाहरु र विगतका आर्थिक वर्षका योजना तथा कार्यक्रमहरुलाई निरन्तरता दिने व्यवस्था मिलाईएको छु । यसै क्रममा विकासका मुलभूत सिद्धान्तलाई व्यवहारमा उतार्न क्षेत्रगतनीति, रणनीति, कार्यनीति र कार्यक्रम बनाई प्रस्ताव गरेको छु । यसबाट नतिजामूखी वजेट प्रणालीको विकास भई नागरिक प्रति जवाफदेही, जिम्मेवारी र उत्तरदायी प्रशासनको प्रवद्र्धन हुने अपेक्षा गरेको छु ।

९. आगामी आर्थिक वर्षको बजेट नयाँ परिस्थितिले सिर्जना गरेका चुनौतीहरुलाई सामना गर्ने र प्राप्त अवसरलाई उपयोग गर्ने तर्फ केन्द्रित रहनुपर्छ भन्नेमा म सजग छु । यस अवस्थामा सबै पालिकावासीहरुको जीवन रक्षा गर्ने, भविष्य प्रति आधारयुक्त आशा जगाउने र पूर्वाधार विकास निर्माणको पुनःरुत्थान गर्दै अगाढी वढने गरी मैले बजेट तर्जुमा गरेको छु ।

१०. गाउँपालिकाको सीमित स्रोत र साधनको उच्चतम उपयोग मार्फत पूर्वाधार विकास, आर्थिक तथा सामाजिक क्षेत्रको उत्साहप्रद प्रगतिका लागि कदम चालिरहेको छ ।गाउँपालिका क्षेत्रभित्र विद्यालयजाने उमेरका बालबालिकाको भर्ना र विद्यालय शिक्षा पुरा गर्ने दर बढेको छ । आधारभूत, माध्यमिक र उच्च शिक्षा सहित सबै तहको शिक्षामा लैङ्गिक समानता हासिल भएको छ । गाउँपालिकाले स्थापना गरेको ग्रामिण अस्पताल फुलखर्क र यसमाविस्तार गरिएको स्वास्थ्य सेवाले आम गाउँपालिकावासीहरुमा हर्ष र उमंग ल्याएको छ । साथै आगामी दिनहरुमा अस्पताल लगायत वडामा रहेका स्वास्थ्य संस्थाबाट प्रभावकारी रुपमा स्वास्थ्य सेवाप्रदान गर्न आवश्यक वजेट विनियोजन गरी सोको प्रवन्ध मिलाएको छु ।

११. अव म आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटका उद्देश्य तथा प्राथमिकता प्रस्तुत गर्न अनुमति चाहन्छु । बजेटका उद्देश्यहरु निम्नानुसार रहेका छन् :

(क) विपद् तथा प्रकोप व्यवस्थापनःसबै प्रकारका विपद्, महामारी, प्रकोपबाट जीवन रक्षार विप्दको न्यूनीकरण एवं व्यवस्थापन गर्दै गाउँपालिकाका नागरिकको जनजीवनलाई सुरक्षित बनाउने ।

(ख) स्थानीय अर्थतन्त्रको विकास र विस्तारः संघ र प्रदेश सरकारको विकास सम्बन्धी सोच, लक्ष्य, उद्देश्यसँग तादाम्यता कायम गरी अन्तर सरकार, सहकारी, निजी क्षेत्र र नागरिक समाजसँग समन्वय, सहयोग र सहकार्यको माध्यमद्धारा स्थानीय अर्थतन्त्रको विकास र विस्तार गरी समृद्धिको आधार तयार गर्ने ।

(ख) बाँझो जग्गाको उपयोग र व्यवस्थापनःगाउँपालिका क्षेत्रभित्र लगातार दुई वर्षसम्म कुनै पनि प्रकारको खेतीपाती नगरी बाँझो राखिएको जग्गालाई प्रयोगमा ल्याई कृषि प्रवद्र्धनमा जोड दिने । कृषि व्यवसायी, कृषि सहकारी तथा कृषि सम्बन्धी संघसंस्थाहरुलाई अनुदानको व्यवस्था गरी कृषि उत्पादनमा प्रोत्साहन गर्ने ।

(ग) उत्पादनमूलक, जलवायु तथा विपद् उत्थानशिल पूर्वाधारः भू–उपयोग योजनाको आधारमा वस्ती तथा भौतिक पूर्वाधार विकास योजना तर्जुमा गरी सो अनुसार पूर्वाधार विकास र सुविधा अभिवृद्धी गरिनुका साथै पूर्वाधार तथा संरचना निर्माण गर्दा उत्पादन र आयमूलक क्षेत्रमा जोड दिई रिचार्ज पोखरी, पहिरो नियन्त्रण जस्ता जलवायु अनुकुलन आयोजनालाई विशेष प्राथमिकता दिने एवं संरचना निर्माण गर्दा वातावरण संरक्षण सम्बन्धी कानून अनुसार वायो इञ्जिनियरिङ्ग प्रविधिको अनुसरण गर्ने ।

(घ) योजनावद्ध पूर्वाधार विकासःगाउँपालिकाले तर्जुमा गरेको आवधिक योजना,यातायात गुरु योजनातथा बस्ती विकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धी मापदण्ड, खानेपानी, पर्यटकीय पूर्वाधार विकास सम्बन्धीतयार गरिएको विस्तृत परियोजना प्रतिवेदनको आधारमा वजेट व्यवस्थापन गरी दीगो विकास गर्ने ।

(ङ) प्रभावकारी सेवाप्रवाहःगाउँकार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था लगायत गाउँपालिका क्षेत्रभित्र कार्यरत निजीतथा सरकारी एवं गैर सरकारी संघसंस्थाबाट प्रदान गरिने सेवा प्रवाहलाई सरलीकृत गरी थप व्यवस्थित र प्रभावकारी बनाइने ।

(च) साझेदारी र सहकार्यःगाउँपालिकामा कार्यरत गैर सरकारी संघसंस्थाहरुसँग आवश्यकताको पहिचान गरी पूर्वाधार विकास, नागरिक सचेतना, स्वास्थ्य सेवाप्रवाह, सरसफाई तथानागरिक सशक्तिकरण जस्ता कार्यहरु साझेदारी र सहकार्यमा संचालन गरिने ।

(छ) समावेशीकरण, सुशासन तथा सदाचार प्रवद्र्धनः गाउँपालिकाबाट सम्पादन गर्ने सेवा प्रवाह तथा कार्यहरुलाई पारदर्शी बनाउदै, नागरिकका मौलिकहक र अधिकारका रुपमा रहेका आवश्यकता परिपूर्ति मार्फत राज्यको लोककल्याणकारी भूमिका बढाउने ।

(ज) सूचना तथा नतिजामा आधारित विकास व्यवस्थापन ः विकास व्यवस्थापन प्रक्रियालाई सूचना, प्रमाण, तथ्यतथा ज्ञानमा आधारित एव नतिजा मूलक बनाईनेछ । यस प्रक्रियामा सूचना प्रविधि, अनुभव र सफल अभ्यासलाई अधिकतम परिचालन गरिनेछ ।
१२. माथि उल्लेखित उद्देश्यहरु हासिल गर्न देहायका क्षेत्रगत र कार्यक्रम गत प्राथमिकता निर्धारण गरेको छु ।
(क) गाउँपालिकाको रणनीतिक सडक पूर्वाधार विकासका योजना,
(ख) ग्रामिण अस्पतालको भवन निर्माण,
(ग)पर्यटन पूर्वाधार क्षेत्रको विकास,
(घ)एक घर एक धाराको नीति अनुरुप खानेपानी पूर्वाधार विकास,
(ङ) कृषि उत्पादनमा जोड तथा कृषि अनुदान प्रोत्साहन कार्यक्रम,
(च) आधुनिक एवं प्रविधि मैत्री सेवा प्रवाह,
(छ) कम्तीमा १००० जना बेरोजगारीलाई रोजगार प्रदान गर्ने कार्यक्रम,
(ज) सामुदायिक विद्यालयका शैक्षिक गुणस्तर प्रवद्र्धन कार्यक्रम, आदि ।

१३. आगामी आर्थिक वर्ष ०७७/०७८ का लागि वित्तीय परिचालन र खर्च अनुमान गर्दा वित्तीय सन्तुलन कायम गर्ने उद्देश्य लिई सोही अनुरुप योजना तथा कार्यक्रमहरु तर्जुमा गरी रकम विनियोजन गरेको छु । आगामी आर्थिक वर्षका लागिकुल ५२ करोड ९९ लाख ६५ हजार ४ सय ५६ रुपैया आय र व्यय प्रस्ताव गरेको छु ।

गाउँपालिकाको आन्तरिक आयबाट १ करोड २९ लाख ५६ रुपैया प्राप्त हुने अनुमान गरेको छु । जस अन्तर्गतसंघीय सरकारबाट राजश्व बाँडफाडवापत ७ करोड २१ लाख ११ हजार ४ सय ५६ रुपैया, संघीयवित्तीय समानीकरण वापत १२ करोड ५९ लाख,संघीय सशर्त अनुदान वापत १९ करोड ९० लाख रसंघीय समपुरक अनुदान वापत ३५ लाख प्राप्त भएको छ भने प्रदेश सरकारबाट राजश्व बाँडफाँड वापत १ करोड २७ लाख ४ हजार, प्रदेश वित्तीय समानीकरण वापत १ करोड ४ हजार,प्रदेश सशर्त अनुदान वापत २ करोड १ लाख ३९ हजार, प्रदेश समपुरक अनुदान वापत १ करोड ७३ लाख ५१ हजार र प्रदेश विषेश अनुदान वापत ३५ लाखबजेट प्राप्त भएको छ । समग्रमा सवै प्रकारका समानीकरण तथा अनुदान गरी संघीय सरकारबाट जम्मा ४० करोड ३ लाख ११ हजार ४ सय ५६ रुपैया र प्रदेश सरकारबाट ७ करोड १६ लाख ९८ हजार गरी जम्मा ४७ करोड २० लाख ९ हजार ४ सय ५६ रुपैया प्राप्त भएको छ ।

१४. चालुतर्फ अर्थात कार्यालय संचालन तथा प्रशासनिक खर्च समेतगरी कुल बजेटको ५ करोड ४लाख ७८ हजार अर्थात ९.५२ प्रतिशत विनियोजन गरेको छु भने पूँजीगत एवं कार्यक्रमगत खर्च अन्तर्गत सशर्त अनुदान समेत गरीकुल बजेटको ४७ करोड ९४ लाख ७ हजार ४ सय ५६ रुपैया अर्थात ९०.४८ प्रतिशत विनियोजन गरेको छु ।

१५. यस आर्थिक वर्षमा जनसंख्या, भौगोलिक स्थिति लगायतका सूचकहरुको आधारमा वडा नंं. १, २, ३ र ४ का लागि७०÷७० लाख र वडा नं. ५, ६ र ७ का लागि१÷१ करोडको सिलिङ्ग तोकी वडाहरुको लागिजम्मा ५ करोड ८० लाख बजेट विनियोजन गरेको छु ।

१६. पूर्वाधार विकास अन्तर्गत ठूला तथा साना सडकहरुको स्तरोन्नती तथा निर्माण लगायतका लागि ६ करोड १ लाख बजेट विनियोजन गरेको छु । जस अन्तर्गत गाउँपालिकामा कार्य क्षेत्र बनाई कार्य गर्ने संघ संस्थाहरुसँग खानेपानी तथा सिंचाइ लगायतका पूर्वाधार विकासमा साझेदारी गर्नका लागि ४७ लाख बजेट विनियोजन गरेको छु ।साथै गाउँपालिकामा पेश हुन आएका र आउने अत्यन्त आवश्यक सडक मर्मत, खेल मैदान निर्माण, गुम्वा निर्माण, खानेपानी पाईप व्यवस्थापन लगायतका पूँजीगत निर्माण जस्ता कार्यका लागि सम्बोधन गर्नका लागि ५० लाख ७९ हजार बजेट विनियोजन गरेको छु ।

१७. त्यसै गरी शिक्षा, युवातथा खेलकुद तर्फ १ करोड ६ लाख ६८ हजार बजेट विनियोजन गरेको छु । जसमध्ये गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुका निजी स्रोत शिक्षक तलव तथा बालविकास सहजकर्ता लगायतका शैक्षिक जनशक्ति व्यवस्थापन गर्नका लागि ५० लाख विनियोजन गरेको छु । साथै अध्यक्ष छात्रवृति कार्यक्रम अन्तर्गत प्राविधिक धार कक्षा १२ र एम.वि.वि.एस. अध्ययन गर्ने गरिव तथा जेहेन्दार विद्यार्थीहरुका लागि २ लाख ६० हजार बजेट विनियोजन गरेको छु । सामुदायिक सिकाई केन्द्र, नमूना विद्यालय विकास कार्यक्रम, यूवा तथा खेलकुद विकास कार्यक्रमलाई निरन्तरता दिदै यस आर्थिक वर्षमा २६ लाख ६० हजार बजेट विनियोजन गरेको छु ।

१८.गाउँपालिकाका स्वास्थ्य संस्थाबाट प्रभावकारी र व्यवस्थित स्वास्थ्य सेवा प्रदान गर्नका लागि दरबन्दी बमोजिम नपुग भएका स्वास्थ्य संस्थामा करार सेवामा कर्मचारी पूर्ति गरी सेवा संचालनका लागि ६५ लाख बजेट विनियोजन गरेको छु । सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा तथा सुत्केरी महिलाको ज्यान खतरा हुने अवस्थामा निःशुल्कहवाई उद्धार सेवाको लागि क्रमशः ३ लाखर ६ लाख गरी ९ लाख बजेट विनियोजन गरेको छु ।

प्रत्येक वडामा आँखा शिविर, स्त्री रोग शिविर, दन्त रोग शिविर लगायत अन्य आवश्यक स्वास्थ्यशिविर संचालनका लागि ७ लाख र ग्रामिण अस्पताल फुलखर्क तथा बसेरी स्वास्थ्य चौकीको लागि २ वटा एम्वुलेन्स खरिद गर्न २४ लाख बजेट विनियोजन गरेको छु । साथै स्वास्थ्य चौकीमा सुत्केरी हुने सुत्केरी आमा पोषण कार्यक्रम अन्तर्गत रु १ हजार बराबरको अण्डा, चना लगायत सरसफाईका सामाग्री प्रदान गर्नका लागिआवश्यक बजेट विनियोजन गरेको छु । समग्र रुपमा स्वास्थ्यतर्फ १ करोड ५१ लाख ९० हजार बजेट विनियोजन गरेको छु ।गाउँपालिकाको पहलमा १५ शैयाको ग्रामिण अस्पतालको भवन निर्माणको लागि प्रदेश सरकारबाट १ करोड बजेट विनियोजन भएको छ ।

१९.गाउँपालिकाबाट सम्पादन गरिने हरेक विकास निर्माण लगायत सेवा प्रवाहलाई छिटो, छरितो, पारदर्शी, जिम्मेवारपूर्ण र थप प्रभावकारी, व्यवस्थित बनाउन, उपलब्ध सीमित स्रोत साधन बाट धेरै प्रतिफल प्राप्त गर्ने सिद्धान्त अवलम्वनगरी (म्य mयचभ धष्तज भिकक)सुशासन प्रवद्र्धन तथा संस्थागत विकासका लागि ८६ लाख ६० हजार बजेट विनियोजन गरेको छु ।

२०. गाउँकार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्थालगायतमा कार्यरत कर्मचारीहरुको उच्च मनोवल बनाई आफुलाई तोकिएको जिम्मेवारी तदारुकताका साथ बहन गर्न हौसल्ला मिल्ने किसिमले आगामी आर्थिक वर्षमा पनि उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरुलाई सम्मान गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु ।

२१. गाउँपालिकाको ऐतिहासिक तथा धार्मिक रुपमा परिचित पर्यटकीय क्षेत्रहरुको संरक्षण, संवद्र्धन एवं प्रवद्र्धन गरी आन्तरिक तथावाह्य पर्यटकहरु भित्र्याई आर्थिक गतिविधिलाई चलायमान बनाउनका निमित्त यस आर्थिक वर्षमा वडा नं. ५ स्थित गंगाजमुनामाई पर्यटन क्षेत्र पूर्वाधार विकासका लागि ३० लाख बजेट विनियोजन गरेको छु । त्यसैगरी वडा नं. ३ मा पर्ने पोखरा डाँडा पर्यटन क्षेत्र पूर्वाधार विकासका लागि १० लाख, वडा नं. २ स्थित पासङचोक महादेवस्थान पर्यटन पूर्वाधार विकासका लागि १५ लाख, चौरथला ठूलो नाङ्गे पर्यटन पूर्वाधार विकासका लागि १९ लाख र बुढाथुम स्थित टुडिखेल संरक्षण तथा पर्यटन पूर्वाधार विकासका लागि १० लाख बजेट विनियोजन गरेको छु । साथै यस गाउँपालिकाका संभावित क्षेत्रहरुमा होमस्टे व्यवसायलाई प्रवद्र्धन गर्न होमस्टे तालिमका लागि ३ लाख बजेट विनियोजन गरेको छु । समग्रमा पर्यटन विकास तर्फ ९२ लाख बजेट विनियोजन गरेको छु ।

२२. त्यसैगरी आगामी आर्थिक वर्षमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक तर्फ ४१ लाख ९० हजार बजेट विनियोजन गरेको छु । जस अन्तर्गत गंगाजमुना गाउँपालिकाका ७ वटै वडाका महिला सशक्तिकरण, आयआर्जन तथा क्षमता विकास कार्यक्रमको लागि आवश्यक बजेट व्यवस्था गरेको छु । अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरण तथा आयआर्जन, यूवा आर्यआर्जन, बाल तथा इको क्लब गठन तथा नियमनका लागि बजेट विनियोजन गरेको छु ।

साथै महिला, दलित तथा बाल हिंसा एवं दुरव्यवहार विरुद्ध सचेतना कार्यक्रम संचालनको लागि ३ लाख ५० हजार बजेट विनियोजन गरेको छु । ९० वर्ष र सो भन्दामाथि उमेर समुहका ज्येष्ठ नागरिकहरुलाई सम्मानका लागि ३ लाख ५० हजार बजेट विनियोजन गरेको छु । गाउँपालिकामा स्थायी ठेगाना भएका दीर्घरोगीहरुलाई दीर्घरोगी उपचार खर्च वापत प्रदान गरिदै आएको रु १५ हजार कार्यक्रमलाई यस आर्थिक वर्षमा पनि निरन्तरता दिदैं ७ लाख ५० हजार बजेट विनियोजन गरेको छु । साथै उपाध्यक्ष उद्यमशील कार्यक्रम अन्तर्गत ७ वटै वडामा युवा आयआर्जन तथा क्षमता अभिवृद्धि गर्नका लागि १० लाख ५० हजार बजेट विनियोजन गरेको छु ।

२३. अव म आगामी आर्थिक वर्षमा कला, सांस्कृतिक प्रवद्र्धन तर्फ विनियोजित बजेट प्रस्तुत गर्न चाहन्छु । यस क्षेत्रमा मैले २१ लाख बजेट विनियोजन गरेको छु । जस अन्तर्गत गंगाजमुनामाई मेलामा पन्चेबाजा, झाक्रीनाच, खैजडी नाच लगायत अन्य जातजातीको कला प्रतियोगिता कार्यक्रम, वडाहरुमा संचालन गरिने विभिन्न सांस्कृतिक प्रवद्र्धन कार्यक्रम तथा गंगाजमुनामाई महोत्सव व्यवस्थापन खर्चका लागि समेत आवश्यक बजेट विनियोजन गरको छु ।

२४.आगामी आर्थिक वर्षमा उद्योग, वन, वातावरण तथा विपद व्यवस्थापन तर्फ ७७ लाख बजेट विनियोजन गरेको छु ।जस मध्ये विश्वभर महामारी एवं संक्रमणको रुपैमा फैलिएको कोभिड–१९ का कारण नेपालमा पनि संक्रमित हुने तथा ज्यान गुमाउनेहरुको संख्या दिनानु दिन बढ्दै गएको सन्दर्भमा यस गाउँपालिकामा भारत लगायत तेस्रो मूलुक एवं नेपालको राजधानी र कुनै पनि ठाउँबाट आफ्नो घर फर्केकाहरुको कोरोना सम्बन्धी पीसिआर चेकजाँच, क्वारेन्टीनको व्यवस्थापन, औषधी खरिद, राहत वितरण लगायतका कार्यका लागि गत आर्थिक वर्ष ०७६/०७७ मा प्रकोप व्यवस्थापन कोषमा रहेको बजेटमा थप ६० लाख बजेट विनियोजन गरेको छु ।

उद्योग तथा व्यवसाय प्रवद्र्धन कार्यक्रम, साविकको री गाविस हालको वडा नं. १ र २ मा थुन्चे लगायत निगालो द्धारा निर्मित अन्य घरेलु उत्पादन नगद प्रोत्साहन कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरेको छु । साथै प्राकृतिक शौन्दर्यता बढाउन, जंगली जनावरहरुलाई खानेपानीको व्यवस्थापन गर्न, एवं जैविक पर्यावरणलाई सन्तुलन कायम राखी खानेपानीहरुको संरक्षण गर्ने उद्देश्यले गाउँपालिकाका ७ वटै वडामा पानी पोखरी अर्थात रिचार्ज पोन्ड (च्भअजबचनभ एयलम) निर्माणको लागिआवश्यक बजेट विनियोजन गरको छु ।

२५. यस गाउँपालिकामा रहेका बाँझो जग्गा व्यवस्थापन तथा कृषि पवद्र्धन गर्न र कृषि व्यवसायलाई अनुदान कार्यक्रम संचालन गरी कृषि पेशातर्फ प्रोत्साहन गरी कृषि उन्मुख बनाउनका निमित्त आगामी आर्थिक वर्षका लागि कृषि विकास तर्फ ५९ लाख बजेट विनियोजन गरको छु । भौगोलिक बनावट र हावापानीका आधारमा ५ हजार घरधुरीलाई एक घर ५ फलफुलका विरुवा ५० प्रतिशत अनुदानमा वितरण गर्ने कार्यक्रमका लागि २५ लाख बजेट विनियोजन गरेको छु । साथै मौरी फर्म पूर्वाधार निर्माण, बेमौसमी तरकारी खेतीतालिम, टिमुर तथा ओखरका विरुवा वितरण, किवी खेती प्रवद्र्धन, टनेल खेती प्रवद्र्धन कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरको छु ।

२६.आगामी आर्थिक वर्षमा पशु विकासका लागि पशु स्वास्थ्य शिविर संचालन, बाख्रापालन तालिम, च्याप कटर वितरण, माछा पोखरी मर्मत तथा निर्माण, खोर सुधार कार्यक्रम, पशु कृतिम गर्भधान लगायतका कार्यक्रमहरुका लागि ३६ लाख ५० हजार बजेट विनियोजन गरको छु । पशु व्यवसायहरुलाई पशु पालनमा आकर्षण गर्न ५० प्रतिशत अनुदान कार्यक्रमका लागि बजेट विनियोजन गरेको छु ।

२७. स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ४७ बमोजिम न्यायिक समितिको अधिकार क्षेत्र भित्र पर्ने कार्यहरुलाई सामाजिक न्यायिक तवरले सम्पादन गर्न मेलमिलाप पद्धतिलाई आबद्ध गरी थप प्रभावकारी बनाउन एवं कानूनी सचेतना कार्यक्रम संचालन गर्न एवं मेलमिलापकर्ताको क्षमता अभिवृद्धि गर्न लागायतका कार्यक्रमहरु समेत गरी न्यायिक समिति तर्फ १५ लाख ५० हजार बजेट विनियोजन गरको छु ।

२८. वास्तवमा यस आर्थिक वर्ष ०७६/०७७ मा स्वीकृत वार्षिक नीति तथा कार्यक्रम एवं बजेट बमोजिम योजना तथा कार्यक्रम कार्यान्वयनको पक्ष प्रगतिशील भै रहेको अवस्थामा सम्वत २०७६ साल चैत्र महिनाको दोस्रो हप्ता देखि कोभिड–१९ का कारणले गर्दा हाम्रो विकासको वेगलाई बाधा पुगेको यहाँहरु सबैलाई सर्वविदितै छ ।हाम्रो अथक प्रयासका बावजुझ पनि यस आर्थिक वर्षका केही योजनाहरु क्रमागतका रुपमा राख्नु पर्ने बाध्यत्मक अवस्था सिर्जना भएको यहाँहरु समक्ष जानकारी गराउँदछु ।

तसर्थ गाउँपालिका भवन निर्माण, २ नं. वडा कार्यालय भवन निर्माण, १ नं वडा कार्र्यालय भवन निर्माण, कोलडाँडा बाथले डाँडा बसेरी सडक निर्माण, सातदोबाटो लुम्री भीरकुना चिमचोक ताप्राङ सडक, एक घर एक धारा खानेपानी योजना, वडा नं. ७ लगायतका योजनाहरु आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने गरी क्रमागत योजनामा राखी त्यसका लागि ३ करोड १५ लाख १० हजार बजेट विनियोज गरेको छु ।
२९. यस वर्ष कोभिड–१९ जस्तो महामारी तथा विपद्ले हामीलाई ठूलो पाठ सिकाएको छ । आगामी दिनमा स्थानीय सरकारको रुपमा त्यस्ता विपद् तथा प्रकोपको व्यवस्थापन गरी पालिकाबासी नागरिकहरुको जीवन रक्षामा हामी सबै एकजुट भै कार्य गर्नुपर्ने हुन्छ । यस्तो विषम परिस्थितिमा कोभिड–१९ बाट प्रभावित घर परिवार पहिचान गरी राहत वितरण गर्ने र राजधानी,तथा देशका विभन्न ठाउँ,भारत लगायत तेस्रो मूलुकबाट घर फर्केका नागरिहरुको लागि क्वारेन्टीनको व्यवस्था, औषधोपचार लगायतका कार्यमा एकजुट भै लाग्नु हुने जनप्रतिनिधिहरु, कर्मचारीहरुलाई हार्दिक धन्यबाद ज्ञापन गर्न चाहन्छु ।

३०. गंगाजमुना गाउँपालिकाको आर्थिक वर्ष ०७७/७८ को नीति, वजेट तथा कार्यक्रम तर्जुमा गर्ने क्रममा सुझाव सल्लाह तथा निर्देशन प्रदान गरी सहयोग गर्नुहुने गाउँपालिकाका अध्यक्षज् यू, वडाका जनप्रतिनिधि ज्यूहरु,राजनीतिक दलका प्रतिनिधिहरु, सामाजिक व्यक्तित्व, बुद्धिजीवि समूह, कर्मचारी साथीहरु, विभिन्न शिक्षकहरु, विषयगत शाखाका शाखा प्रमुखहरु,सम्पूर्ण,करदाता तथा गाउँपालिका बासीहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु ।

३१. यसै गरी नीति तथा कार्यक्रम एवं बजेटको प्रस्ताव तर्जुमा प्रक्रियामा निरन्तर कार्य गर्ने श्रोत अनुमान तथा वजेट सीमा निर्धारण समिति, वजेट तथा कार्यक्रम तर्जुमा समिति, राजश्व परामर्श समितिका पदाधिकारीहरु र सो को तयारीमा सहयोग पुयाउनुहुने सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिन चाहन्छु ।

३२.कार्यक्रमको सफल कार्यान्वयनमा समुदाय, जनप्रतिनिधि तथा कर्मचारीहरुको ज्यादै ठूलो भूमिका रहेको हुन्छ ।तसर्थ गाउँपालिकाले घोषणा गरेका कार्यक्रमहरुमा गाउँपालिका बासीहरुले अपनत्व ग्रहण गरी यसको कार्यान्वयनमा सहयोग पुयाउने अपेक्षा लिएको छु । योजना तथा कार्यक्रमको सफल कार्यान्वनबाट गाउँपालिकाले प्रदान गर्ने सेवामा गुणात्मक सुधार ल्याई सुशासन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिएको छु ।

यसबाट भविष्यमा स्थानीय सरकारलाई तुलनात्मक रुपमा सुदृढ, व्यवस्थित, सक्षम बनाउन सकिने विश्वास लिएको छु । आर्थिक वर्ष २०७७/०७८ को नीति, कार्यक्रम तथा बजेटको कार्यान्वयनमा जनप्रतिनिधि, गाउपालिकाबासी, मान्यजनहरु, राजनीतिक दलका प्रतिनिधिहरु, नागरिक समाज, सरकारी तथा गैर सरकारी संघ संस्था, निजी क्षेत्र, कर्मचारी लगायत सबैबाट सहयोगको अपेक्षा गरेको छु ।

३३. मुलुकभित्र तथा बाहिर रहनु भएका सम्पूर्ण नेपाली बुवाआमा, दिदीबहिनी तथा दाजुभाईलाई कोभिड–१९ को जोखिमबाट सुरक्षित रहन हार्दिक अनुरोध गर्दै सबल, सक्षम, समृद्ध र न्यायपूर्ण गाउँपालिका निर्माणमा आ–आफ्नो ठाउँबाट योगदान गर्न आव्हान गर्दछु ।
धन्यवाद।

x