सम्बोधन अमरसिंहलाई

Avatar photo
Dhadingpost
असार ३, २०७७

यतिखेर म
आफ्ना कविताका हरफहरूमा
तिम्रो इतिहासको आकाशबाट
उदाइरहने
बिहानीको घामजस्तै प्रिय
आस्थाका किरणहरूलाई
आफ्नै जीवनका लयहरूमा गाउँदै छु
आफ्नै जीवनका विश्वासहरूमा
नजिक नजिक पाउँदै छु
मलाई थाहा छ-
तिम्रा नसा-नसामा छङ्छङ्ती बगेका
देशप्रेमका रक्तिम छहरा
मेरै शरीरका थोपा-थोपा रगतले लेख्ने
अक्षरहरूले मात्र बताउन सक्छन्।

अमरसिंह !
तिमीसँग कवितामा अनुवाद हुँदै जाँदा
म,
मेरो श्वास-प्रश्वास भइरहेको
मेरो देशको दिव्य हावालाई
तिम्रो इतिहास ठान्ने गर्छु
मलाई स्वस्थ जीवन दिइरहेको
मेरो देशको पवित्र अन्नपानीलाई
तिम्रो जीवनी मान्ने गर्छु
र, मेरो देशको यही स्वर्गतुल्य माटो
जसले मलाई
मेरो सम्पूर्णता दिने गर्छ
यसैलाई म
तिम्रो अमरगाथा भन्ने गर्छु।

तिम्रो वीरत्वको गाथा लेखेपछि
तिम्रो स्वाभिमानको माथा देखेपछि
मैले पनि
मेरो छातीभित्रको
अनन्त सम्बेदनशीलतामा
सधैँभरि
मेरो प्रिय देशको भूगोल अनुभूत गरिरहेछु
त्यही आत्मदेशीय भूगोलको सिमानामा
अथक अविरल बगिरहने
मेरो रातो रगतको तातो गति नै
मेरो राष्ट्रियता हो भन्ने बुझिरहेछु
मेरो स्वाभिमान हो भन्ने बुझिरहेछु।

x