
धादिङ जेष्ठ १ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले किसानलाई कृषि सामाग्री खरीदको लागि ५० देखि ८५ प्रतिशत सम्म अनुदान दिने भएको छ ।
त्रिपुरासुन्दरी गाउँपालिकाले विभिन्न १० शिर्षकमा किसानहरुलाई ५० देखि ८५ प्रतिशत सम्म अनुदान दिने भएको हो ।
गाउँपालिकाले व्यवसायीक कृषक अनुदान, व्यवसायीक तरकारी खेती अनुदान, उत्कृष्ट कृषक तथा कृषक समुह वितरण अनुदान, मौरीघार वितरण अनुदान, प्लाष्टिक टनेल वितरण, केराको बेर्ना वितरण कार्यक्रम, कागतीको बेर्ना वितरण कार्यक्रम, मकै बीज बृद्धि कार्यक्रम, हजारी वितरण कार्यक्रम, स्प्रेयर वितरणमा अनुदान दिने भएको हो ।
बुधबार सूचना जारी गर्दै अनुदान लिन चाहाने कृषक, कृषक समुह, सहकारी र निजी कृषि फर्महरुलाई ७ दिन भित्र आवश्यक कागजात पेस गर्न आव्हान गरेको छ ।
गाउँपालिकाले जारी गरेको सूचना मार्फत मौरी घर वितरण कार्यक्रम अन्तरगत ५० लाखमा ८५ प्रतिशत अनुदान दिने, केराको बेर्ना वितरणमा ४ लाखमा ८५ प्रतिशत अनुदान, व्यवसायीक कृषि अनुदान २ लाखमा ५० प्रतिशत अनुदान दिने लगायत जानकारी गराएको छ ।
गाउँपालिकाले यस अघि १५ दिनको म्याद राखि अनुदानको लागि निवेदन दिन आव्हान गर्दा पनि निदेदन नपरेपछि बुधबार फेरि ७ दिनको म्याद थप गरि अनुदान लिनका लागि अर्को सूचना जारी गरेको हो ।
अनुदान लिनको लागि गाउँपालिकाका तोकिएको ढाँचामा लेखिएको निवेदनको साथमा दर्ता प्रमाणको प्रतिलिपी, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपी, नागरिकताको प्रमाण पत्रको प्रतिलिपी, कार्ययोजना पेस गर्नुपर्ने सूचनामा जनाईएको छ ।


