
धादिङ बैशाख २२ । धादिङको बेनीघाट रोराङ र गजुरी गाउँपालिकामा बैशाख १७ गते देखि सुरु भएको दादुरा रुवेला खोप अभियान जारी रहेको छ ।
करिव २० हजार बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको उक्त खोप अभियानमा १० हजार बालबालिकाले खोप लगाई सकिएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
पुष महिनादेखि सुरु भएको दादुरा संक्रमण हाल धादिङ, काठमाडौं, चितवन, झापा, गोरखा, सर्लाही र ललितपुर गरी सात जिल्लामा यो रोगको महामारीको रुपमा फैलिएको छ ।
स्वास्थ्य कार्यालय धादिङले दिएको तथ्याङक अनुसार दादुरा संक्रमण फैलिएको सात जिल्ला मध्ये धादिङमा सबै भन्दा बढी ४७ जनामा प्रकोप फैलिएको स्वास्थ्य कार्यालय धादिङका खोप अधिकृत (खोप सुपरभाईजर निरीक्षक) श्याम प्रसाद पोखरेलले बताए ।
दादुरा कै कारण बेनीघाट रोराङ गाउँपालिकामा २ जना शिशुको मृत्यु भैसकेको छ । दादुरा संक्रमणबाट मृत्यु हुनेमा ४ महिनादेखि ४० वर्षसम्मका मानिसहरु रहेका छन् ।
लकडाउनको अवधिमा बेनीघाट रोराङ गाउँपालिका-६ मा दादुरा-रुवेलाले १५० जना बालबालिका बिरामी परे भने दुई जनाको मृत्यु भएको थियो ।
यस्तै गजुरी गाउँपालिका–२ डुडेठाँटी र चम्पाराङमा दादुरा(रुबेला फैलिँदा १२ बिरामी भए सँगै नेपाल सरकारले दादुरा(रुवेला फैलिएका गाउँपालिका भर दादुरा-रुबेला विरुद्धको खोप अभियान सुरु गरिएको हो ।

बेनीघाट रोराङ गाउँपालिकाको ९७ खोप केन्द्र बनाएर र गजुरी गाउँपालिकाको ७६ खोप केन्द्र बनाएर २० हजार बालबालिकालाई खोप लगाउन लागिएको पोखरेलले बताए ।
१३ वटा स्थानीय तहहरुमध्ये धादिङको गजुरी गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिकाका ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकाहरुलाई यो रोग देखा परी महांमारीको रुपमा फैलिएको थियो ।
धादिङ जिल्लामा दादुरा रुवेला रोग महामारीको रुपमा फैलिन थालेपछि स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको टोली गत बुधबार अनुगमन तथा उपचारको लागि धादिङमा आएको थियो ।
दादुरा रुवेला विरुद्धको खोप दिँदा सामाजिक दुरीको कायम गरी, खोप दिनु अघि बच्चाको कोरोना परीक्षण गर्ने र कुनै लक्षण देखा परेमा उपचारको लागि सुझाव दिने, खोप कार्यक्रममा सङ्लग्न व्यक्तिहरुले आवश्यक सामग्री प्रयोग गर्ने गरिएको छ ।
अभियानभर ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकाहरुलाई दादुरा–रुवेला विरुद्धको खोप लगाइने तथा भिटामिन ए र जुकाको औषधिसमेत खुवाइनेछ ।
दादुरा रोग सङ्क्रमित व्यक्तिको नाक तथा घाँटीबाट निस्किने तरल पदार्थको सम्पर्कमा आँउदा, हाच्छ्यू गर्दा र खोक्दा किटाणु हावामा फैलिएर यो रोग सर्दछ ।
बालबालिकाहरू समूहमा जम्मा हुने वा भिड हुने स्थानहरूमा सजिलैसँग एकअर्कामा सर्ने भएकाले भीड–भाडमा नजान स्वास्थ्य कार्यालय धादिङले आग्रह समेत गरेको छ ।
आज बेनीघाट रोराङको वडा नं. ६ को नौलोथर, धुषा आधारभुत विद्यालय, चउर र वडा नं. ८ को गोठेभञ्ज्याङ, भुवाभञ्ज्याङ खोप केन्द्रहरुमा खोप लगाउने कार्यक्रम रहेको बेनिघाट रोराङका सूचना अधिकारी परशुराम घिमिरेले बताए ।

