
धादिङ बैशाख २१ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले बैशाख २८ गते भित्र वार्षिक परिक्षाको नतिजा सार्वजनिक गर्न र विद्यार्थी भर्ना प्रक्रिया अगाडी बढाउन आव्हान गरेको छ ।
बेनीघाट रोराङले आईतबार सूचना जारी गर्दै विद्यालय तहका कक्षा १ देखि ९ सम्मको रोकिएका वार्षिक परिक्षाको नतिजा विद्यालयहरुले आफ्नो अनुकुलताका बैशाख २८ गते भित्र सार्वजनिक गर्न आव्हान गर्दै, गाउँपालिकाले प्रकाशित गर्ने कक्षा ८ को परिक्षाफल पनि यथाशिघ्र प्रकाशन गर्ने जनाएको हो ।
चैत्र ४ गते भित्र सबै वार्षिक परिक्षा सकेर कोरोना भाईरसको संक्रमणबाट जोगिन बन्द भएका विद्यालयहरु अझै खुल्न सकेका छैनन् । सरकारले २५ गते सम्म लकडाउन गरेपनि, त्यसपछि लकडाउनको स्वरुप परिवर्तन गर्न सरकारले गृहकार्य सुरुगरे सँगै बजारहरु विस्तारै खुल्दै छन् भने स्थानीय तहहरुले पनि रोकिएका कार्यहरुलाई निरन्तरता दिन थालेका छन् ।
यसै शिलशिलामा बेनिघाट रोरोङ गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख बोधराज पाठकले कक्षा गत पाठ्पुस्तकको लागि तयारी अवस्थामा रहन समेत विद्यालयलाई आग्रहग गरेका छन् ।
उनले सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई आफ्नो बिद्यालयमा कार्यरत स्थायी शिक्षकहरुको शैक्षिक सत्र २०७६ को कार्य सम्पादन मुल्याङ्कन (संशोधित फाराम अनुसार) वैशाख ३० गते भित्र भर्न समेत आग्रह गरेका छन् ।
यस वर्ष देखि कक्षा १ मा एकीकृत पाठ्यक्रममा आधारित नयाँ रङ्गित कार्यपुस्तक र कक्षा ११ मा परिमार्जित पाठ्यपुस्तक हुने छ ।
बेनीघाट रोराङ गाउँपालिका ११ वटा माध्यामिक, ६८ आधारभुत गरि ७९ वटा विद्यालय रहेका छन् । जसमा २ मावि र २ आधारभुत निजी क्षेत्रका विद्यालय हुन् भने अन्य सबै सामुदायीक विद्यालय रहेका छन् ।


