
धादिङ बैशाख ११ । आज देशभर मातृ दिवस वा आमा दिवस मनाईदै छ । यो आमालाई सम्मान गर्ने र सम्झने दिन पनि हो । हिन्दू संस्कृति अनुसार वैशाख कृष्णपक्ष औंसीका दिन आमाको मुख हेर्ने दिन वा मातातीर्थ औंसीका रूपमा चिनिन्छ । यो दिन जन्म दिने आमाको मुख हेरी गच्छे अनुसार मीठो–मसिनो ख्वाउने चलन छ ।
जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी, महर्षि वाल्मिकी रचित महाकाव्य रामायणमा त्यसका मुख्य पात्र रामद्धारा उच्चारण गरिएको यो श्लोकले भन्छ स् आफूलाई जन्म दिने आमा र आफू जन्मिएको भूमि बराबर स्वर्ग पनि होइन ।
आमाको महत्व र स्थान दर्साउन यो श्लोक नै पर्याप्त छ । त्यसैले हाम्रो समाजमा सबै भन्दा पुजनीय भनेकै आमा हुन् । आमालाई पुज्ने वा इश्वरिय आसन दिने संस्कार नेपाली वा हिन्दूहरूमा मात्र नभै संसार भरिका सबै जाति, समुदाय, सम्प्रदाय एवं धर्ममा समान रूपले व्याप्त छ ।
मातातीर्थसँग जोडिएको कथा
भगवान् विष्णुको सातौं अवतार मानिने मर्यादा पुरुषोक्तम श्रीराम वनवासका त्रममा घुम्दै एकदिन मातातीर्थ आइपुगे । उनलाई अपरिचित र नौलो देखेर स्थानीय बासिन्दाहरूले आक्रमण गरे । फलस्वरूप राम र स्थानीय बासिन्दाहरूबीच घमासान युद्ध भयो । युद्धले गर्दा दुवै पक्ष तिर्खाले आकुल–व्याकुल भए ।
त्यही बेला माता सीतालाई पनि प्यास लाग्यो । पानी खोज्दै जाँदा कतै पानी नभेटिएकाले भगवान् रामले गंगामाताको स्तुति गरे- ‘माता गंगासमो तीर्थ पिता पुष्कर मे वचः’ भन्ने मन्त्रोच्चारण तीन पटक गर्दै रामले जमिनमा वाण प्रहार गरेपछि वाण लागेको ठाउँमा पानीको कुण्ड बन्यो । त्यहाँ माता सीताजीले सारा ब्रह्माण्डको साक्षात् दर्शन पाउनुभयो । ब्रह्माण्डको दर्शन पाउँदा उहाँको स्वरूप कुण्डमा रहेको ढुंगामा कोरिन पुग्यो ।
अर्को कथाअनुसार कुनैबेला घना जंगल रहेको त्यो ठाउँमा गोठालाहरू गाई चराउन आउँथे । उनीहरू त्यही कुण्डको नजिकै बसेर खाजा खान्थे । ती गोठालाहरूमध्ये एण्टा गोठाला खाजा नखाई कुण्ड भएतिर मात्र जान्थ्यो ।
उसले त्यहाँ रहेको कुण्डमा आफ्नी आमाको दर्शन पाएकाले ऊ घर फर्कने वेलामा एक्लै फर्कन नमानेको र आमालाई पनि सँगै लाने इच्छा राख्दा आमाले छोरालाई हामी मृत आमाहरूको दर्शन गर्न सधैं वैशाख औंसीको दिन यो तीर्थमा आउनू भनी छोरालाई सम्झाई-बुझाई घर पठाइन् । भनिन्छ, त्यसै दिनदेखि त्यो ठाउँको नाम मातातीर्थ रहेको हो ।

