
धादिङ पुस २६ । प्रत्येक महिनाको चौंथो शनिबार आयोजना हुने शब्द रहर साहित्य अभियानको ५४ औं शृङ्खला आज दिपज्योति आवासीय स्कुलमा सम्पन्न भएको छ ।
धादिङ जिल्लाका चर्चित साहित्यकार, सुपरिचित शिक्षाप्रेमी तथा समाजसेवी डा. नवीनवन्धु पहाडी विशेष आमन्त्रित अतिथि सहभागी उक्त कार्यक्रममा उनले ‘आमाको आँगन’ महाकाव्यको वन्दनाबाट आफ्ना रचना वाचनको दैलो उघारे । कति मीठो देशको माटो … गीतमा भारतीय दादागिरीको छाला काढे, शालीन ढङ्गले ।
नव लेन्डुपहरूको नाममा… भन्ने सिर्जनामा उनको देशप्रेममात्र झल्कन्नथ्यो अपितु देशघाती शासकहरूको दोहोलो पनि एकैसाथ काढियो । लगभग एक दर्जन कर्णप्रिय रचना वाचन गरी नानीहरूलाई समर्पित सिर्जनाबाट मैझारो गरे पहाडीले आफ्नो सुमधुर वाचनको । आफू किनारमा बसेरै रमाउने र सिर्जनामै व्यस्त रहने खुलासा पनि गरे उनले । जन्मथलोलाई नै कर्मथलो बनाएर अनवरत साधनामा लीन हुनु उनको वैशिष्ट्य मानिन्छ ।
कार्यक्रममा प्रकाश घायल, बद्री उप्रेती, वासुदेव ठकुरी, माधव घिमिरे ‘अटल’, राजेन्द्रमान डङ्गोल, राममाया अधिकारी ‘पानीअमला’, पार्वती अधिकारी, धरणीधर गुरागाईं, डा. सत्यराज थपलिया, तारा के. सी., द्वारिका कुइकेल, शिव आचार्य लगायत दुई दर्जन बेसी स्रष्टाहरूले आआफ्ना सिर्जना सुनाए ।
कुमार सिंखडाले क्यारिकेचर गर्दै साहित्यानुरागीहरूलाई मन्त्र मुग्ध पारे । नवोदित देखि अनुभवी र गजल,हाइकु, मुक्तक तथा गद्य एवम् पद्य विधाका कविता तथा रोचक प्रस्तुतिहरूको सङ्गम बनेको थियो कार्यक्रम ।
उत्तम विचारले साहित्यिक माहोल सिर्जना गर्दै सहजीकरण गरेको सो कार्यक्रममा आमन्त्रित अतिथिहरूको स्वागत तथा मञ्चासीन व्यक्तित्वहरुलाई खादा अर्पण अभियन्ता कृष्णकिशु न्यौपानेले गरे भने अतिथि परिचय संस्थाको तर्फबाट जीत अधिकारी र नवीनवन्धु पहाडीकी सुशील शिष्य राममाया अधिकारी ‘पानीअमला’ ले गराए ।
कार्यक्रमको विहङ्गम समीक्षा गर्दै संस्थाका संरक्षक श्रीहरि फुयाँलले कार्यक्रमको बिट मारे । आयोजकका अनुसार आगामी कार्यक्रम अर्को महिनाको चौंथो शनिबार बिहान आयोजना हुनेछ ।

