
धादिङ साउन १ । नेपाली हिन्दुहरुले आज साउनको पहिलो दिन अर्थात साउने सक्रान्ति पर्व मनाउँदै छन् ।
मानो खाई मुरी उव्जाउने कथन अनुसार धान रोपाईको काम सकिएको दिनका रुपमा आज साउने सक्रान्ति पर्व मनाउने प्रचलन छ ।
मौषम परिवर्तका कारण रोपाई मध्यतिर रहेता पनि पौराणिक चलन अनुसार साउन १ लाई रोपाईको काम सकिएको दिनका रुपमा मनाउने चलन रहि आएको छ ।
आजको दिन असारे वर्षात, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन पनि छ । फलफूल, नैवेद्य चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वासका साथ कुकुडाइनो । भलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनीजस्ता औषधीजन्य बनस्पतिसमेत बालेर आ९आफ्ना घर आँगनबाट चारैदिशामा अगुल्टो फालेर लुतो फाल्ने गरिन्छ ।
लुतो फाल्दा घर भित्र दूषित कीटाणु प्रवेश नगरुन् भन्नाका लागि नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने र केहीबेर घरको ढोकासमेत बन्द गर्ने प्रचलन छ । भोलीपल्ट खेतबारीमा पसे राँक लाग्छ भन्ने जनविश्वासअनुरुप आज खेतबारीको काम पनि गरिँदैन ।
यस वर्षको साउन महिनामा पाँचओटा सोमबार पनि परेकोले पुत्र नभएकालाई पुत्र प्राप्ति हुने, निर्धनलाई धन प्राप्ति हुने र अविद्यालाई विद्या प्राप्त हुने विश्वासअनुरुप व्रत आरम्भ गरी शिवको पूजा आराधना गर्ने प्रचलन रहिआएको छ ।
विवाहीत महिलाहरु साउन महिनाभर सौभाग्यको प्रतीक हरियो चुरा र बस्त्र पहिरिने र साउन महिनाभर प्रत्येक सोमबार व्रत बसी शिवको पूजा आराधना गर्दछन् ।

