शब्द रहर अभियानको ५०औं शृङ्खलामा गजलकार सुमित्रा सुमी

Avatar photo
Dhadingpost
असार २८, २०७६

धादिङ असार २८ । प्रत्येक महिनाको चौंथो शनिबारलाई शब्द रहर बारका रुपमा मनाउँदै आएको शब्दरहर साहित्य अभियानले आफ्नो ५० औं अङ्क सम्पन्न गरेको छ ।

नुवाकोट जिल्लाकी सक्रिय गजलकार एवं कवि सुमित्रा सुमीलाई अतिथि कविका रूपमा आफ्नो मञ्चमा उभ्याउँदै शब्दरहर साहित्य अभियानले ५० औं अङ्क सम्पन्न गरेको हो ।

हरेक शृङ्खलामा अतिथि सर्जक केवल मोफसलमा रही सिर्जना कर्ममा अविराम समर्पित व्यक्तित्वलाई मात्र बनाउने वैशिष्ट्य कायम गरेको संस्थाका अध्यक्ष जीत अधिकारीले धादिङपोष्टलाई बताए ।

५० औं शृङ्खलाको दैलो उघार्दै आमाको सम्झनामा सुमी यसरी गुञ्जिइन्-

आमा हुन् प्रेमकी खानी, आमा हुन् सत्य सुन्दरी
आमाकै ममताबाट चुलिन्छ अमरापुरी ।

देऊ आशिष ए १ आमा देशकै निम्ति मर्दछु
नझार आँसु ती तिम्रा मुटुमा स्नेह भर्दछु ।

सुमीका ‘एक्लो कुसुम’, ‘नदेखिएका स्वप्नहरू’ एकल कृतिहरू तथा गजल यात्रा, नुवाकोटको गजलमाला, कविता यात्रामा नुवाकोट, वागमतीका नारी लहरहरू, हाँस्छु भन्थेँ जिन्दगीमा रूवाउने प्यार भयो लगायत संयुक्त कृतिहरू प्रकाशित भइसकेका छन् ।

साहित्य सङ्गम नुवाकोटकी अध्यक्ष सुमी राष्ट्रिय गौरव,काव्यघर, हाम्रो मझेरी जस्ता साहित्य सम्मान लगायत पल्लव साहित्य सम्मान, क्रान्तिधरा मेरठ साहित्य सम्मान गरी आधा दर्जन बढी साहित्य सम्मानबाट विभूषित भइसकेकी छिन् ।

सो कार्यक्रममा शम्भु गजुरेल, वासुदेव ठकुरी, विनोद खत्री, नरेश खड्का, घनश्याम मुडभरी, एलिसा एकलास,यात्री प्रकाश पाण्डे, गीता पुडासैनी, ॠषिराम पाण्डेय,डेभिड ढकाल, कृष्णदेव रिमाल, उत्तम विचार, गङ्गा आचार्य, धरणीधर गुरागाईं, लव खड्का , उदास कार्की, भैरवी भूगोल, जीत अधिकारीलगायत २ दर्जन स्रष्टाहरूले आआफ्ना सिर्जना सुनाए ।

कार्यक्रममा बोल्दै अतिथि एवं मूर्धन्य साहित्यकार श्रीहरि फुयाँलले सुमित्रा सुमीको व्यक्तित्व बारे प्रकाश पारे । उक्त कार्यक्रममा सुमी सम्पूर्ण स्रष्टालाई अभियन्ता माधव घिमिरे ‘अटल’ ले स्वागत गरे भने उत्तम विचारले कार्यक्रमको सहजीकरण गरे । अभियानकी उपाध्यक्ष भैरवी भूगोलले अर्को कार्यक्रम आगामी श्रावणको चौंथो शनिबार हास्य व्यङ्ग्यात्मक रचना सहित आयोजना हुने जानकारी दिइन् ।