ट्रम्प–किम शिखर वार्ताको उच्चस्तरीय तयारी

Avatar photo
Dhadingpost
जेष्ठ १५, २०७५

एजेन्सी, जेठ १५ । आगामी १२ जुनमा हुने भनिएको उत्तर कोरियासँगको शिखर वार्तालाई सार्थक बनाउन अमेरिकी अधिकारीहरूले उच्चस्तरीय थालेका छ ।

वार्ता स्थगित भएको हल्ला चिर्दै संयुक्त एजेन्डा तय गर्न दुवै देशका अधिकारीहरूले छलफल थालेका हुन् । प्राविधिक तथा कूटनीतिज्ञहरूको टोली वार्ताको तयारी गर्न उत्तर कोरिया भ्रमणमा गएको जानकारी आइतबार अमेरिकाले दिएको छ ।

शिखर वार्ताअघि सुङ किमको नेतृत्वमा रहेको अमेरिकी कूटनीतिक टोलीले उत्तर कोरियासँग आणविक हतियार कार्यक्रम अन्त्य गर्ने विषयमा विस्तृत प्रतिबद्धतासहितको योजना खोजिरहेको छ ।

कोरियाली वार्ता कोसेढुंगा

उक्त वार्तामा उत्तरका नेता किमले आफू अमेरिकासँग जुनसुकै समय र स्थानमा पनि वार्ता गर्न तयार रहेको जानकारी गराएका थिए । उक्त कुराको जानकारी दक्षिण कोरियाका राष्ट्रपतिको कार्यालयमार्फत अमेरिकालाई दिइएको थियो । त्यसपछि निर्धारित मितिमै वार्ता गर्न अमेरिका तयार भयो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत बिहीबार एकतर्फी रूपमा वार्ता स्थगित भएको घोषणा गरेका थिए । त्यसयता अमेरिकाले सिंगापुर वार्तामा नबस्ने भन्दै उत्तरलाई पत्र लेखेको समाचार सार्वजनिक भएको थियो । तर, बिग्रँदो सम्बन्धलाई सुधार्न दक्षिण कोरियाले विशेष पहल ग¥यो ।
दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन र उत्तरका नेता किम जोङ उनबीच शनिबार सीमा क्षेत्रमा रहेको गाउँ पानमुनजोममा भेट भएपछि शिखर वार्ताले फेरि जीवन्तता पाएको हो ।