
एजेन्सी, जेठ १४ । पाकिस्तानमा २५ जुलाईमा आमनिर्वाचन हुने भएको छ । राष्ट्रपति ममनुन हुसेनले जुलाई २५मा निर्वाचन मिति तोकेका पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
वर्तमान सरकारको कार्यकाल यही मे ३१ सम्म भएकाले नयाँ सदस्य चयनका लागि निर्वाचन हुन लागेको हो । निर्वाचन आयोगले आमनिर्वाचन गराउन आयोग पूर्ण रूपमा तयार रहेको जनाएको छ । राजनीतिक दलहरूले पनि निर्वाचनको प्रचारप्रसार सुरु गरेका छन् ।
आमनिर्वाचन तोकिएकै दिन चार प्रान्तका प्रान्तीय सांसदका लागि पनि चुनाव तय भएको अधिकारीहरूले जनाएका छन् ।
पूर्वक्रिकेटर तथा विपक्षी राजनीतिज्ञ इमरान खानले आगामी आमनिर्वाचनमा आफ्नो पार्टी विजयी हुने विश्वास व्यक्त गरेका छन् ।
