
धादिङ । केही दिनयता सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन मिडियामा धादिङका नेकपा केन्द्रीय सदस्य कुमार पाण्डे र डा. सिता ढुङ्गाना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेको भन्ने समाचारहरू सार्वजनिक भइरहेका छन्।
यस विषयमा प्रतिक्रिया लिन डा. सिता ढुङ्गानासँग सम्पर्क गर्दा उनले, “एमाले निकट केही अनलाइनले यस्तो समाचार लेखेको देखेकी छु, अहिले बोल्ने समय आएको छैन, यसबारे रास्वपाका नेताहरूसँग नै बुझ्न आग्रह गर्छु” भन्दै प्रतिक्रिया दिन अस्वीकार गरिन्।
दुई महिना अघि नै रास्वपाको सदस्यता लिएको खुलासा
रास्वपा स्रोतका अनुसार नेकपा केन्द्रीय सदस्यहरु कुमार पाण्डे, डा. सिता ढुङ्गाना र नवराज अर्यालले दुई महिना अघिनै रास्वपाको औपचारिक सदस्यता लिइसकेका छन्। पाण्डे धादिङ क्षेत्र नम्बर–१ बाट प्रत्यक्षतर्फका सम्भावित उम्मेदवारसमेत रहेको स्रोतको दाबी छ। यद्यपि उम्मेदवारको टिकट कसलाई दिने भन्ने विषयमा पार्टीभित्र अन्तिम निर्णय भइसकेको छैन।
