
धादिङ ।
धादिङ जिल्ला खेलकुद विकास समितिले आर्थिक वर्ष २०८२/०८३ का लागि जिल्लाका विभिन्न खेल विधामा स्वयंसेवक प्रशिक्षक (Volunteer Coach) का रूपमा सूचीकृत हुन इच्छुक खेलकर्मीहरूबाट आवेदन आह्वान गरेको छ।
प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश अन्तर्गतको धादिङ जिल्ला खेलकुद विकास समिति ले आवेदन आह्वान गरेको हो। विभिन्न खेल विधामा स्वयंसेवक प्रशिक्षक सूचीकृत गर्ने सम्बन्धी सूचना प्रकाशन गरिएको हो।
समितिका अनुसार कराँते, उसु, एथलेटिक्स, तेक्वान्दो, भलिबल, फुटबल, बक्सिङ, टेबल टेनिस, नेटबल, ब्याडमिन्टन, फुलकन्ट्याक्ट कराँते तथा आई.एफ. तेक्वान्दो लगायतका खेल विधामा प्रशिक्षक आवश्यक रहेको छ।
आवेदक नेपाली नागरिक हुनुपर्ने, सम्बन्धित खेलको तालिम प्राप्त गरेको प्रमाणपत्र तथा अनुभव रहेको हुनुपर्ने योग्यता तोकिएको छ। साथै शैक्षिक योग्यता, तालिम प्रमाणपत्र, कार्य अनुभव र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गरेको भए सो सम्बन्धी कागजातको प्रतिलिपि आवेदनसाथ संलग्न गर्नुपर्नेछ।
स्वयंसेवक प्रशिक्षक छनोट, सञ्चालन तथा सेवा सर्तहरू स्वयंसेवक प्रशिक्षक सञ्चालन कार्यविधि, २०८२ अनुसार हुने जनाइएको छ। आवेदन फाराम प्रदेश खेलकुद विकास परिषद्को वेबसाइट तथा सम्बन्धित जिल्ला खेलकुद विकास समितिबाट प्राप्त गर्न सकिनेछ।
