
धादिङ । नेकपा एमालेले प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक तर्फ निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा धादिङ जिल्लाबाट दुई जनाको नाम समावेश भएको छ।
बन्द सूचीअनुसार नेकपा एमालेको तर्फबाट केन्द्रीय लेखा आयोगका अध्यक्ष पुष्पराज कंडेल र गंगादेवी श्रेष्ठ समानुपातिक सूचीमा परेका हुन्।
एमाले धादिङले समानुपातिक तर्फ जानुका सिंखडालाई केन्द्रमा सिफारिस गरेको भए पनि पार्टी केन्द्रले उनलाई सूचीमा समावेश नगरी गंगादेवी श्रेष्ठलाई समानुपातिक उम्मेदवारका रूपमा राखेको पाइएको छ।
गंगादेवी श्रेष्ठको राजनीतिक यात्रा
गंगादेवी श्रेष्ठ एमालेकी अनुभवी महिला नेतृ हुन्। उनले २०५५ सालमा पार्टीको इलाका कमिटी सदस्य र २०५६ सालमा निर्वाचन क्षेत्र नम्बर–२ को क्षेत्रीय कमिटी सदस्यका रूपमा निर्वाचित हुँदै सक्रिय राजनीतिक यात्रा सुरु गरेकी हुन्।
२०५५ सालमा गठन भएको महिला सुरक्षा दबाव समूहको धादिङ जिल्ला सचिवको जिम्मेवारी समेत उनले सम्हालेकी थिइन्।
त्यसपछि २०६५ सालमा अखिल नेपाल महिला संघ, धादिङ जिल्ला संयोजक बनेर महिला संगठन सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गरिन्।
श्रेष्ठ २०७५ सालमा अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य बनेकी हुन्। हाल उनी पार्टी सचिवालय सदस्य तथा नेकपा एमाले वागमती प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा छिन्।
यसअघि, २०७४ सालको स्थानीय तह निर्वाचनमा नीलकण्ठ नगरपालिकाको उपमेयर पदमा प्रत्यासी बनेर उनले चुनावी प्रतिस्पर्धा समेत गरिसकेकी छन्।
एमालेले समानुपातिक सूचीमार्फत अनुभवी नेतृत्व र महिला प्रतिनिधित्वलाई प्राथमिकता दिएको नेताहरूको भनाइ छ।
