
धादिङ । नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रिया धादिङमा तीव्र रूपमा अघि बढिरहेको छ। जिल्लाबाट १८ प्रतिनिधि चयन गर्न ९३ जनाले उम्मेदवारी दिएपछि प्रतिस्पर्धा तीव्र भएको छ। प्रतिनिधि छनोटको अन्तिम टुंगो शनिबार मतदान प्रक्रियाबाट लगाइने एमाले धादिङले जनाएको छ।
बिहीबार धादिङ क्षेत्र नं. १ मा उम्मेदवारी दर्ता सम्पन्न गरिएको थियो। सो क्षेत्रमा ३ महिला प्रतिनिधिका लागि १० जना, १ युवा कोटाका लागि १३ जना तथा ६ खुला कोटाका लागि २४ जनाले नाम दर्ता गराएका छन्।
यस्तै, क्षेत्र नं. २ मा ४ खुला कोटाका लागि २३ जना, २ महिला कोटाका लागि ८ जना र १ युवा कोटाका लागि १२ जनाले उम्मेदवारी दिएका छन्।
जिल्ला–भरिबाट १ दलित प्रतिनिधिका लागि ३ जनाले नाम दर्ता गराएका छन्।
कुल १८ प्रतिनिधि चयनका लागि दर्ता भएको ९३ उम्मेदवारीमध्येबाट अन्तिम छनोट मतदानमार्फत वा आपसी सहमतिबाट शनिबारसम्म गर्ने तयारी एमाले धादिङले गरेको छ।
