
धादिङ । नीलकण्ठ–१४ स्थित कुपा खेलमैदानमा जारी पाँचौँ कुपा खुला नकआउट सेभेन–ए–साइड फुटबल प्रतियोगिता तथा खुला मिनी म्याराथन भोलि, असोज २१ गते, सम्पन्न हुँदैछ ।
कुपा युवा समाजको आयोजनामा हुँदै आएको यस प्रतियोगिताले स्थानीय स्तरमा खेलप्रतिको रुचि र उत्साह थप बढाएको छ। फुटबलतर्फ ३२ टोलीले सहभागिता जनाएका छन्, जसमा भोलि सेमिफाइनल र रोमाञ्चक फाइनल खेलहरू हुने तय भएको छ।
प्रतियोगितामा विजेता टिमले १ लाख १०० रुपैयाँ, आकर्षक ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ। यस्तै, दोस्रो हुने टिमले ५० हजार १०० रुपैयाँ, र सेमिफाइनलमा रोकिएका दुई टिमले जनही १५–१५ हजार रुपैयाँ पुरस्कार स्वरूप पाउनेछन्।
त्यसैगरी, भोलि नै आयोजना हुने ५ किलोमिटर खुला मिनी म्याराथनमा विजेताले २३ हजार रुपैयाँ र दोस्रो हुनेले ११ हजार ५०० रुपैयाँ प्राप्त गर्ने आयोजक समितिले जनाएको छ।
स्थानीय युवाहरूको सक्रिय सहभागिता र खेलप्रतिको जोशका कारण कुपा कप अहिले धादिङको चर्चित खेल उत्सवका रूपमा स्थापित हुँदै गएको छ।
यस अघिका संस्करणहरूमा को विजयी भएका थिए?
- चौंथो कुपा कप: फुटबल तर्फ मेन्दोफोले युबा क्लब र दौड तर्फ बैतडीका नरेन्द्र रावत प्रथम
- तेस्रो कुपा कप: फुटबल तर्फ पुरानो पानी नुवाकोट र दौड तर्फ बैतडीका नरेन्द्र रावत प्रथम
- दोस्रो कुपा कप: फुटबल तर्फ थर्पु युवा क्लब नेत्रावती डवजोङ प्रथम
- पहिलो कुपा कप: फुटबल तर्फ भङ्गेरी युवा क्लब धुवाकोट प्रथम















