
काठमाडौं । आज विश्वभर “विश्व मुस्कान दिवस” मनाइँदैछ । प्रत्येक वर्ष अक्टोबर महिनाको पहिलो शुक्रबार यो दिवस मनाइन्छ । मुस्कानलाई मानव जीवनको सकारात्मक ऊर्जा र आत्मीयताको प्रतीक मानिने भएकाले यसको महत्व झन् बढ्दै गएको छ ।
यो दिवस सन् १९९९ देखि अमेरिकाको म्यासाचुसेट्स (Worcester, Massachusetts) बाट मनाउन थालिएको हो । विश्व मुस्कान दिवसको सुरुआत “स्माइली फेस” (😊) चित्रका स्रष्टा हार्वी बल ले गरेका थिए । उनका अनुसार मुस्कानले मानिसबीच आत्मीयता, सद्भाव र मानवताको सन्देश फैलाउने भएकाले वर्षमा कम्तीमा एक दिन विश्वभर मुस्कान बाँड्नुपर्छ भन्ने उद्देश्य राखिएको थियो ।
मुस्कान दिवस मनाउनुको मुख्य कारण भनेको :
- मानिसलाई दैनिक जीवनमा सकारात्मक सोच र ऊर्जा बढाउने,
- एक–अर्कासँग आत्मीय सम्बन्ध र सद्भाव सुदृढ पार्ने,
- मुस्कानजस्तै सानो व्यवहारले पनि ठूलो खुशी र आत्मविश्वास फैलाउन सक्ने सन्देश दिनु हो ।
आजका दिन विभिन्न देशहरूमा सामाजिक संस्थाहरूले “स्माइल क्याम्पेन” सञ्चालन गर्ने, बिरामी, वृद्धाश्रम तथा बालबालिकामाझ कार्यक्रम गर्ने परम्परा छ । नेपालमा पनि सामाजिक सञ्जालमार्फत मुस्कान बाँड्ने अभियान चलाइएको छ ।















