कृषि मन्त्री रामनाथ अधिकारीद्वारा राजीनामा

Avatar photo
Dhadingpost
भदौ २४, २०८२

धादिङ । नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य तथा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । उनले २०८१ असार ३१ गते मन्त्रिपरिषद्मा समावेश भई मन्त्री बनेका थिए ।

मन्त्री अधिकारीले भाद्र २३ गते काठमाडौंसहित देशभर भएको युवापुस्ताको आन्दोलनमा सरकारले गरेको दमन, गोली प्रहार र हत्या–हिंसाको विरोधस्वरूप राजीनामा दिएको बताएका छन् । उनले लोकतन्त्रमा शान्तिपूर्ण विरोध नागरिकको अधिकार भएको उल्लेख गर्दै त्यस्तो अधिकारमाथि भएको बल प्रयोगले देश तानाशाहीतर्फ मोडिएको आशंका व्यक्त गरे ।

“स–साना कलिला छोराछोरीहरूको हत्या र दमन पश्चात देशलाई नै शोकाकुल पारेर सरकारमा बसिरहन मेरो नैतिकता र मेरो दलले दिएको शिक्षाविरुद्ध हुने भएकाले मैले पदबाट राजीनामा दिएको छु,” मन्त्री अधिकारीले विज्ञप्तिमार्फत बताएका छन् ।

उनले पटक–पटक आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना गर्ने र असहिष्णुताका कारण हिंसा गर्ने प्रवृत्तिबाट मुलुकले चाँडै मुक्त हुनुपर्ने आवश्यकता औंल्याए । “लोकतन्त्रमा जनताको जीवन र अभिव्यक्ति स्वतन्त्रताभन्दा माथि केही हुँदैन,” भन्दै उनले जनतालाई नै सर्वोच्च मान्न नेता–कार्यकर्तालाई आग्रह गरेका छन् ।

अधिकारी धादिङ प्रतिनिधिसभा क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए।