
घरबाट निस्कने बित्तिकै क्रमशः एमाले काङ्ग्रेस माओवादी राजावादी स्वतन्त्र सहितका समर्थक भेटिन्छन । आधुनिक सभ्य समाजमा सामाजिक भएर बाच्ने हो भने सभ्य भएर सन्चो बिसन्चो आरम कुसल सोध्नै पर्यो, घरमा आएर सामाजिक संजालमा बेस्सरी गाली गर्दैमा कतै राजनीति सुध्रिए झै लाग्दैन ।
सत्ताधारी एमाले काङ्ग्रेस लगायत र प्रतीपक्ष माओवादी राजावादी लगायतका नेताले मौका पाए सम्म भ्रष्टाचार गरेकै हुन । त्यो भन्दैमा राजनीति गर्ने सबै नेता भ्रष्टाचार गर्छन भन्ने हैन । देश र जनता प्रती अथाहा माया गर्ने नेपाली नागरिकको कमि छैन । पुर्णिमा र औशिको पक्ष भए झै सबै राजनीतिक दलमा पनि भ्रष्ट मानसिकता भएका ब्यक्तिले राजनीतिको खोल ओढेका छन । देश र जनतालाई धोका दिने जो कोहि नेता अपराधी हुन् ।
आफ्नो र अर्को दलको भन्ने बहानामा कोहि भ्रष्टाचारीले जनताको रगत चुसेको हेर्न सकिन्न । यस्ता भ्रष्टाचारीहरु छानबिन गरि राज्यले निर्मम भएर कार्वाही गर्दैन भने गणतन्त्र र राजतन्त्रका नाममा भएका यी सबै गतिविधि वाईयात हुन । सबैलाई थाहा छ यो शिक्षित समाजमा सबै जनता सचेत छन । केही समय कसैले भ्रम छर्न सक्ला तर देशमा अस्थिरता मौलाउने, शिक्षित युवा पलायनलाई बढावा दिने, आर्थिक रुपमा राज्यलाई जर्जर पार्ने गतिविधिको मुल कारण देशमा राजनीतिक उदन्डता हो भन्ने कुरा बुझ्न सबैले सक्छन ।
टेक्नोलोजीको समय हो यो । नेता ज्यु लाई भन्न मन लागेको कुरा जति एउटा कोठामा बसेर भनि रहे त आवश्यक पर्ने जनताले तपाईंको बिचार घर मै बसेर सुनिहाल्छ्न नि। किन जुधाउनु पर्यो नेपाली जनताको छोराछोरीलाई शहर बजारमा ?
भत्ता लिएर बाध्यताले आन्दोलनमा आएका गरिबका छोराछोरी कुनै पार्टीको शक्ति हुनै सक्दैन कि अस्ति भरखरै भारत र पाकिस्तानको युद्ध झै आफ्नो पार्टीको शक्ति देखाउने त हैन होला ! थाहा छ गाउँ घरमा युवा भेटिन्नन खेत वारि बाझो बढ्दो छ, व्यावसाय ढप्प हुँदै गएको छ पुरानो उद्योग बेची खाए नयाँ खुल्न सकेको छैन ।
गाउँ घरमा नयाँ बिचार सोच योजना जोश जागर भएका नागरिक नै भेटिन्नन । ठूलो भनिएको नेताले पनि यहि भाषण गर्छन तर गाउँ मै बसेर युवालाई स्वदेश मै राख्न एउटा योजनाको सल्लाह दिने नेता गाउँमा हुदैन । शहर बजारमा बसेर योजना बनाइ रहनेहरु कहिल्यै गाउँ फर्केर काम गर्ने वातावरण तयार गर्दैनन जो भेट्यो कुरा मात्रको भण्डार झै लाग्छन । सबैले सबैलाई कुरा मात्र सुनाउन सक्ने नेता भएर र सडकमा युवाको दुरुपयोग गरेर देश बन्दैन । युवाले उर्जा सडकमै पछारेर जीवन बिताउन मिल्दैन र कुराले मात्र चिउरा नभिजे पछि युवा पलायन हुनु स्वभाविक नै हो । त्यही बाध्यतामा पनि दशैमा भेडा च्याङ्ग्रा बेचे झै बेचिनु पर्दाको मर्म युवाहरूलाई सहन गर्हो होला ।
“युवालाई नेतृत्व गर्ने फलानो पार्टीको नेता भरपर्दो छ र समस्या परेको बेला हाम्रो सहयोगी हो” भन्ने बिश्वास दिलाई आफ्नो पार्टीलाई भोत हाल्ने वातावरण बनाउन छाडेर हुल का हुल जनता ओहोरदोहोर गरेर देखाउदैमा अबको जनताले पत्याउने वाला छैन । यो गणतन्त्र हो लोकतन्त्र र प्रजातन्त्र पनि यहि हो । जनताको मत जितेर सत्तामा जान सक्ने र क्षमता अनुसार देश र समाज परिवर्तन गरेर स्वर्णिम अक्षरमा आफ्नो नाम लेखाउन सक्ने यहि व्यबस्थाले गरेको छ । यो सुनौलो मौका हुदा हुँदै अक्षमताको कारण सत्ता स्वादमा लिप्त भैरहदा केही सुधार नगरेर कालो धन थुपारेर छिटोछिटो धनी बन्ने मार्गमा लाग्नेहरु जनताले देखे चिनेकै छन ।
गणतन्त्रको जग जनता हुन, गणतन्त्र असफल पार्न जनतालाई अन्याय गर्ने र राजनीतिमा किचलो गरि बिदेशीको इशारामा अस्थिर गतिविधि गर्नेलाई चिन्ने नव बौद्धिक समुदाय अबको राष्ट्रनिर्माणका आधार हुन । त्यस्तो भावी पुस्ताको बौद्धिक क्षमतालाई मर्न दिनु हुदैन । कुनै तन्त्रको रटान नलगाई बिगतका नकारात्मक भुमिकामा रहेका नेताको दुखद अन्त्य गर्दै गाउँ गाउँबाट सत्ता समाल्न बौद्धिक पुस्ता तयार हुनुपर्छ जसले आधुनिक टेक्नोलोजीलाई बुझेको होस र आगामी नयाँ पुस्ताको भावनाअनुरूप बिकासको मोडेल तयार गर्न सकोस ।