वास्तविक मास्टर त्यो हो जसले आफ्नो पेशा प्रति वफादार रहेर सामाजिक उत्तरदायित्वको चौघेरा निर्माण गर्छ। यो चौघेराभित्र अभिभावककीय जिम्मेवारी बोकेका अभिभावकहरुलाई, पढ्न आउने विद्यार्थीहरुलाई, समाजमा रहेका अन्य गैर अभिभावकहरुलाई र आफ्नो तालुकदार अड्डालाई बराबर रूपमा व्यवस्थित गर्दै आफ्ना इच्छा आकांक्षाहरुलाई समेत खुम्च्याएर फराकिलो छाती बनाई शैक्षिक उन्नयनमा लागि परेका हुन्छन् ।
अब यति भन्दै गर्दा विद्यार्थीका लागि असल बाटो देखाउने-अभिभावक अनि अभिभावकका लागि उनीहरूको विद्यार्थीको-साथी भइदिने गैर अभिभावकका लागि उनीहरूको घरायसी जीवनमा पर्न आउने कुनै पनि समस्याहरु समाधान गरिदिने सहजकर्ता(माडसाहब) भइदिने र तालुकदार अड्डाका लागि उसको कार्यसम्पादन गर्न सहयोग पुर्याउने एक प्रकारको कारिन्दा भइदिने भन्ने कुरा नै विशेष छ।
अब आयो कुरा शिक्षकको विद्यालय घण्टाको विषय र हालसालै प्रचलित विद्युतीय हाजिरी मेसिन सँग सम्बन्धित कुरा। यो कुरा यसर्थ पनि आयो कि शिक्षक कदापि एउटा मेसिन होइन विद्यालयको भौतिक परिवेश अनुसार उसले सम्पादन गर्ने कुनै पनि क्रियाकलाप विद्युतीय हाजिरी मेसिन भन्दा अघि पनि हुन्छन् भन्ने जान्न सुन्न वा हेर्न तालुकदार अड्डालाई समय पुगेन कि? नत्र भने विद्यालयको भौतिक परिवेश कस्तो छ शिक्षक आउँदाआउँदै पहिले नै हाजिरी मेसिनमा पुग्न भ्याउँछन् भ्याउँदैनन् ??त्यसको पनि अलिकति त पक्कै जानकारी पक्कै तालुकदार अड्डालाई होला ।
एउटा शिक्षक विद्यालय जाँदै गर्दा हिजो विद्यालयमा घटेको घटना वा भएको कार्यक्रम वा संवेगात्मक विकासका कारणले नानी बाबुहरूको जिज्ञासा र समस्याका विषयमा को वार्तालाप विद्यालयको प्राङ्गणबाट पाँच मिनेट पर हुने त्यो हाजिरी मेसिनले जान्छ कि जान्दैन ? भौगोलिक विकटताका बाटोहरूमा सुस्ताउँदै पुगेका शिक्षकहरू स्कुलको अफिस पुग्नुअघि नै असिनपसिन भएको अनुहार पखाल्नका लागि दुई मिनेट धारोमा पालो कुर्दै गर्दा शिक्षकहरुले मायाले सद्भावले मनोभावनाले बालबालिकाहरु पनि सोही अवस्थामा उपस्थित विद्यार्थीलाई दिएको पालोले पनि शिक्षक हाजिर मेसिनभन्दा दुई मिनेट पर रहेको तर समयमा आइ नपुगेको देख्छ देख्दैन ? परिवेशले शिक्षक विद्यालयको ग्राउन्डमा १० बजे अगाबै पुगिसकेको छ ।
कुनै विद्यार्थी ग्राउन्डमा लड्यो । उसको शरीरमा चोटपटक लाग्यो । अब त्यो चोटपटक शिक्षकहरुले प्राथमिक उपचार गर्दै गरेको समय त्यो हाजिरी मेसिनले देख्छ कि देख्दैन ? बालबालिकाहरू विद्यालयमा उपस्थित हुँदै गर्दा दुविधा बढेर उनीहरूबीच एक प्रकारको असामान्जस्यता उत्पन्न भइरहेको विषयलाई त्यो द्वन्द व्यवस्थापन गर्न शिक्षकले भूमिका निर्वाह गर्दै गर्दा हाजिरी मेसिनमा पुग्न १० मिनेट ढिलो भएको त्यो हाजिरी मेसिनले देख्छ देख्दैन ?
व्यावहारिकताका यी सबै पाटोहरू मैले करिब जीवनको पूर्वार्धमा १५ वर्ष शैक्षिक पेशामा जोडिन पाएकोले मसँग कैयन अनुभवहरु छन् जुन हाजिरी मेसिन भन्दा पर एउटा शिक्षकले उसको दायित्व निर्वाह गरिरहेको हुन्छ, भूमिका निर्वाह गरिरहेको हुन्छ भन्ने तथ्यहरू प्रशस्त पेश गर्न सक्छु । यो विषय साँच्चै हो त्यो हाजिरी मेसिनले देख्दैन । त्यहाँ त्यो शिक्षकको कार्यसम्पादन देख्न तिनीहरूको एउटा नेता तोकेर राखिएको छ । जुन नेता म पनि जीवनको १३ वर्ष भएको थिए । हो त्यो द्वितीय हाजिरी मेसिन भन्दा त्यो नेता वा त्यो नेतृत्वको आँखा अर्थात् प्रधानाध्यापकले गरेको कार्यसम्पादन सबैभन्दा ठूलो हो । होला कुनै संस्थाले विद्युतीय हाजिरी मेसिन दिएर वा नगरपालिकाले आफैले हाजिरी मेसिन ल्याएर प्रविधिको सदुपयोग सुरुवात गरेको होला तर शिक्षकहरूको मनोभावनामा ठेस पुग्नेगरी आत्मसम्मानमा चोट पुग्ने गरी सामाजिक सञ्जालमा प्रसारण गर्न हुन्न ।
माथिका घटनाहरू त प्रतिनिधि घटनाहरू मात्र हुन् । विद्यालय जीवनमा शिक्षक र विद्यार्थीले यस्ता कैयन व्यावहारिक घटनाहरू भोग्न र सम्पादन गर्नुपरेको हुन्छ । अब कोही एक सनकलाललाई हाजिरी मेसिन मा औठा जोतेको मात्रै विद्यालयमा उपस्थित भएको समय हो वा कार्यसम्पादन गरेको समय हो भन्ने लाग्नु सर्वथा गलत हुन्छ । यद्यपि केही प्रतिनिधि शिक्षकहरु नियोजित रुपमा ढिला आएका पनि हुन सक्छन् । तथापि त्यसको निराकरणको उपाय फेसबुक मार्फत यसरी शिक्षकहरुलाई अपमान र बेइज्जत गर्नु नगर शिक्षा शाखाको अक्षम्य गलती हो ।
हालसालै फेसबुक मार्फत सार्वजनिक भएको निलकण्ठ नगरपालिकाको यो बेइज्जती पत्र लाई लिएर सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरू नबोलेको देख्दा गुलामीको अर्को पराकाष्ठा छताछुल्ल भइरहेको देख्छु । नगरपालिका शिक्षा शाखाले गरेको यो कदम सबै शैक्षिक व्यक्तित्वहरूले एकपटक मनन गर्न जरुरी छ । नगर शिक्षा शाखाले कार्यसम्पादन गरेको देखाउन यो किसिमको ढर्रा र यो किसिमको कार्यक्रम गर्नु हुन्न । उसले सम्पादन गर्ने धेरै कामहरू छन् । शिक्षकहरूलाई निरन्तरको तालिम तथा पुनर्ताजगी तालिमहरु मार्फत प्रविधिसँग जोड्दै अघि बढाउने अरु विविध कार्यक्रमहरु आयोजना गर्दै थप हर्षका साथ नयाँ जोश र जाँगर ल्याउनेगरी सम्मान र आत्मसम्मानको उजागर गर्दै मलजल गर्दै अघि लैजानुपर्नेमा यस किसिमको मानवीय संवेदनाहीन सूचना सम्प्रेषण गर्नु नगर शिक्षा शाखाको गम्भीर त्रुटि हो भन्दा अतिसयुक्ति नहोला । यसरी कार्यसम्पादन गरिरहेका शिक्षकहरूले आफ्नो दैनिकी फेहरिस्त सप्रमाण उतारेर मुद्दा मामिलामा गए भने यो विषय के हुन्छ? के यसरी सम्भव छ नगरपालिकाको शैक्षिक उन्नयन!