उत्तरको हिमालय पर्वतदेखि दक्षिणको महाभारत सम्म फैलिएको नेपालको एकमात्र जिल्लाको रुपमा परिचित धादिङ जिल्ला बागमती प्रदेशमा सअवस्थित छ । २७८ सालको जनगणना अनुसार यहाँको कुल जनसंख्या ३२२७५१ रहेको छ । कुल १९२४।९ वर्ग कि।मी क्षेत्रफल ओगटेको र प्रसिद्ध गणेश हिमालको काखमा प्राकृतिक एवं ऐतिहासिक स्थलहरु प्रशस्त मात्रामा रहेका छन् । यस जिल्ला नदीनाला, हिमशिखरहरु, ताल, झरनाहरु, गुफाहरु, जैविक विविधता, वनजंगल र जिवजन्तुहरुका साथै धार्मिक एवं ऐतिहासिक स्थल तथा मनै लोभ्याउने मनोरम दृष्यहरुको संगम स्थलहरुको रुपमा रहेको छ । यस जिल्लाभित्र रहेका प्रमुख धार्मिक एवं पर्यटकीय स्थलहरु यस प्रकार रहेका छन् ।
सल्यानटार स्थित नृसिंह धाम
ऎतिहासिक पुरातात्त्विक पौराणिक तथा पर्यटकिय रूपमा महत्वपूर्ण मानिएको सल्यानटार स्थित दुई पवित्र नदी नेत्रावती र बुढीगण्डकीको संगम स्थलमा नृसिंह धाम रहेको छ ।
वैदिक सनातन शास्त्र अनुसार भगवान नर्सिहदेवको विभिन्न १२ पिठ मध्य यो एक पर्दछ, नृसिंह धाम जुन नेपालको एक मात्र स्थान हो । शास्त्रीय हिसावले दुई नदी नेत्रावती र बुढीगण्डकीलाई नार सिंह र ब्राह्मी भनेर स्कन्द पूराण समेत व्याख्या गरिएको छ । भक्त प्रह्लादले तपस्या गर्दा भगवान नृसिंहले जुन नदीबाट प्रकट भएर दर्शन दिनुभयो त्यो नदीको नाम नार सिंह भनेर रहन गयो र त्यो नदी नै अहिले आँखुखोला नामले चिनिन्छ ।
नेत्रावती नदी भगवान शिवजीको आँखाबाट बगेको हुन भन्ने जनविश्वास पनि छ । स्फटिक खम्बाबाट नर्सिहधाम हुँदै आगिन्चोक सम्म पुग्दा भगवान नृसिंह प्रकट भएको स्थल, हिलिका दहन भएको स्थल (आगिन्चोक), नारदमुनिले प्रह्लादलाई उपदेश दिनुभएको स्थल यहि स्थान हो । यहि स्थान मा भक्त प्रहाल्दले तपस्या गरेर नृसिंह भगवान प्रकट भै दर्शन दिएको शास्त्रमा उल्लेख गरिएको छ ।
कसरी पुग्ने नृसिंह धाम
धादिङबेसीबाट टारीबेसी हुँदै बसमा सल्यानटार सजिलै पुग्न सकिन्छ । धादिङबेसी सल्यानटारको बसको यात्रा करिव १ घण्टा ४५ मिनेको हो । धादिङ आरुघाट बसले सल्यानटार सम्म १ः४५ मिनेटमा सल्यानटार पानी ट्याङ्की पुर्याउँछ भने त्यसपछि धाम सम्म जाने म्याजिक भ्यान चड्नु पर्ने हुन्छ म्याजिक भ्यानले २५ मिनेटको यात्रामा नृसिंह धाम परिसर पुर्याउने छ ।
एशियाकै ठुलो नोहक गुफा
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङको चरौँदी बजारबाट करिब २४ किलोमिटरको दुरीमा गुफा अवस्थि छ । अहिले करिब १५ किलोमिटर, दुमपाङसम्म बाटो बनेको छ । दुमपाङबाट तीन करिब ३ घण्टाको पैदल यात्रापछि घाङवाङ भन्ने गाउँमा पुग्न सकिन्छ । घाङवाङबाट १ घण्टाको पैदल यात्रापछि गुफामा पुग्न सकिन्छ ।
पर्यटकहरूले स्थानीय पथप्रदर्शक विना गुफामा भ्रमण गर्न मिल्दैन । गाइडविना गुफामा प्रवेश गर्दा हराउने सम्भावना हुन्छ । घण्टौँसम्म घुम्दा पनि नटुङ्गिने गुफाभित्र थुप्रै मार्गहरू रहेका छन् । स्थानीय चेपाङ समुदायले पथप्रदर्शकको काम गर्दछन् । त्यसबापत केही शुल्क लिने गरेका छन् ।
गुप्तेश्वरीगुफा
गल्छी गाउँपालिकाको मुलाबारी गाउँको माथी नाङ्गो डाडामा अवस्थित गुप्तेश्वरी गुफालाई एक रमणीय स्थलको रुपमा लिन सकिन्छ । यहाबाट धादिङका विभिन्न स्थानहरुको मनोरम दृश्यहरुको अवलोकन गर्न सकिन्छ । यस गुफाभित्र थुप्रै जीवहरुको आकृतिसँग मिल्ने दृश्यहरु देख्न सकिन्छ । गाई वस्तु, मानव लगायत खेतबारीको स्वरुपहरु देख्न सकिन्छ । यसैगरी महादेवको मुर्ति आकारको साथै गाईको थुनबाट दुध बगिरहे जस्तो पनि देख्न सकिन्छ ।
गंगा जमुना
प्रसिद्ध गंगजमुना झरनाको नामबाट नामाकरण गरिएको धादिङको फुखर्कमा पर्ने गंगा जमुना एक ऐतिहासिक स्थल हो । यहाँ पहाडको उच्च स्थानमा रहेको दक्षिण मोहडा ढाँडखर्कको अत्यन्तै भिरालो जमीनको सतहबाट झन्डै २०० मी. को हाराहारीमा पर्ने गंगा र जमुना नामका दुइवटा झरना पहरावाट तल झर्दा सप्तरंगी इन्द्रेणीको एक अति आकर्षक दृश्य देख्न सकिन्छ । यहाँ देखिने त्यस किसिमको दृश्यले यहाँ त्यहीबेला आकाशबाट नै घाम पानी परिरहेको जस्तो भान हुन्छ । त्यही पहाडमा अनेकन रुप एवं आकृतिको ढुंगाले बनेका मुर्ति देख्न सकिन्छ । सोली घोप्टे पहाडको आकृतिले गंगा जमुनाको झनै आकर्षण वढाएको छ । गंगा जमुनाकै साथमा करिब २०० मी. पर पश्चिम पट्टी रहेको कुकुर धाराको आफ्नै विशेषता रहेको छ । कुकुरले टोकेको मान्छेले त्यहाँ गई नुहाएमा रोगबाट समेत मुक्ति पाइन्छ भन्ने किंवदन्ती रहेको छ ।
त्रिपूरासुन्दरी मन्दिर
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा रहेको त्रिपूरासुन्दरी मन्दिर एक धार्मिक एवं ऐतिहासिक स्थल हो । प्राकृतिक रुपले उच्च स्थानमा रहेको हुनाले यहाँबाट अनेकन मनोरम दृश्यहरु देख्न सकिन्छ । यहाँबाट दक्षिण पट्टि रहेको नागबेली आकारले बगेको आँखु नदी र समतल सुकौरा फाँट, पश्चिम तिर सल्यानटारको समथर जमिन, चारैतिर रहेका अग्ला अग्ला डाँडाहरुको हरियाली एवं मनोरम दृश्यहरु देख्न सकिन्छ । यहाँबाट उत्तर तर्फ रहेका उच्च हिम शिखरहरु, प्रशिद्ध गंगाजमुना झरना तथा अन्य प्राकृतिक दृश्यहरु देख्न सकिन्छ । त्रिपुराशु्न्दरीको सल्यानकोटमा र सल्यानबेसीमा गरी दुईबटा वटा मन्रि रहेको छ । उक्त देवीलाई मंसीर महिनामा शुभ साईत हेराएर सल्यानबेसीमा रहेको मन्दिरमा झारिन्छ उक्त दिनमा भक्तजनहरुको ठुलो घुईंचोका साथ मेला लाग्ने गर्छ । जसलाई न्वागी जात्रा पनि भनिन्छ । सल्यानबेसीमा रहेको मन्दिरबाट फागुन महिनामा दिन हेराएर नै सल्यानकोट मन्दिरमा लगिन्छ । उक्त दिनमा भने त्यति ठुलो मेला लाग्दैन । सल्यानकोट मन्दीरमा भने चैते दशैं र दशैंको अष्टमी तथा नवमीमा असंख्य वलीका साथ मेला लाग्दछ ।
मण्डली माई
ढोला मण्डलीमाईको उत्पतिको किंवदन्ती विचित्र किसिमको छ। ज्वालामुखी गाउँपालिकामा पर्ने ढोला मण्डलीमाईका पूजारीका भनाइ अनुसार ढोलाकी मण्डलीमाईको उत्पति भएको समय लगभग १८५० सालतिर हो । त्यतिबेला एकजना देविदास नाम गरेको मगर हलो काट्न भनि वनमा गए। त्यहाँ सालको रुख काट्न लाग्दा बन्चरोको धार नै झ¥यो। सालको रुखमा डोब पनि लागेन। यस्तो देखेर ती मगर आश्चर्य मान्दै घरमा आए । भोलिपल्ट धार झरेको बन्चरो लिएर आरनमा गई अर्जापेर ल्याए र फेरि त्यही हिजो काट्न लागेको सालको रुख ढाल्न भनी गएर पहिलोचोटि त्यही सालको रुख काट्नेबित्तकै रुखबाट रातो रगत बग्न थालेछ। त्यो देखेर ती मगर आश्चर्यचकित हुँदै रुख काट्नै छोडेर घर गए ।
बेलुका खाना खाएर सुतेपछि राति सपनामा म मण्डली माई हु्ँ। म यही सालको रुख बसेकी छु । यो सालको रुखलाई काट्न प्रयत्न नगर्नू। गाउँ, सहर, राष्ट्र र त्यहाँका निवासी सबैलाई सङकट आइपरेको बेलामा संरक्षण गर्नेछु। यस बन्चरोको प्रहारले गर्दा म साहै दुखित छु । मेरो पिडा शान्ति र शन्तोषको लागि एकादशी,औशि र अरु अहिँसात्मक चाड पर्व बाहेक प्रत्यक मङ्गलबार मात्रै पूजा गर्नका लागि १२ वर्ष भित्रको कुमार केटो हुनुपर्छ। महिलालाई यहाँ आउन र मेरो प्रसाद खान नदिनु बाजा गाजा नाँच गान आदि खलबल नगरी एकान्त जँगलमा मेरै सालको फेदमा फलफुल, धुप, दीप, नैबेधले पुजा गरी कुमारी बाख्री ,बलि गरेर पुजा गर्नु । ,पुजापछी प्रसाद फलहरु कसैले पनि सिरमा नलगाई खानुपर्ने प्रसादहरु त्यसै जँगल परिसर भित्रै बसेरसबै भक्रहरुले भोजन गर्नु भनेर सपनामा दिएको भनाइ प्रचलित छ। देश तथा विदेश बाट आयको पूजा सरजाम पनि उसैगरी मँगलबार उसै पुजारिले पुजा गर्ने खाने प्रसादहरु त्यो जँगलबाहिर नलैजान सबै मिलेर त्यसै मण्डलि परिसरमा बसेर खानु पर्छ र खुवाउनु पर्छ । बाहिर लैजान हुदैन यस अनुसार पूजाबिधि भएमा सधैको लागि म प्रसन्न हुन्छु र भक्तहरुले चाहे अनुसार वरदान दिन्छु । भन्दै भगबति मण्डलि देवी अन्तध्र्यान भएको सपना देखेपछि सपनामा देखेको सबै कुरा आफ्ना जहानहरुलाई सुनायो । सबै मगर जातिहरु अति प्रभाबित हुदैँ गाएघर सबैतिर प्रचारप्रसार गर्दै उसै दिनदेखि लिएर मगर जातिय किशोरले मात्र बाख्राको पाठि बलि गर्ने गरी पुजा गन चलन चलिआयको छ र भक्तहरुको घुईचो लाग्छ । प्रतिवर्ष मङ्गलबार नपरे पनि जुनसुकै बार भइपनि बैसाख शुक्ल पूणिमाको दिनमा पाठि बलि गरी नित्य पुजा र प्रत्यक श्रावण महिनामा १५ गते अघिको मँगलबार बाख्री बलिदान नगरी नयाँ पोलेको मकै ,पायस फलफुल तरकारीहरु नैवेध चडाई पुजा गर्ने गरी वर्षको दूई पटक गाउको नित्य पुजा चल्दै आएको छ । कुनै बखत गाउमा आकस्मिक दुर्घटना परेमा क्षमा पूजा भनि पूज गर्ने चलन छ । नयाँ मकै मण्डलि देबिलाई नचडाई ढोला गाउका मानिसहरु खादैनन् यो परम्परा यथावत् छदैछ । पहिले दलितहµले ढोला मण्डली माईको पूजा गर्न र दर्शन गर्न पाएका थिएनन् । अहिले खुला रुखपमा मण्डलीमाईको दर्शन र पूजा गर्न पाएका छन् । २०५६ साल वैशाख १४ गतेदेखि २०६२ साल जेठ ३० गतेसम्म पुरानो परम्पराअनुसार चलेको थियो भने २०६२ जेठ ३१ गते दलित सेवा सङघका तत्कालिन अध्यक्ष गोपाल विश्वकर्माको नेतृत्वमा ५२६ जना दलितका साथ ढोला मण्डलीमाईमा पाठीहरु चढाएर आएदेखि दलितहरुले पनि खुला रुपमा पूजापाठ गर्दै आएका छन् ।
कालो दह
कालो दह एउटा प्राकृतिक पोखरी हो, जसको आफ्नै छुट्टै धार्मिक र प्राकृतिक महत्व रहेको छ । रुबिभ्यालि गाउँ पालिकाको वार्ड न। ४ हिन्दुङ गाउँबाट एक दिनको पैदल यात्रा पस्चात पुग्ने र गणेश हिमालको ठीक तलतिर रहेको कालो र सेतो नामक दुई दहहरु रहेका छन । यि दुई दहहरु नाम अनुसार कै रङ का देखिन्छन । यि दुई दह वरिपरि ज्यादै ठुलो चरन छ । अचम्मको विशेषता के छ भने कालो दहको माथिबाट कुनै चराचुरुङि या यान्त्र्तिक उडानहरु उडेमा सिधै उक्त दहमा खस्छ्न भन्ने मान्यता पाइन्छ । साथै यि दुई दहहरुलाई सफासुग्घर गर्ने एउटा फिस्टे नामक चरा पनि छ र कुनैपनि पातपतिङ्गरका फोहोर खसेमा टिपेर बाहिर फाल्छ भन्ने कुरा स्थानिय गाउँलेहरू बताउँछन ।
धादिङ जिल्लाको रुवीभ्याली गाउँपालिकाको वडा नम्बर १ मा पर्ने यस कालो दह समुन्द्री सतह देखि ४१०० मिटर उचाईमा रहेको छ । कालो दह धार्मिक तथा पर्यटकिय दृश्टिकोणले अति नै महत्वपुर्ण मानिन्छ । रुबिभ्यालिको कालो दह, सेतो दह र सिङ्ल्हा धार्मिकस्थलमा हरेक वर्ष बोन्बो अर्थात झाक्रीसंग लामा सहित हजारौं भक्तजनहरु दर्शनका लागि पुग्ने गर्दछन ।
कालो दह यात्राका क्रममा नजिकै मुस्कुराईरहेका गणेश र पाविल हिमालसंग सामिप्य हुंदै प्राकृतिक सुन्दरताका मनोरम दृष्य अवलोकन गर्दै, उकालो चढ्दै अघि बढ्नु पर्दछ । यात्राका क्रममा ठाउँ ठाउँमा भेटिने भेडीगोठले गाउँबस्तीको न्यास्रो मेटाईदिन्छ । यात्राका क्रममा भेटिने हरियो जंगल, सिमसिम पानी, मसिनो हावाको गतिसँगै लेक चढिरहेका बादल हेरेर आनन्दित बनाउने गर्दछ ।
कसरी पुग्ने कालो दह
धादिङको गल्छी हुँदै त्रिशूली निस्किएर रसुवाको स्याफ्रुबेसीबाट सोमदाङ हुँदै पान्साङ पास भएर तिप्लिङ सम्म सवारीमा पुग्न सकिन्छ । धादिङको सदरमुकाम निस्किएर जाने हो भने साङकोष तिप्लिङ सडक खण्डबाट सेर्तुङ सम्म हिउँदमा मोटर यात्रा गरि त्यसपछि एक दिनको पैदल यात्रा गरेर लिङ्जो पुग्न सकिन्छ । सदरमुकाम धादिङबेसीबाट ३९ किलोमिटर यात्रा पछि रुवीभ्याली गाउँपालिका पुगिन्छ । सडक सञ्जालले छोएपनि यस गाउँपालिकाको सबै वडामा सहजै मोटर यात्रा गर्न अझै असम्भव रहेको छ ।
सिद्धलेक
सिद्धलेक गाउँपालिका ३ र ४ को सिमानामा रहेको सिद्धलेकलाई धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण स्थलको रुपमा लिइन्छ । सिद्धेश्वर महादेवको नामबाट नामाकरण भएको उक्त स्थलमा महादेवको पूजा अर्चना गर्न शिवरात्रीमा श्रद्धालु भक्तजनहरुको ठूलो मेला लाग्ने गर्दछ। त्यसकै साथमा रहेको १५२५ मि. अग्लो देवा डाँडाबाट हेर्दा मनोरम दृष्यहरु देख्न सकिन्छ ।
मलेखु मजुवा पुष्पलाल स्मृति पार्क
गजुरी गाउँपालिकाको गोल्मारानी ढाँडमा यो पार्क रहेको छ । पृथ्वीराजमार्गको दक्षिणपट्टि करिब २०० मि। जतिको दूरीमा (मधुमति) मलेखु र त्रिशुली नदीको संगम स्थलमा रहेको छ । वनबुट्टाहरु रहेको यस स्थलले २०० रोपनी जति क्षेत्रफल ओगटेको छ ।
ज्वालामुखी
ज्वालामुखी गाउँपालिकामा झण्डै १४०० मी। उचाइमा अवस्थित ज्वालामुखी महत्त्वपुर्ण ऐतिहासिक स्थलको रुपमा रहेको छ । सो स्थलबाट आँखुको काखैमा रहेको समतल भूमी एवं नेपालका ठूलो टारहरुमध्ये पर्ने सल्यानटारको पुर्व एवं पश्चिममा बग्ने आँखु एवं बूढी गण्डकी नदी देख्न सकिन्छ भने उत्तरतर्फ थुप्रै हिमाली श्रृंखलाहरुको दृश्य देख्न सकिन्छ । यस स्थलमा फागु पुर्णिमामा ठुलो मेला लाग्ने गर्दछ ।
चमेरे गुफा
नीलकण्ठ नगरपालिका ५ मा रहेको नागढुङ्गा डाँडाको पूर्व मोहडा फर्केको पाटोमा रहेको छ। सल्लाघारीको बीचमा अवस्थित यस गुफालाई प्रकृतिको अद्दितीय वरदानको रुपमा लिनु पर्दछ किनकि यस गुफाभित्र ४ तलासम्म पुगी भित्रका आकृतिहरु अड्कल गर्दा आदिम युगमा वर्णन गरिएजस्तै सबै ईश्वरहरु यही नै छन् कि जस्तो भान पर्दछ । हाल यस गुफासम्म पुग्न एउटा गोरेटो बाटो, गुफाको गेटमा खाने पानी धारो र एउटा शिवमन्दिर निर्माण गरएको छ । यस लगायत धादिङ जिल्लामा खड्का देवी मन्दिर मैदी, तातोपानी मूल झार्लाङ, भैरवी मन्दिर सुनौलाबजार, खाल्टेको बाहुन बाजा, सलाङको मगर नाच पर्यटकलाई लोभ्याउने कला संस्कृतिले भरि पूर्णछ ।