धादिङ निवासी दुई खेलकुद पत्रकार गोविन्द र गोविन्दराज पुरस्कृत

Avatar photo
Dhadingpost
बिहिबार, माघ १८, २०८०

धादिङ । धादिङ सिद्धलेक गाउँपालिका नलाङ भई गोरखापत्रमा कार्यरत गोविन्द रेग्मी र गंगाजमुना गाउँपालिका फुलखर्क घरभई अनलाईनखवरमा कार्यरत गोविन्दराज नेपाल खेलकुद पत्रकारिता पुरस्कार–२०८०’ मा पुरस्कृत भएका छन् ।

युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पत्रकारिता पुरस्कार–२०८०’ अन्तरगत राष्ट्रिय तर्फ रेग्मीलाई र प्रदेश तर्फ नेपाललाई नगद जनही ५०–५० हजारले पुरस्कृत गरेको हो ।

त्रिभुवन विश्व विद्यालयबाट पत्रकारिता र आमसञ्चारमा स्नातकोत्तर गरेका रेग्मीले २०६० सालमा राष्ट्रिय समाचार समितिबाट प्रशिक्षार्थी पत्रकारको रूपमा पत्रकारिता सुरु गरेका थिए । त्यसपछि लामो समय अन्नपूर्ण पोस्ट् दैनिकमा काम गरेका उनी हाल गोरखापत्र अनलाइनमा कार्यरत छन् । गोविन्दराज नेपाल अनलाईखवरको खेलकुद बीटमा रहेर निरन्तर खेलकुद पत्रकारितामा क्रियाशिल छन् ।

यस्तै मन्त्रालयले रेग्मीसहित प्रदेशतर्फको ‘पत्रकारिता प्रोत्साहन पुरस्कार’ गोरखापत्रकर्मी द्वय कोशीबाट हरिप्रसाद कोइराला र महिलाबाट दैलेखकी रजनीकुमारी योगीलाई प्रदान गरेको छ ।

मन्त्रालयले प्रदेशतर्फ नै ‘पत्रकारिता प्रोत्साहन पुरस्कार’ मधेशबाट तिवारी यादव (नयाँ पत्रिका), गण्डकीबाट रोहितराज पराजुली (नयाँ पत्रिका), लुम्बिनीबाट रिखीराम जिसी (समाधान दैनिक), कर्णालीबाट नन्दराम जैसी (हिमालयन टाइम्स) र सुदूरपश्चिम प्रदेशबाट नवाज पनेरु (बाह्रखरी अनलाइन) लाई प्रदान गरेको छ । प्रोत्साहन पुरस्कारको राशि जनही २५ हजार रुपियाँ र सम्मान पत्र रहेको छ ।