नवौं धादिङ महोत्सव आजबाट गलौंदीमा सुरु हुँदै

Avatar photo
Dhadingpost
बुधबार, माघ १०, २०८०

धादिङ । धादिङ उद्योग वाणिज्य संघले आजबाट माघ २१ गते सम्म संचालन गर्ने नवौं धादिङ महोत्सव गजुरी गाउँपालिकाको गलौँदी स्थित त्रिशुली किनारसमा सुरु हुँदैछ ।

‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने नारासहित सुरुहुने महोत्सव बागमती प्रदशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज ११ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

२४० स्टल रहने नवौं धादिङ महोत्सवको मुख्य आकर्षण पर्यटन कृषि, घरेलु उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य क्षेत्रको विकास तथा साँस्कृतिक र पर्यटन क्षेत्रको प्रवर्द्वनमा टेवा पुर्‍याउने रहेको उनले बताए । घाटबेसी–गलौंदी सम्म र गलौंदी स्थित त्रिशुलीमा दुई प्याकेज बनाएर र्‍याफ्टिङ हुनेछ भने स्थानी उत्पादनलाई महत्व दिँदै कृषि पदर्शनी र घरेलु सामाग्री प्रदर्शनीमा उत्कृष्टलाई पुरस्कारको समेत व्यवस्था गरिने बताईएको छ ।

कृषि, दुग्धजन्य पदार्थ, हस्तकलाबाट निर्मित सामग्री, धादिङका खनिजजन्य पदार्थ, जडीबुटी प्रदर्शन तथा बिक्री स्टल राखिनेछ र महोत्सव अवधिभरि नै रमाइलो मेलामा विभिन्न मनोरञ्जनात्मक स्टल राख्न लगाई मनोरञ्जन प्रदान गरिने कार्यक्रम रहेको छ ।

गत वर्ष धादिङबेसीमा सदरमुकाममा आठौं धादिङ महोत्सव सम्पन्न भएको थियो । अध्यक्ष थपलियाका अनुसार उक्त महोत्सवमा फेन्सी तथा लत्ताकपडा, होटल व्यवसाय, कृषिजन्य उत्पादन लगायतको व्यापारबाट पाँच करोड बराबरको कारोबार भएको थियो ।