कांग्रेस धादिङको सम्मेलन नजिकियो, तयारी तिब्र

Avatar photo
Dhadingpost
बिहिबार, कार्तिक १६, २०८०

धादिङ । नेपाली कांग्रेस धादिङले पार्टी इतिहास मै पहिलो पटक २०८० कात्तिक १८ गते जिल्ला सम्मेलन गर्न लागेको छ । नेपाली कांग्रेस धादिङले जिल्ला सदरमुकाम धादिङबेसीको कभर्डहल परिसरमा सम्मेलन गर्न लागेको हो । सम्मेलनमा जिल्ला भरिबाट २ हजार २०७ जना क्षेत्रीय प्रतिनिधिहरुले सहभागिता जनाउने छन् ।

जिल्ला सभापति रामनाथ अधिकारीका अनुसार सम्मेलनलाई नेपाली कांग्रेसका प्रभावशाली नेता मा. डा. शेखर कोइरालाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । संगसगैं नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू, बागमती प्रदेश कार्यसमितिका सभापति तथा जिल्लाका शिर्षस्थ नेताहरूले सम्बोधन गर्नेछन् ।

जिल्ला सम्मेलनमा जिल्ला कार्यसमितिका तर्फबाट राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन संगै आगामी वर्षका लागि कार्ययोजना प्रस्तुत हुने नेपाली कांग्रेस धादिङका प्रवक्ता विनोदराज तिमल्सिनाले जानकारी दिए । प्रवक्ता तिमल्सिनाका अनुसार सम्मेलन सफल बनाउन प्रचारप्रसार समिति, मञ्च व्यबस्थापन तयारी समिति, आर्थिक व्यबस्थापन समिति, सूचनाप्रबिधि समिति, रक्तदान तथा प्राथमिक स्वास्थ्य परिक्षणका लागि स्वास्थ्य समिति र स्वंयसेवक परिचालन समिति गठन गरिएको र ती समितिहरूले आफ्नो जिम्मेवारी अनुसार काम अन्तिम चरणमा पुगेको छ।

नेपाली कांग्रेसको बिधान अनुसार अधिवेशन हुने वर्ष बाहेक बार्षिक रूपमा जिल्ला सम्मेलन गर्नुपर्ने ब्यवस्था भएपनि नेपाली कांग्रेस धादिङको इतिहासमा पहिलोपटक अहिलेको कार्यसमितिले जिल्ला सम्मेलनको आयोजना गर्न लागेको हो । कांग्रेसको बिधान अनुसार बार्षिक रूपमा आयोजना गरिने सम्मेलनले पार्टीको नेतृत्व चयन बाहेक नीतिगत विषयहरूमा छलफल गरि आबश्यक निर्णय गर्नेछ र पार्टीको बार्षिक कार्यक्रमको कार्यतालिका सहितको कार्ययोजना तयार गर्नेछ । नेपाली कांग्रेस धादिङका सहसचिव नवराज तिमल्सिनाका अनुसार १८ गते आयोजना हुने जिल्ला सम्मेलनमा नेपाली कांग्रेस धादिङका सभापति मा। रामनाथ अधिकारीद्वारा पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने पार्टीको सांगठनिक प्रतिवेदन जिल्ला कार्यसमितिका सचिवले प्रस्तुत गर्नेछन् ।

त्यसैगरी नेपाली कांग्रेस धादिङको १४औं जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिले २०७८ मंसिरबाट आफ्नो कार्यभार सम्हाले पछि पहिलोपटक यस बर्ष बिगत दुई आर्थिक बर्ष २०७८र०७९ र २०७९र०८० को बार्षिक लेखापरिक्षण गराएर लेखापरिक्षकको प्रतिवेदन सहित जिल्ला कार्यसमितिका कोषाध्यक्षले सम्मेलनमा बार्षिक आयव्याय सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

जिल्ला सम्मेलनमा प्रस्तुत गरिने यि सबै प्रतिवेदनहरूलाई कार्तिक १५ गते बुधबार बसेको जिल्ला कार्यसमितिको बैठकमा प्रस्तावित प्रतिवेदनको मस्यौदा प्रस्तुत गरि उक्त प्रस्तावित मस्यौदा माथि जिल्ला सदस्यहरूको ५ वटा समुह बनाएर समुहगत छलफल गराई त्यस समुहहरूबाट आएका सुझाबहरूलाई समेटेर जिल्ला कार्यसमितिको बैठकले उक्त प्रतिवेदन संशोधन र परिमार्जन सहित सर्वसम्मतिले पारित गरेको जिल्ला कार्यसमितिका सहसचिव नवराज तिमल्सिनाले जानकारी दिए ।

जिल्ला सम्मेलन दुइवटा सत्रमा संचालन हुनेछ । पहिलो उद्घाटन सत्र र दोस्रो बन्द सत्र संचालन हुनेछ । सम्मेलनको अवसर पारेर नेपाली कांग्रेस धादिङले जिल्लाको रक्तसंचार केन्द्रमा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै रचनात्मक कार्य स्वरूप सम्मेलनमा सहभागीहरूको तर्फबाट सम्मेलन स्थलमा रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको जनाइएको छ । त्यसका साथै सम्मेलन स्थलमा सहभागीहरूको सामान्य स्वास्थ्य परिक्षण पनि गरिने जनाइएको छ । जिल्ला सम्मेलनमा भाग लिनका लागि सम्मेलनका प्रतिनिधिहरू धादिङबेसी आउनेक्रम शुरू भैसकेको नेपाली कांग्रेस धादिङले जनाएको छ ।