बेनीघाट रोराङमा पोषण सुधार केन्द्र संचालन, नेपाल कै पहिलो

Avatar photo
Dhadingpost
सोमवार, जेष्ठ २२, २०८०

धादिङ । बेनीघाट रोराङले आजबाट पोषण सुधार केन्द्र संचालनमा ल्याएको छ । यो सँगै देशभरका ७५३ स्थानीय तह मध्य पोषण सुधार केन्द्र संचालनमा ल्याउने पहिलो पालिका बनेको छ ।

अस्पतालहरुमा यो सेवा आंशिक रुपमा पाईएपनि स्थानीय सरकार आफैले संचालनमा ल्याएको यो पहिलो भएको बेनीघाट रोराङका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) ले दावी गरेका छन् । गाउँपालिकाले आज एक कार्यक्रमको आयोजना गरि वडा नम्बर ७ स्थित चरौंदीमा पोषण सुधार केन्द्र उद्घाटन गरेको हो । कार्यक्रमको उद्घाटन बागमती प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष प्रा. नरविक्रम थापाले गरेका थिए ।

न्यून पोषणको रोकथाम, स्तनपानलाई सघाउने, शिशुलाई अतिरिक्त खाना एवं सूक्ष्म पोषण उपलब्ध गराउने काम पोषण केन्द्रबाट हुने गाउँपालिकाका स्वास्थ्य संयोजक शंकरबाबु दुवाडीले बताए । संयोजक दुवाडीका अनुसार केन्द्र सञ्चालनमा आए सँगै एक पटकमा १० देखि २० कुपोषित बालबालिका र बुबा आमामध्ये एक जना राखेर ६० दिन पोषणयुक्त खाना खुवाउन र दक्ष चिकित्सकले स्वास्थ्य परीक्षण गर्न सकिने बताए ।

बेनीघाट–रोराङ गाउँपालिकामा पाँच वर्षमुनिका दुई हजार आठ सय बालबालिका छन् । तीमध्ये करिब ५० जना अति कुपोषित, ७५ जना मध्यम कुपोषित र दुई सय ५० जना सामान्य कुपोषित रहेको गाउँपालिकाको तथ्याङ्कमा उल्लेख छ ।