१५०० मिटरमा अस्मिता र बिकेशलाई स्वर्ण

Avatar photo
Dhadingpost
सोमवार, जेष्ठ ८, २०८०

हेटौंडा । हेटौडास्थित पिप्ले क्याम्पा रंगशालामा सोमबारदेखि सुरु भएको दोस्रो बाग्मती प्रदेश खेलकुदको एथ्लेटिक्सतर्फ १५०० मिटर दौडमा सिन्धुपाल्चोककी अस्मिता भुजेल र दोलखाका विकेश घिमिरेले स्वर्ण जितेका छन् ।

अस्मिता महिलातर्फ र विकेश पुरुषतर्फ स्वर्ण विजेता हुन् । विकेशले ४ मिनेट ३३ सेकेन्ड समय लगाए । महिलामा स्वर्ण विजेता अस्मिताले पाँच मिनेट ३२ सेकेन्ड समय लगाइन् । सो विधामा नुवाकोटको दिनेश राईले रजत र काठमाडौंका पवनकुमार साहले कांस्य पदक जिते । रामेछापकी भगवती खड्काले रजत र दोलखाकी सोनी घोतानेले कांस्य जिते ।

हाइजम्पमा दोलखाकी रोजिना कार्कीलेस्वर्ण प्राप्त गरिन् । उनले १।३१ मिटर जम्प गर्दै स्वर्ण हात पारेकी हुन् । चितवनकी करुणा बोटले रजत र काभ्रेकी कविता गौतमले कांस्य पदक पाए । यसै विधामा पुरुषतर्फ चितवनका अविनाश सुनारले स्वर्ण जिते । उनले १।६९ मिटर जम्प गरे । सिन्धुलीका रोशनकुमार दनुवार रजत र चितवनका समीर चौधरी कांस्य पदक जित्न सफल भए ।

डिस्कस थ्रोमा महिलातर्फ रामेछापकी अनिता कार्कीले २१।९८ मिटर पर फ्याक्दै स्वर्ण जिते । दोलखाकी ममता सुनुवार रजत र नुवाकोटकी रोजिना राई कांस्य पदक जित्न सफल भए । पुरुषतर्फ भने रामेछापका रामकुमार माझीले स्वर्ण पदक प्राप्त गरे । उनले २७।७० मिटर पर फ्याके । चितवनका ललित राउत रजत र दीपेश महतो कांस्य जित्न सफल भए ।