नेपाल र साउदीको खेल वर्षाका कारण रद्द

Avatar photo
Dhadingpost
सोमवार, बैशाख ११, २०८०

काठमाडौं । एसीसी प्रिमियर कप अन्तरगत नेपाल र साउदी अरबबीचको खेल वर्षाका कारण रद्द भएको छ । दुई टीमले १(१ अंक बाँडेसँगै नेपालले सेमिफाइनलमा स्थान बनाएको छ ।

योसँगै नेपाल ३ खेलमा २ मा जित र १ मा अंकबाँड्दै ५ अंकका साथ शीर्ष स्थानमा छ । आजको खेलमा साउदी र नेपालले अंक बाँडेपछि समूह ए बाट कतार र मलेसिया औपचारिक रुपमा बाहिरिएका छन् । ओमान र साउदी अरेवियाबीच बुधबार हुने खेलको विजेता टोली सेमिफाइनलमा पुग्नेछ । साउदी र ओमानबीचको उक्त खेल क्वाटरफाइनल सहर हुनेछ ।

नेपालले अब अन्तिम खेल कतारसँग खेल्न बाँकी छ । समूह विजेता को हुने भने चाहीँ अन्तिम खेलले निर्धारण गर्नेछ । नेपालले कतारसँग जित हासिल गरेको खण्डमा समूह विजेता भएर अर्को समूहको उपविजेतासँग सेमिफाइनल खेल्नेछ । यदि नेपालले सो खेल हार्‍यो र दोस्रो स्थानमा रहेको ओमानले साउदीअरबसँगको अन्तिम खेल जित्यो भने नेपाल उपविजेता बन्नेछ र अर्को समूहको विजेतासँग सेमिफाइनल खेल्नेछ । कतार दुबै खेलमा हारका साथ बाहिरिएको छ ।

समूह बी मा हङकङ २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । युएई ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । उता टियु मैदानमा आज हुनुपर्ने हङकङ र बहराइनबीचको खेल पनि वर्षाको कारण सुरु हुन सकेको छैन । बहराइन २ खेलमा १ मा जित र १ मा हारसहित तेस्रो स्थानमा छ । कुवेत २ खेलमा १ मा जित र १ मा हारसहित दोस्रो स्थानमा छ । सिंगापुर तीनै खेलमा पराजित हुँदै बाहिरिएको छ ।

यस प्रतियोगिता विजेताले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् । नेपालले सेमिफाइनलमा समूह बी को उपविजेतासँग खेल्नेछ । युएई हङकङसँग ६७ रनले पराजित भएको थियो । नेपालले सेमिफाइनलमा युएईसँग खेल्ने उच्च सम्भावना देखिन्छ ।