काठमाडौं । नेपालले एसीसी मेन्स प्रिमियर कपको समूह ‘ए’मा विजयी सुरुआत गरेको छ ।युवा अलराउन्डर कुशल मल्ल र भीम सार्कीको उत्कृष्ट ब्याटिङमा उपाधि दाबेदार नेपालले एसिसी प्रिमियर कपमा मलेसियामाथि ६ विकेटको सानदार जित हात पार्दै विजयी सुरुवात गरेको हो ।
मलेसियाले दिएको २ सय ३६ रनको लक्ष्य नेपालले ३६ दशमलब २ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि कुशल मल्ल र भिम सार्कीले अर्धशतकीय ईनिङ खेले । मल्लले ४० बलमा ५ चौका र ५ छक्काको सहयोगमा अविजित ७० रन बनाए । भिमले ९७ बलमा ५ चौका सहयोगमा ७१ रन बनाए ।
भिम र मल्लले चौथो विकेटका लागि १ सय १२ रनको सानदार साझेदारी गरे । कप्तान रोहितकुमार पौडेलले ४२ रन बनाउँदा ओपनर कुशल भुर्तेलले ३८ रन बनाए । मलेसियाका लागि विजय उन्नी,विरनदिप सिंह,मोहम्मद वाफिक र रिजवान हैदरले समान १/१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३५ रन बनायो।
मलेसियाका लागि अहमद फैजले सर्वाधिक ७६ रनको योगदान दिए । उनले ९५ बलमा ८ चौका र १ छक्का प्रहार गरे। विरन्दिप सिंहले ४६ रन बनाउँदा ओपनर मोहम्मद अमिर १७ रनमा आउट भए । दोस्रो विकेटका लागि फैज र सिंहले १ सय १६ रनको शतकीय साझेदारी गरे । ३३ दशमलब २ ओभरमा सन्दीप लामिछानेले शतकीय साझेदारी तोडेका थिए । अहमद फैजको विकेटसँगै उक्त साझेदारी तोडिएको थियो ।
विजय उन्नी १२ मा आउट हुँदा सायद अजिज १३ रन बनाए । खिजार ह्यायातले २२ तथा साजरुल इद्रासले अविजित १५ रन बनाए । यता नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान ३/३ विकेट लिए । ललित नारायण राजवंसी २ तथा गुल्सन झाले १ विकेट लिए । १० राष्ट्र सहभागी यस प्रतियोगिताको समूह ए मा रहेको नेपाल २ अंक सहित शीर्ष स्थानमा रहेको छ ।
नेपालको अर्को खेल वैशाख आठ गते ओमानविरुद्ध रहेको छ । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । समूह ए मा ओमान, नेपाल, कतार, मलेसिया र साउद अरेविया छन् । बुधबार टियु मैदानमा युएई र कुवेतबीच प्रतिस्पर्धा हुनेछ । मुलपानीमा ओमान र कतार भिड्नेछन् । प्रतियोगिता शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल हुँदै उपाधि जित्ने टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्नेछन् । नेपालले अव शुक्रबार ओमानसँग खेल्नेछ । मलेसियाले बिहीबार साउदी अरेवियासँग माथिल्लो मुलपानीमा खेल्नेछ । माथिल्लो मुलपानी मैदानमा भएको खेलमा हङकङले सिंगापुरलाई ८ विकेटले हरायो । जितको लागि १ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको हङकङले ३३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । हङकङको जितमा बाबर हायत ९४ बलमा १० चौका र ६ छक्कासहित १ सय ८ रनमा अविजित रहे ।