काठमाडौं । कविता र रंगमञ्चको संयोजन सहित प्रयोगात्मक ‘पृष्ठभूमिमा कविता’ नामक कार्यक्रम काठमाडौंको सर्वनाम थिएटरमा सम्पन्न भएको छ । रोटरी क्लब अफ रुद्रमती, रोटार्याक्ट क्लब अफ रुद्रमती, रोटार्याक्ट क्लब अफ रुद्रमती बबरमहल, रोटार्याक्ट क्लब अफ मनोहराको संयुक्त आयोजनामा बुधबार कार्यक्रम सम्पन्न भएको हो । ‘साथी सर्कल’ले कार्यक्रमलाई सपोर्ट गरेको थियो ।
दुई चरणमा सम्पन्न भएको कार्यक्रममा कवि राजु झल्लु प्रसाद, रसिक राज, अभिषेक राज सिंह थापा, श्रीजु सरल र सुरज पराजुलीले कविताको विषयवस्तुअनुसारको परिवेशमा बसी सोही अनुरुपको चरित्र निभाई आ-आफ्ना कविताहरू प्रस्तुत गरेका थिए । ‘शृंखलामा कविता’ नामको पहिलो सेसन श्रीजु सरलबाट सुरु भएर अभिषेक राज सिंह थापाको प्रस्तुतिमार्फत समापान भएको थियो । यसैगरि, ‘पृष्ठभूमिमा कविता’ नामको दोस्रो सेसनमा पाँचै जना कविहरू भुँइमा बसेर आ-आफ्नो कविताको पृष्ठभूमि (रचना गर्भ) सहित एकसाथ प्रस्तुत भएका थिए । दुई सेसनमा पाँच कविहरूको दश कविता प्रस्तुत भएको थियो ।
समकालीन कवितामा विभिन्न शिल्पको प्रयोग भइरहेको यस समयमा कविता प्रस्तुतिमा पनि प्रयोग आवश्यक छ भन्ने बोध सहित कार्यक्रम गरिएको संयोजक पूर्णिमा गिरिले बताइन् । “कविताको सुर, तालसँगै यसले बोक्ने विचार, भाव, बिम्ब, प्रतीक, स्थानीयतालाई रंगमंचीय ढाँचामा कवितात्मक भाव संयोजनसहित कविहरूले प्रस्तुत गर्नुभएको हो । साहित्यको श्रव्य भेद अन्तर्गत रहेको कवितालाई साहित्यको दृश्य भेद अर्थात् रंगमंचको विविधतासँग जोड्ने प्रयास गरेका हौँ । मूल्यांकनको जिम्मा सचेत कविता पारखी मनहरूलाई नै छाडेका छौँ”, गिरिले बताइन् । कार्यक्रमले कविताको वैचारिक शिल्प, भाषिक संरचनामा दखल नदिई कविहरूको कवितात्मक निजी मान्यता र विशेषतालाई अझ उजिल्याउने कोसिस गरेको उनले बताइन् ।
प्रयोगशील लेखनको यस जटिल समयमा आफूहरूले आ-आफ्ना कवितालाई नाटकीय स्वाद दिएर सरल र सम्प्रेष्य बनाउन खोजेको सहभागी कवि राजु झल्लु प्रसादले बताए । “भाषागत क्लिष्टता, भावगत गहनता र जटिलतालाई दृश्य माध्यमबाट कविताका पाठक (दर्शक) समक्ष राख्दा कमबेसी डर पनि लागेकै थियो, तर कविताहरू लेखिनु वा पढिनुपर्छ मात्रै नभई, अर्थिनु र सम्प्रेषण हुनु आवश्यक छ भन्ने लागेर थिएटरमा पुगेका हौँ”, उनले भने, “प्रस्तुतिमा क्रमभङ्गता, जटिलता, दुरुहता र भनाइमा अस्पष्टता नआओस् भनेर साङ्केतिक वा प्रतीकात्मक रूपमा प्रप्सहरू छनौट गर्दा सचेत थियौँ । कविताको विषयवस्तुसँग नै समन्वय राख्ने हिसाबले प्रप्स, लाइट एवम् थिएटरलाई संयोजन गरेका थियौँ”, उनले भने ।
कवितालाई दृश्यसंरचनामा ढालेर अभिनयात्मक हिसाबले प्रस्तुत गर्न पाउँदा खुसी लागेको सहभागी कवि श्रीजु सरले बताइन् । “मेरो लागि यो बिलकुल नयाँ प्रयोग, नयाँ अभ्यास थियो । कविता सम्झिन खोज्दा याक्ट बिर्सिन्छु कि, याक्ट सम्झिन खोज्दा कविता बिर्सिन्छु कि जस्तो भइरहेको थियो । तर, स्टेजमा पुगेपछि सलल बगिदियो । मैले कसरी सम्झिन सकेँ भनेर अचम्म पनि लाग्दै थियो । सकेर निस्किँदा खुसी लाग्यो”, उनले भनिन् । “कविता वाचनको परम्परालाई भत्काउने दुस्साहस गरेका छौँ, यसबारे सचेत पाठकहरूले समालोचना गर्नुहुन्छ भन्ने लागेको छ” , उनले थपिन् ।
एकप्रकारको मनोस्थिति र मनोदशाबाट प्रेरित भई लेखिएका कविता र तिनमा प्रयोग बिम्ब-प्रतिक आदिलाई दृश्यगत एवम् अभिनयात्मक नवीनता सहित प्रस्तुत गर्न पाउँदा बेग्लै अनुभव भएको सहभागी कवि रसिक राजले बताए । “कुनै पनि कवितामा झिनो कथानक र पात्रको प्रयोग अनिवार्य नै हुन्छ, सोही कुरालाई रंगमंचको विविधतासँग जोड्ने प्रयास गरेका हौँ । चित्रात्मक शैलीमा कविता लेख्दै आइरहेको मलाई थिएटरमा यसप्रकार आफ्ना कविता प्रस्तुत गर्दा वेशभूषा, हाउभाउ, संवाद आदिका माध्यमबाट कविताको चरित्र निभाइरहेको महसुस भयो । कविता रङ्गमंच पढिन्थे तर प्रस्तुत हुँदा बोधगम्य र अझ फराकिलो हुँदो रहेछ”, उनले भने । “दोस्रो चरण चाहिँ अलि अनौपचारिक हिसाबले प्रस्तुत भयौँ । कविहरू भृकुटीमण्डप वा बागबजारमा बसेर जसप्रकार एकार्काका कविता पढ्ने, सुन्ने र टिकाटिप्पणी गर्ने गर्दछन्, त्यसैलाई थिएटरमा प्रस्तुत गरेका हौँ”, उनले थपे ।
कवितामा नाटकीय कलाकारिताको केहि अंश पर्दा कविता अझै सशक्त हुने रहेछ भन्ने आफूलाई लागेको सहभागी कवि सुरज पराजुलीले बताए । “कविता आफैँमा पूर्ण संरचना हो, यद्यपि यसले फरक-फरक पाठक/समिक्षक खोजिरहन्छ । किताब छाडेर थिएटरमा जाँदा यसका पाठक पनि बढेको महसुस् गरे । बाँकी त, समिक्षकहरूलाई छाडिदिएका छौँ,” उनले भने । “कार्यक्रममा बिल्कुल नयाँ श्रोता तथा दर्शक उपस्थित थिए । र यस कार्यक्रमले उहाँहरूमा कविता र रंगमञ्चप्रति आकर्षण भने बढाउन सफल रह्यो, जुन साहित्य र रंगमञ्चकका लागि सुखद कुरा हो”, उनले थपे ।
प्रस्तुतिका क्रममा एकार्काका कवितालाई एकार्कासँग जोड्नुपर्ने चुनौती र अवसर दुवै रहेको सहभागी कवी अभिषेक राज सिंह थापाले बताए । “फरक-फरक मनोदशामा लेखिएका कवितालाई एउटै प्रवाहमा प्रस्तुत गर्नु पनि रमाइलो अनुभव हुने रहेछ । फेरी, कवितामा रहेको विषयवस्तुलाई बाह्य रूपमा प्रकटीकरण गर्नका लागि पनि रंगमंचीय भाषाशैली र हाउभाउमा रूपान्तरणहरू चाहिँदा रहेछन्, मूल कवितालाई प्रभावकारी, आकर्षक र कुतूहलपूर्ण बनाउनका खोज्दा केहि असहजता पनि भयो होला, यो हाम्रो पहिलो प्रयास थियो । हामीले कविता बिगार्न खोजेका होइनौं, यसको प्रस्तुतिमा नवीनता खोजेका हौँ”, थापाले भने ।
साथी सर्कलका संस्थापक सदस्य सुरज भट्टराईले केही नयाँ अभ्यास गर्ने उद्देश्यले अभिप्रेरित कार्यक्रमसँग जोडिन पाउँदा खुसी लागेको बताए । “साथी सर्कल आफैमा पनि एक युवा जोस जाँगर सहित समाज परिवर्तनका लागि केही नयाँ अभ्यास सहित अघि बढ्ने उद्देश्यले सञ्चालन भैरहेको संस्था हो । शिक्षा, युवा सशक्तीकरण र समाज सचेतना लागि हामी निरन्तर लागिरहेका छौँ । अन्य कार्यक्रम सहित कला र साहित्य क्षेत्रमा पनि हाम्रो उत्तिकै लगाव रहेको छ । जुन उद्देश्यले जोडिएका थियौ त्यही अनुरूप कार्यक्रमले सफल र प्रभावकारी रहेको कुरामा म विश्वस्त छु”, उनले भने ।
रोटरी क्लब अफ रुद्रमतीका अध्यक्ष रोटारियन किशोर त्रिपाठी, रोटार्याक्ट क्लब अफ रुद्रमतीका अध्यक्ष रोटार्याक्टर रोशन कुमार कार्की, रोटार्याक्ट क्लब अफ रुद्रमती बबरमहलका अध्यक्ष रोटार्याक्टर ऋषि पौडेल, रोटार्याक्ट क्लब अफ मनोहराकि अध्यक्ष रोटार्याक्टर सफला दाहाल त्यसैगरी डिस्टृक रोटार्याक्ट रिप्रीजेन्टेटिभ इलेक्ट रोटारियन रोशन कार्की, साथी सर्कल समूहका सुरज भट्टराईले खादा तथा प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा रोटारियन, रोटार्याक्टर, नन रोटार्याक्टर तथा कविता पारखीहरू गरि एक सय बीस जनाको उपस्थिति रहेको थियो । कार्यक्रमको डकुमेन्टेसन ए.एस.आर. प्रोडक्सन एण्ड मिडियाले गरेको छ भने सर्वनाम थिएटरले थिएटर व्यवस्थापन गरेको थियो ।