मन्त्री किराँतीको ‘पहराकी फूल’ गीत

Avatar photo
Dhadingpost
मङ्लबार, चैत्र ७, २०७९

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको जनयुद्धका विषय जस्ताको तस्तै जोडिएको गीत ‘पहराकी फूल’ सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमकाबीच मन्त्री किराँतीको गीत सार्वजनिक गरिएको हो ।

मन्त्री किराँतीको शब्दमा रहेको उक्त गीतमा रुपकुमार राईको स्वर रहेको छ । म्युजिक भिडियोमा अभिनेता दयाहाङ राई, वेदना राई र मनिता जैसा वान्तवाको अभिनय रहेको छ । आइतवार काठमाडौंमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले ठूलो बलिदानबाट गणतन्त्र ल्याइएको भएपनि समाजको जराभित्र गणतन्त्रको संस्कृति बस्न नसकेको बताए । उनले आफू मन्त्री भएको ६२ दिन भएको तरपनि उल्लेख्य काम गर्न अझै नसकिरहेको बताए ।

उनले भने, ‘गणतन्त्र त ल्याइयो तर समाजमा अझै गणतन्त्रको जरो गाड्न सकिएको रहेनछ, म मन्त्री भएको ६२ दिन भयो, यो बीचमा गाडी छ, गुरु जी छ, इन्जिन छ, तेल पनि छ, स्टार्ट पनि हुन्छ तर धुवाँ मात्रै छोड्छ हल्ला मात्रै गर्छ अघि बढ्दै बढ्दैन, पछि झरेर आफैँले ठेल्नुपर्छ ।’ कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले गीत धेरै नै राम्रो रहेको बताए । उनले आफूले भोगेको समयलाई गीतमार्फत छोटो समयमा देखाएको बताए ।