धादिङमा नेवि संघ र अखिल (क्रान्तिकारी) बीच स्ववियु चुनावमा मिल्ने संकेत

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन १७, २०७९

धादिङ । चैत ५ गते स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक भए सँगै धादिङमा विद्यार्थी संगठनका नेताहरु क्याम्पस पुग्न थालेका छन् भने संघ संगठनलाई पुनरगठन गर्न थालेका छन् । यस अघिको स्ववियु चुनावमा तालमेल गरेका कांग्रेस निकट नेपाल विद्यार्थी संघ धादिङ र माओवादी निकट अखिल (क्रान्तिकारी) धादिङ बीच यो पटक पनि तालमेल हुने संकेत देखिएको छ ।

अनौपचारिक छालफलमा दुबै संगठनका नेताहरु रहेता पनि नेपाल विद्यार्थी संघको जिल्ला नेतृत्व नभएकोले पार्टी तहमा छलफल होस भन्ने चाहेका छन् । केन्द्रमा पनि तालमेल हुने संकेत देखिएको छ केन्द्रमा भएन भने पनि भादिङमा तालमेल गरेर जान दुबै संगठन तयार रहेको नेवि संघका विद्यार्थी नेता इश्वर अधिकारीले धादिङपोष्टलाई बताए । ७ वटा क्याम्पस मध्य नेवि संघ र अखिल (क्रान्तिकारी बीच तालमेल हुँदा समेत एमाले निकट अनेरास्ववियुले गजुरीको आर्दश बहुमुखी क्याम्पस र नमुना बागेस्वरी क्याम्पस आफ्नो पक्षमा पार्न सफल भएको थियो ।

स्ववियु चुनाव केहि दिन सर्न सक्ने बताउँदै अधिकारीले भने गत स्ववियु चुनावमा भएको सहमतिले दुबै संगठनलाई फाईदा पुगेकोले यो पटक पनि सहमति गर्नु पर्ने उनले बताए ।
गत स्ववियु चुनावमा भएको दुई संगठनको सहमती
१. सल्यानटार क्याम्पस सल्यानटार -सभापति नेवि संघ
२. नेत्रावती क्याम्पस खहरे सभापति – अखिल (क्रान्तिकारी)
३. निलकण्ठ क्याम्पस धादिङ बेसि सभापति -नेवि संघ
४. मछिन्द्र क्याम्पस खानिखोला सभापति -नेवि संघ
५. आदर्श क्याम्पस गजुरी सभापति – अखिल (क्रान्तिकारी)
६. जयबागेश्वरी क्याम्पस रिचोकटार सभापति -अखिल क्रान्तिकारी
७. चन्द्रोदय क्याम्पस विशालटार सभापति -नेवि संघ

गत स्ववियु चुनावको केहि तथ्य
नीलकण्ठ क्याम्पसमा नेवि संघ हावी
नीलकण्ठ बहुमुखि क्याम्पसमा नेवि संघका सरोज पाण्डेले संयुक्त प्यानलको नेतृत्व गर्दै ४ सय ११ मत ल्याएर सभापतिमा निर्वाचित भएका थिए । सचिवमा नेविसंघका दुर्गा श्रेष्ठ, कोषाध्यक्षमा अखिल क्रान्तिकारीका गजेन्द्र गुरुङ निर्वाचित भएका थिए । त्यस्तै सदस्य पदमा नेविसंघका शिखा श्रेष्ठ, महेन्द्र तामाङ, कविराज श्रेष्ठ, वसन्ती गुरुङ र अखिल क्रान्तिकारीका उमेश लामिछाने विजयी भएका थिए । सभापति पदका लागि अनेरास्ववियुबाट जितबहादुर नेपाली र नयाँशक्ति विद्यार्थी युनियनबाट फिलेमोन तामाङ सभापतिका लागि प्रतिस्पर्धामा गरेका थिए ।
गजुरी स्थित आर्दश बहुमुखी एमाले अखिल विजयी
गजुरीस्थित आर्दश बहुमुखी क्याम्पसमा अनेरास्ववियुका रुपक गिरी सभापति निर्वाचित भएका थिए । उनले ८२ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका सुस्मिता तामाङले ५८ मत ल्याइन् । सचिवमा मानव तामाङ, कोषाध्यक्षमा कल्पना सुवेदी निर्वाचित भएका थिए । त्यस्तै सदस्यमा ठूलमाया उपरकोट्टी, सुजना खनाल, इच्छा सुवेदी, सिर्जना खतिवडा विजयी भएका थिए ।
नेत्रावतीमा नयाँ शक्ति र अखिल संयुक्त प्यानलको लज्जास्पद हार
नेत्रवती सामुदायिक बहुमुखी क्याम्पस खहरेको स्ववियु निर्वाचनमा नयाँ शक्ति र एमाले निकट अखिलले लज्जास्पद हार व्यहोरेका थिए । निर्वाचन सम्पन्न भए सँगै नयाँ शक्ति र एमाले निकट अखिललाई लज्जास्पद तवरले पराजित गर्दै अखिल क्रान्तिकारी र नेविसंघको सयुंक्त प्यानल अध्याधिक मतले विजय भएको थियो । सभापतिमा अखिल क्रान्तिकारीका रामबाबु विष्ट निर्विरोध विजय भएका थिए । सचिवमा नेपाल विद्यार्थी सघंका अनिता खडकले ४० मत, कोषाध्यक्षमा अखिल क्रान्तिकारीका गणेश सापकोटाले ४४ मत प्राप्त गरि निर्वाचित भए । त्यस्तै सदस्यहरुमा नेपाल विद्यार्थी सघंका सिमा तिमल्सिनाले ४४ मत , नेपाल विद्यार्थी सघंका सविना घर्तिमगरले ४५ मत , नेपाल विद्यार्थी सघंकै सरस्वति पाण्डेले ४४ मत र अखिल क्रान्तिकारीका पार्वती विकले ४२ मत प्राप्त गरि निर्वाचित भएका छन् । निर्वाचनका प्रतिद्धन्द्धि अनेरास्ववियु र नयाँ शक्ति युनियनका सयुंक्त प्यानल १-१ मत प्राप्त गरेका थिए ।
चन्द्रोदय बहुमुखी क्याम्पस सुदिप गौली विजयी
चन्द्रोदय बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वनाचनमा नेवि संघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल विजयी भयो । जसमा नेपाल विद्यार्थी संघको सुदिप गौली ७६ मत प्राप्त गरि सभापतिमा निर्वाचित भएका थिए ।
बागेश्वरी मलेखुमा झडप भएको थियो
मलेखुमा रहेको वागेश्वरी क्याम्पसमा विद्यार्थीहरु बीच झडप हुँदा स्ववियु निर्वाचन स्थगित भएको थियो । झडपमा तीन जना छात्रा घाइते भएका थिए। घाइते मध्ये अखिल क्रान्तिकारीकी सुजाता भट्ट गम्भीर चोल लाग्दा उपचारको लागि न्युरो अस्पताल काठमाडौं लैजानु परेको थियो भने सुस्मा रुपाखेती र पार्वती सेढाईं सामान्य घाईते भएका थिए । एमाले अखिलका विद्यार्थीहरुले ईंटा प्रहार गरेर आफ्ना विद्यार्थी घाइते भएको अखिल क्रान्तिकारीले जनाएको थियो ।

वागेश्वरी क्याम्पसमा विद्यार्थीहरु बीच झडप

आगामी चैत ५ गते हुने निर्वाचन कार्यतालिका
फागुन १९ गते विद्यार्थी संघरसंगठन दर्ता, फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २५ गते मतदाता सूचीमा दाबी–विरोध तोकिएको छ । यस्तै फागुन २६ गते उम्मेदवारको मनोनयनपत्र वितरण, फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तोकिएको छ ।

यस्तै कार्यतालिकाअनुसार फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी–विरोध र फागुन २८ गते साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ । स्ववियु निर्वाचनको कार्यतालिका प्रकाशनपछि क्याम्पसको वार्षिक प्रणालीअन्तर्गतका स्नातक प्रथम वर्षको विद्यार्थी भर्ना बन्द गरिएको छ ।

निर्देशनालयका निर्देशक अधिकारीले स्ववियु निर्वाचनको प्रचार–प्रसार फागुन २९ गतेदेखि चैत २ गते राति १२ बजेसम्म समय तोकिएको छ । स्ववियु कार्यसमिति दुई सय विद्यार्थी बराबर ११ सदस्यीय कार्यसमिति, दुई सय एकदेखि एक हजारसम्म विद्यार्थी भए १३ जनाको कार्यसमिति, एक हजार एकदेखि तीन हजारसम्म भए १९ जनाको र तीन हजार एकदेखि पाँच हजारसम्म २१ सदस्यीय कार्यसमिति हुने उल्लेख गरिएको छ । (मछिन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन पछि विजयी विद्यार्थीहरु सामुहकि फोटो खिचाउँदै गरेको फाईल तस्वीर)