नीलकण्ठ माविमा खाद्य महोत्सव सँगै शैक्षिक सामग्री प्रदर्शनी

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन १२, २०७९

धादिङ । नीलकण्ठ माध्यमिक विद्यालयको वार्षिक कार्यपात्रोमा उल्लेख भएबमोजिमको खाद्य महोत्सव, पोषण शिक्षा, साँस्कृतिक तथा विषयगत शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक अर्जुन सिम्खडाको सभापतित्व तथा विद्यालयका प्रधानाध्यापक ध्रुव अधिकारीको प्रमुख आतिथ्यतामा संचालन भयो । उक्त कार्यक्रममा कक्षा ५ देखि कक्षा ९ सम्मका विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न जातजातिका भेषभूषा झल्कने पोषकमा विद्यार्थीहरुले आफ्नै भाषाका गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए ।

उक्त महोत्सवमा विद्यार्थीहरुले जातीय भेषभूषा सहित तामाङ, गुरुङ, नेवार, मगर, ब्राह्मण तथा क्षेत्री, मधेशी तथा मुस्लिम खानाको परिकार स्टलमा राखेका थिए । प्रदर्शनीमा विद्यालयका अभिभावकहरु तथा सरोकारवालाहरु साथै विद्यालयका सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरुले अवलोकन तथा खाद्य उत्सवमा बनेका परिकारहरु सामान्य मूल्यमा खरीद गरी कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुभएको थियो । स्वास्थ्य सेवा प्रबद्र्धन कार्यक्रम अन्तर्गत पोषण शिक्षा प्रदर्शनी कार्यक्रम संचालन भएको थियो ।

उक्त कार्यक्रममा अभिभावकहरुलाई पोषण सम्बन्धी सचेत गराइएको थियो । यसैगरी विषयगत शैक्षिक सामग्री अन्तर्गत सिभिल इन्जिनियरिङका विद्यार्थीहरुले हाइड्रोपावरको नमुना, विद्यालयको सम्पूर्ण भौतिक संरचना समावेश गरिएको नमूना, थोपा सिंचाई प्रणालीको नमूना, दुषित पानी प्रशोधनको नमूना, घर–घरमा पाइपद्वारा खानेपानी वितरणको नमूना, गणित तथा विज्ञान विभागले गणित तथा विज्ञानका अवधारणालाई प्रष्ट र व्यवहारिक बनाउन प्रयोग गरिने ठोस शैक्षिक सामग्रीहरुको नमूना प्रदर्शन गरेका थिए । भाषागत विभागले आ–आफ्नो भाषा शिक्षणमा प्रयोग हुने शैक्षिक सामग्रीको ठोस नमुना बनाई प्रदर्शनमा राखेका थिए । यसैगरी वार्षिक रुपमा यस्ता कार्यक्रमहरु भइरहेको विद्यालयका प्र.अ. ले जानकारी दिए ।