एमाले धादिङद्वारा मिसन ग्रासरुट अभियान सुरु

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन १०, २०७९

धादिङ । नेकपा एमाले धादिङले बुधबार (फागुन १० गते) देखि दुई महिने मिसन ग्रासरुट अभियान सुरु गरेको छ । एमाले पार्टी कार्यालय धादिङ बेशिमा आज आयोजित कार्यक्रममा यस अभियानको थालनी गरेको हो । नेकपा एमाले धादिङका अध्यक्ष भुमी त्रिपाठिको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले केन्द्रिय कमिटीका उपाध्यक्ष सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमालेको दशौं महाधिवेशनको कार्यदिशा, समाजवादको आगामी यात्रा, संगठन सुदृढीकरण, पार्टी निर्माण सम्बन्धि दृस्ठिकोण, विभिन्न राजनीतिक दलसंगको सम्बन्ध र चरित्रका बारेमा स्पष्ट पार्ने उद्देश्यले दुई महिने ग्रासरुट अभियान सुरु गरिएको बताए ।

उपाध्यक्ष पाण्डेले ग्रासरुट अभियानले नेकपा एमालेका कार्यकर्ताहरुमा बैचारिक प्रस्टता ल्याउने, संगठनको आन्तरिक समस्याहरु पहिचान गरि सुदृढ बनाउने, भूगोल अनुसारको राजनीतिक सामाजिक समस्याहरु पहिचान हुने बताए । देशमा रहेको कुल मतदाताको पचास प्रतिशत मत नेकपा एमालेको पक्षमा ल्याउने मुख्य लक्ष्य लिएर यो अभियान थालनी गरिएको बताएका थिए ।

कार्यक्रममा दुई महिने ग्रासरुट अभियानको बारेमा जानकारी दिनुहुँदैन नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष भुमि त्रिपाठीले पार्टी सुदृढीकरण तथा बिस्तार अभियान अन्तर्गत देशभर फागुन ५ गतेदेखि मिसन ग्रासरुट अभियान सुरु भैसकेको र धादिङमा चै फागुन १० गतेदेखि सुरु भएर आगामी २०८० बैशाख ९ गते पार्टी स्थापना दिवसको दिन समापन हुने बताए ।

धादिङ जिल्लाको १३ वटै पालिका र १ सय ४ वटै वडामा बैशाख ८ गतेसम्म अभियान चल्ने र बैशाख ९ गते जिल्ला स्तरीय कार्यक्रम गरि समापन हुने बताईएको छ । कार्यक्रममा मिसन ग्रासरुट अभियान अन्तर्गत धादिङका लागि नेकपा एमाले केन्द्रिय सदस्यहरुलाई जिम्मेवारी प्रदान गरिएको छ । जस अन्तर्गत
कैलाश ढुंगेल: निलकन्ठ नपा र नेत्रावती डबजोङ गापा
रुपनारायण श्रेष्ठ: रुभिभ्याली, खनियाबास र गंगाजमुना गापा
बाबुराम थापा: धुनिबेशी नपा र थाक्रे गापा
बिन्दा ढुंङ्गाना: बेनिघाट रोराङ गापा र सिद्धलेक गापा
रामेश्वर राना: ज्वालामुखी गापा र त्रिपुरासुन्दरी गापा
केशव स्थापित: गजुरी गापा र गल्छी गापाको जिम्मेवारी प्रदान गरिएको छ । साथै नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्यहरु ,जिल्ला कमिटीका सदस्यहरु र पालिका कमिटीका सदस्यहरुलाई पनि वडा स्तरको जिम्मेवारी प्रदान गरिएको नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष भुमी त्रिपाठिले जानकारी दिए ।