धादिङको चालीसवासी हराएको पहिचान खोज्दै

Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन ६, २०७९

धादिङ । तामाङले मीतलाई बास र थलो दिएर राखेका गुरुङका चालीस परिवार । तिनै परिवारका नाममा गाउँको नाम रह्यो चालीस । धादिङ जिल्ला रुबीभ्याली गाउँपालिका–४ को गुरुङबस्ती जातीय, भाषिक, धार्मिक र सांस्कृतिक अध्येताका लागि नमुना गाउँ मानिन्छ ।

तामा, फलाम खोज्दै आएका गुरुङबाहेक, पुर्खाले कृषि औजारका लागि ल्याएका कामी अनि ओरापरीका लागि पाटनबाट ल्याएका दुई घरपरिवार शाक्य पनि भएकोमा अहिले शाक्यचाहिँ पुख्र्यौली थलोमै फर्किसकेका छन् ।

चौतर्फी तामाङ बस्ती र बौद्ध परम्परा । गुरुङ भन्नासाथै बौद्ध धर्म परम्परा संस्कृति, तमु क्यु (गुरुङ भाषा) अनि भाङ्ग्रा, घलेक, लुङ्गीजस्ता पोसाकका ठानिन्छ तर अहँ, त्यसो भएन । अघिल्ला पुस्ता घाटु, मारुनीजस्ता गीत र नृत्यमा त खुबै रमाए तर बिस्तारै हराउन थाल्यो त्यो पनि । अबचाहिँ पुनर्जागृत हुँदै छ चालीसगाउँ । “यहाँका गुरुङ भर्खर आफ्नो भाषा, भेष खोज्दैछन्,” रुबीभ्याली गाउँपालिका अध्यक्ष रामसिं तामाङ भन्नुहुन्छ ।

रुबीभ्यालीमा आएर बसोबास गरेका परिवारको सङ्ख्याका आधारमा गाउँका नाम बने पैँतीस, चालीस र साठी । पैँतीस अहिले छैन, साठी हो अधिक तामाङ भएको बस्ती । केही घले र कामीको बसोबास रहेको उपल्लो गाउँ सेर्तुङ । यी सबैको साझा भाषा बन्यो तामाङ । तामाङ र गुरुङ दुवै जातीय आग्रहबाट बौद्धमार्गी ठानिन्छ तर चालीसका गुरुङको न तमु भेषभाषा, न त बौद्ध धर्म संस्कृति परम्परा नै छ । खस बाहुन नरहेको यो ठाउँमा उनीहरूको मातृभाषा भने नेपाली हो । अझ छोरीबहिनीलाई सम्बोधन गर्दा खस शब्द ‘छरबैनी’ प्रयोग गर्छन् । अधिकांश परम्परा र संस्कृति हिन्दु केन्द्रित छ । तामाङ बाहुल्य समाजमा सह–अस्तित्वमा रमाउँदै आएको चालीस बस्तीमा देवदेवीस्थान बनाइएका छन् । ५२ वर्षीय धनबहादुर घलेका अनुसार यहाँ तीनकन्या मन्दिर, भवानी (बली पुज्ने थान), गणेश मन्दिर, शिव मन्दिर छन् ।

“यहाँको जन्म र मृत्यु संस्कार ठ्याक्कै हिन्दुको छ । बाहुन ज्योतिषलाई हेराएरै न्वारन, पास्नी, बिहेको लगन जुराइन्छ । मृत्यु भए अविवाहितबाहेकलाई जलाइन्छ र १३ दिनको किरिया र सेतो कपडामा बरखी बार्ने गरिन्छ । वैशाखमा पर्ने नयाँ वर्षदेखि चैते दशैँसम्मका प्रायः सबै हिन्दुपर्व (शिवरात्रिबाहेक) मनाउने गरिन्थ्यो । तीजमा महिलाहरू व्रत बसी रातो पहिरन र चुरामा सजिएर शिव मन्दिरमा मेला भर्थे,” स्थानीय बासिन्दा तथा गणेश हिमाल पर्यटन विकास समितिका पूर्वअध्यक्ष तेजबहादुर गुरुङ भन्नुहन्छ ।

गुरुङका अनुसार अब अवस्था फेरिँदै छ । धर्म परिवर्तन गराएर क्रिस्चियन बनाउनेहरूको उच्च सक्रियता रहेको यो क्षेत्रमा एकातिर क्रिस्चियन धर्मावलम्बी बढ्दै छन् । अर्कोतिर गुरुङले भाषा, भेष, धर्म संस्कारमा आफ्नो पहिचान जगेर्ना गर्न खोजिरहेका छन् । “हामीले दशैँमा कोतघरमा रोधी, मालश्री गाउने, फूलपातीमा तीनकन्यामा भाले बलि चढाउने चलन थियो तर अहिले हट्यो,” गुरुङ भन्नुहुन्छ, “हामी पुस १५ मनाउँथ्यौँ तर त्यो त हाम्रो ल्होसार रहेछ भन्ने पछि मात्र थाहा पायौँ र अहिले ल्होसार मनाउन थालेका छौँ ।”

जातीय पहिचानका लागि भाषा, भेष र संस्कृति पनि जोडिँदो रहेछ भन्ने बुझेको छ नयाँ पुस्ताले । पहिले पाठपूजामा दौरा–सुरुवाल चल्थ्यो । यो खवर आजको गोरखापत्रमा केपी गौतमले लेख्नु भएको छ ।