
एमाले : अर्थ, परराष्ट्र, रक्षा, भूमि सुधार, कृषि, स्वास्थ्य र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय
माओवादी : भौतिक पूर्वाधार, सञ्चार, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन
रास्वपा : गृह, शिक्षा र श्रम
राप्रपा : उर्जा, खानेपानी र युवा तथा खेलकुद
जनमत : उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय
काठमाडौं । सत्तारुढ दलहरुले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखसहित मन्त्रालय भागवण्डा टुंगो लगाएका छन् ।
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निरन्तर भेटवार्तापछि सोमबार साँझ बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा भागवण्डा टुंगो लगाएको हो ।
सत्ता साझेदार दलहरूले सरकारलाई समर्थन गर्ने दलहरूको सिट संख्याको अनुपातमा बाँडफाँट टुंग्याएका छन् । तर, सरकारलाई समर्थन गर्दै आएको जसपाले बाँडफाँटप्रति असहमति जनाउँदै बैठकको बीचबाटै बाहिरिएको छ ।
उच्चस्तरीय राजनीतिक संयन्त्रमा भएको समझदारीअनुसार मन्त्रिपरिषद् विस्तारलगत्तै अपराह्न ४ बजे प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीनिवास बालुवाटारमा कांग्रेस, एकीकृत समाजवादीसहित सरकारलाई विश्वासको मत दिने दलहरूको सर्वदलीय बैठक बोलाएका छन् ।
को–को बन्दै छन् मन्त्री ?
एमाले : प्रत्यक्षमा दुईपटक चुनाव जितेकालाई एमालेले मन्त्री बनाउने भएको छ । एमालेबाट पर्वतका पदम गिरी, सुनसरीकी भगवती चौधरी, झापाका एलपी साँवा, सर्लाहीका हरि उप्रेती र कपिलवस्तुका बलराम अधिकारीमध्येबाट मन्त्री बनाउने तयारी छ । त्यस्तै, दुई राज्यमन्त्रीमा रौतहटका किरण साह र पर्साका राजकुमार गुप्तामध्ये एकजना पठाइने स्रोतले जनाएको छ । एमालेबाट विष्णु पौडेल उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बनिसकेका छन् । त्यस्तै, दामोदर भण्डारी, राजेन्द्र राई र ज्वालाकुमारी साह मन्त्री बनिसकेका छन् । उनीहरूको विभाग तोक्न बाँकी छ ।
माओवादी : सुदन किराँती, रेखा शर्मा, अमनलाल मोदीलगायत चर्चामा छन् । माओवादीबाट उपप्रधानमन्त्रीसहित नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हालिसकेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी : शिशिर खनाललाई शिक्षा र डिपी अर्याललाई श्रममन्त्री बनाउने तयारी छ । तर, श्रममा विराजभक्त श्रेष्ठले पनि दाबी गर्दै आएका छन् । एक राज्यमन्त्रीमा भने डा. तोसिमा कार्की या सोविता गौतममध्येबाट बनाउने सोचमा अध्यक्ष लामिछाने छन् ।
राप्रपा : उपप्रधानमन्त्रीसहित ऊर्जा, सहरी विकास र खेलकुद मन्त्रालय पाएको छ । स्रोतका अनुसार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उपप्रधानमन्त्रीसहित नेतृत्व गर्नेछन् । प्रत्यक्ष निर्वाचितहरूलाई प्राथमिकता दिने तयारी छ । सहरी विकास मन्त्रीमा ध्रुवबहादुर प्रधान र राज्यमन्त्रीमा दीपकबहादुर सिंह पठाउने तयारी छ । खेलकुद मन्त्रालयमा धवलशमशेर राणा, दीपक बोहरा र विक्रम पाण्डेमध्येबाट बनाउने स्रोतले जनाएको छ ।
