बागमतीको मन्त्रीपरिषदद्वारा १४ वटा मन्त्रालयलाई घटाउने निर्णय

Avatar photo
Dhadingpost
पुस २६, २०७९

हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा बसेको पहिलो मन्त्रीपरिषदको बैठकले १४ वटा मन्त्रालयलाई घटाउने निर्णय गरेको छ । यसअघि एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष एवम् वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे १८ जना मन्त्री बनाएर चर्चामा थिए । यो जम्बो मन्त्री परिषद घटाउने अहिलेको मन्त्रिपरिषदको निर्णय स्वागत योग्य रहेको टिप्पणी आउन थालेको छ ।

बैठकले प्रदेश सरकारको प्रवक्ताको जिम्मा आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियालाई तोकेको छ । त्यस्तै उक्त बैठकले प्रादेशिक संरचना निर्माणका लागि संघीय सरकार समक्ष पठाइएको जग्गा प्राप्ती सम्बन्धी सिफारिसको फलोअप गर्ने निर्णय गरेको छ । उक्त विषयमा थप पहल गर्न प्रदेशको मुख्य सचिव मुकुन्दप्रसाद न्यौपानेलाई जिम्मेवारी दिइएको प्रवक्ता थपलियाले जानकारी दिए ।

बैठकले मुख्यमन्त्री जम्मकट्टेलले गरेको पहिलो निर्णयलाई अघि बढाउने निर्णय गरेको छ । बैठकले प्रदेशको १४ वटा मन्त्रालयलाई घटाउने निर्णय गरेको हो । उक्त विषयमा अध्ययनका लागि मुख्य सचिव न्यौपानेको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरिएको छ । सो कार्यदलले आगामी १५ दिन भित्र प्रतिवेदन तयार पारी पेश गर्न निर्देशन दिइएको छ । समितिको सदस्यहरुमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव तथा मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका कानुन सचिव लगायत रहने गरी तोकिएको छ । तस्वीर सौजन्यः राजन अधिकारी