मुख्यमन्त्री जम्कट्टेलले आज शपथ ग्रहण गर्दै

Avatar photo
Dhadingpost
पुस २६, २०७९

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । मुख्यमन्त्री जम्कट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने भएका हुन् ।

बागमती प्रदेश प्रमुख शर्माले सोमबार नेपालको संविधानको धारा १६८ को उपधार २ बमोजिम जम्कट्टेललाई प्रदेशसभाको बहुमतसहितको समर्थन प्राप्त भएअनुसार, प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए ।

मुख्यमन्त्री जमरकट्टेललाई सत्ता गठबन्धनको साथै नेकपा एकीकृत समाजवादी र हाम्रो पार्टी नेपालसहित ७० जना प्रदेशसभाका सदस्यहरुको हस्ताक्षरसहित आएको सिफारिसलाई प्रदेश प्रमुखले शर्माले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।नवनियुक्त मुख्यमन्त्री जम्कट्टेल गत मंसिर ४ मा सम्पन्न आम निर्वाचनबाट धादिङ प्रतिनिधिसभा क्षेत्र १ (क) बाट प्रत्यक्षतर्फ निर्वाचित भएका हुन् ।

०३० सालमा धादिङको किरणचोक गाविसमा जन्मिएका जम्कट्टेलले २०४४ मा अखिल छैठौँमा आबद्ध भएर राजनीतिक जीवनको सुरूवात गरेका थिए । २०४८ सालबाट मजदुर आन्दोलनमा सक्रिय उनी माओवादीले थालेको जनयुद्धमा सुरूदेखि नै होमिए । २०६० बाट करिब एक दशक माओवादीको मजदुर संगठनको नेतृत्व सम्हालेका जम्कट्टेल २०६३ को अन्तरिक संसद भए भने २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन एमालेका प्रभावशाली नेता राजेन्द्र पाण्डेलाई पराजित गर्दै विजयी बनेका थिए ।

२०७० को दोस्रो संविधानसभामा उनै पाण्डेसँग पराजित भएका जम्कट्टेल त्यस यता भएको दुवै प्रदेशसभामा विजयी भएका छन् । २०७४ मा भएको प्रदेशसभा निर्वाचनमा माओवादीबाट विजयी भएर संसदीय दलको नेता बनेका उनी प्रदेशको पहिलो मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारमा आन्तरिक मामलिा तथा कानून मन्त्री तथा यसअघि कांग्रेसको नेतृत्वमा रहेको पाँचदलीय गठबन्धनको राजेन्द्र पाण्डे नेतृत्वको सरकारमा पनि कानूनमन्त्री नै बनेका थिए ।